मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १३ शुक्रबार ११:०३:००
Read Time : > 2 मिनेट
नयाँCity

काठमाडौं सहर थिएन : रागिनी उपाध्याय

सहर झर्दा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १३ शुक्रबार ११:०३:००

मे रो घर तराई हो । गर्मी महिनाको स्कुल बिदामा काठमाडौं आउँथेँ । मेरो बुढोमावलीतिरका मामा डा. यज्ञनाथ शर्मा चाबहिलमा हुनुहुन्थ्यो । त्यहीँ बस्थेँ । त्यसवेला काठमाडौंका सडक किनारमा हरिया रूख थिए । घरहरू एकदम टाढा–टाढा थिए । स्कुलपछि म पढ्न इलाहाबाद र लखनउ गएँ । फाइन आर्ट पढेँ । सन् १९७९ मा मेरो पहिलो चित्रकला प्रदर्शनी नक्सालमा भयो । लैनसिंह वाङ्देलले कार्यक्रम उद्घाटन गर्नुभएको थियो । बिपी कोइराला चाबहिलबाट पैदल हिँडेर मेरो चित्रकला हेर्न आउनुभएको थियो । अहिले त्यसरी हिँड्न सम्भव छैन । गाडीको चाप, धुवाँ, धुलोले एकछिन हिँड्दा पनि सास फेर्न गाह्रो हुन्छ ।

त्यो वेला कसैको मोटरसाइकल हुँदा पनि ओहो ! भन्ने हुन्थ्यो । गाडी त ठूलो कुरा थियो । न मान्छेको चाप थियो न गाडीको । वातावरण पनि स्वच्छ थियो । वायु मात्र होइन, मानिसहरूको सम्बन्ध पनि स्वच्छ थियो । एक–अर्काको सुख–दुःख बाँड्ने, रमाइलो गर्ने हुन्थ्यो । त्यसवेला इन्टरनेट थिएन । भेटघाट हुन्थ्यो । अर्थात्, सहर थिएन ।अहिले वायुसँगै मानवीय सम्बन्ध पनि प्रदूषित हुँदै गएको छ । घर जथाभावी बने । योजनाबद्ध सहर बसेन । मौलिक घर मासिएर आधुनिक बने । 

इन्टरनेटको दुरुपयोगले मान्छेलाई धेरै बिगारेको छ । जन्मेको पाँच दिनका नानीहरू रुन थालेपछि चुप लगाउन मोबाइल दिन्छौँ । यसले पनि सम्बन्धमा प्रदूषण ल्याउन भूमिका खेल्यो । परिवारबीचमा नै स्वस्थ सम्बन्ध छैन । परिवार साथै बस्दा पनि कुरा गर्नभन्दा मोबाइल चलाउन व्यस्त हुन्छौँ । काठमाडौं सहरका रूपमा विकसित भएन । खालि बजारका रूपमा मात्रै विकसित भयो । सहरमा हुनुपर्ने के छ काठमाडौंमा ? केही छैन । नेपाल यत्ति सुन्दर छ ।

प्राकृतिक एवं सांस्कृतिक रूपमा धनी भएको देश विश्वमा अरू कमै छन् । तर, त्यसको संरक्षण गर्न हामीले जानिरहेका छैनौँ । सहर व्यवस्थित गर्न सरकारले नै योजनाबद्ध ढंगले काम गर्नुपर्छ । चित्रकलाकै कुरा गरौँ । जापानको फुकुहवा एसियन आर्ट म्युजियममा मेरो चित्र राखिएको छ । अन्य नेपाली कलाकारका चित्र पनि राखिएका छन् । तर, यहाँ भने छैन । नेपालका चित्रकारले बनाएको चित्र हेर्न जापान अथवा अमेरिका जानुपर्ने अवस्था छ । भएका बहुमूल्य कलाकृतिको संरक्षण गर्न सकेको छैन । त्यस ठाउँलाई सहर भन्नुपर्ने अवस्था छ ।

सन् १९७९ मा मेरो पहिलो चित्रकला प्रदर्शनी नक्सालमा भयो । लैनसिंह वाङ्देलले कार्यक्रम उद्घाटन गर्नुभएको थियो । बिपी कोइराला चाबहिलबाट पैदल हिँडेर मेरो चित्रकला हेर्न आउनुभएको थियो । अहिले त्यसरी हिँड्न सम्भव छैन ।

सरकारी जग्गा भाडामा दिइएको छ । व्यापारिक केन्द्रहरू बनाइँदै छन् । त्यस्ता जग्गाको उपयोग गरेर पुस्तकालय, म्युजियम, साहित्यिक म्युजियम किन बनाइँदैन ? काठमाडौंमा कम्तीमा पनि चारवटा म्युजियम हुनुपर्छ । त्यहाँ हाम्रा परम्परागत कलाकृति, मूर्ति, आधुनिक कलाकृतिहरू होऊन् जसले हामी कत्ति धनी छौँ भन्ने देखाउँछ । भक्तपुर, पाटनमा भएका खुला संग्रहालयमा कत्ति बहुमूल्य सम्पत्ति छन् । त्यो युरोपमा भएको भए सिसामा मोडेर राखिन्थ्यो । काठमाडौंमा पनि हजारौँ वर्ष पुराना सामग्री छन् । तर, खोइ त संग्रहालय ? 
छाउनीमा भएको संग्रहालयको अवस्था पनि राम्रो छैन । त्यस्तै पार्क ठाउँ–ठाउँमा हुनुपर्छ । यहाँ कहाँ छ त ? मानिलिऊँ, न्युरोडका मान्छेलाई फ्रेस हुन एकछिन बाहिर हिँड्न मन लाग्यो भने कहाँ जाने ? टुँडिखेल जानुपर्ने ? नारायणचौरमा सानो पार्क बनाइएको छ । त्यस्तो पार्क ठाउँ–ठाउँमा हुनुपर्छ । 

म सन् १९९३ मा बालकोट आएकी हुँ । यहाँ आउनुको कारण मलाई काम गर्न शान्त ठाउँ र हरियाली भएर हो । त्यसवेला यो ठाउँ एउटा चित्रकारले कोरेको चित्रभन्दा कम थिएन । तलतिर हेर्दा ठाउँ–ठाउँमा रूखहरू, मौसमअनुसारको खेती । तोरी, धान, मकै लहलह हुन्थ्यो । एकदम रमाइलो लाग्थ्यो । अब अहिले हेर्नुस् घरैघर छन् । रूखहरू नासिए । त्यसवेला गाउँ थियो । अहिले स्मार्ट सिटी भइसकेको छ । तर, नेताको भाषणको स्मार्ट सिटीजस्तो । स्मार्ट सिटी भनिएको छ, बाहिर निस्क्यो भने धुलोले पुरेर फुस्रै बनाउँछ । धारामा पानी नआएको डेढ महिना भयो । पैसा भने मासिक तिर्नैपर्छ । 

पर्यटक आकर्षण गर्न काठमाडौंमा के छ ? यहाँको राजनीति, नेताको लडाइँ हेर्न त कोही पनि विदेशी आउँदैनन् । उनीहरू नेपालको सुन्दरता हेर्न आउँछन् । मैले धेरैजना पर्यटक भेटे जो काठमाडौं बस्नै चाहँदैनन् । हिमाल हेर्न आएका हुन्छन्, त्यतै लागिहाल्छन् । काठमाडौंको तुलनामा भक्तपुर धेरै व्यवस्थित छ । त्यसपछि ललितपुर पनि केही मात्रामा व्यवस्थित छ । काठमाडौंको अस्तव्यस्तता नियाल्न कहीँ जानैपर्दैन । काठमाडौंको नाकैमा रहेको तीनकुनेको जग्गा हेरे पुग्छ ।

सहर कस्तो हुन्छ भन्ने उदाहरणका लागि युरोप जानै पर्दैन । पाकिस्तानको इस्लामाबाद हेरे पुग्छ । त्यो यस्तो राम्रो सहरका रूपमा निर्माण गरिएको छ कि ठाउँ–ठाउँमा पार्क, म्युजियम, पुस्तकालय, अस्पताल, विद्यालयहरू बनाइएका छन् । सहर कसरी बनाउने भनेर थाहा छैन भने सल्लाहकार मलाई राख्नुस् भन्छु । एउटा कलाकारलाई सहर निर्माणको सल्लाहकार राख्नुभयो भने उत्तम हुन्छ । अहिले वर्तमान काठमाडौंको चित्र उतार्ने र पर्यटकलाई देखाउने हो भने यहाँको अस्तव्यस्तता देखेर पर्यटक सीधै भाग्छ ।