मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असार ११ बुधबार ११:४२:००
Read Time : > 2 मिनेट
प्रदेश

स्थानीय तहको प्राथमिकतामा कृषि र भौतिक पूर्वाधार

Read Time : > 2 मिनेट
२०७६ असार ११ बुधबार ११:४२:००

प्रदेश १ का अधिकांश स्थानीय तहले कृषि, भौतिक पूर्वाधार, शिक्षा र पर्यटनलाई विशेष प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष ०७६/०७७ को  बजेट सार्वजनिक गरेका छन् । यसअघि असार १० गतेभित्र नीति/कार्यक्रम तथा बजेट पारित गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई निर्देशन दिएको थियो ।

धरानको प्राथमिकतामा गौरवका आयोजना
धरान उपमहानगरपालिकाले मंगलबार एक अर्ब ७७ करोड ९१ लाख रुपैयाँबराबरको बजेट पारित गरेको छ । कार्यवहाक मेयर मञ्जु भण्डारीले प्रस्तुत गरेको बजेटमा सबैभन्दा बढी नगरका गौरव आयोजनालाई १५ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै, शिक्षामा सबैभन्दा बढी दुई करोड बजेट छुट्याइएको छ । नगरपालिकाले खेलकुदमा एक करोड ७० लाख, पर्यटनमा एक करोड, स्वास्थ्यमा एक करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै, ‘एक वडा, एक पार्क’ योजनाका लागि एक करोड बजेट विनियोजन भएको छ । इटहरी नगरपालिकाले एक अर्ब ८५ करोड ५० लाखको बजेट प्रस्तुत गरेको छ । उपमेयर लक्ष्मी गौतमले मंगलबार पाँचौँ नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, उद्योग व्यापार, पर्यटन, खेलुकद र सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ । चालू आर्थिक वर्षमा सात सय योजना सडक निर्माण भएकामा आगामी आर्थिक वर्षमा समेत वडास्तरीय र नगरस्तरीय सडक निर्माणमा जोड दिइएको छ ।

त्यसैगरी, बराह नगरपालिकाले पनि गौरवका विभिन्न १३ वटा आयोजना समेटेर ७७ करोड ६२ लाख ६ हजारको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख निलम खनालले चौथो नगरसभामा आर्थिक वर्ष ०७६/७७ को बजेट, नीति तथा कार्यक्रमको विवरण सार्वजनिक गरेका थिए ।

फिदिममा कृषि र उद्योगलाई प्राथमिकता
पाँचथरका आठमध्ये सातवटा स्थानीय तहले मंगलबार बजेट सार्वजनिक गरेका छन् । फिदिम नगरपाकिालले सोमबारै बजेट सार्वजनिक गरेको थियो । आठवटै स्थानीय तहको बजेट जोड्दा कुल २ अर्ब ९४ करोड ११ लाख रुपैयाँ हुन आउँछ । सर्वाधिक बजेट फिदिम नगरपालिकाको छ । उसले ६३ करोड आठ लाख ६६ हजारबराबरको बजेट सार्वजनिक गरेको छ । जिल्लाका स्थानीय तहले कृषि, उद्योग, ऊर्जा, पर्यटन, व्यापार र पूर्वाधारलाई प्राथमिकतामा राखेका छन् ।

फुङलिङकोे प्राथमिकता भौतिक पूर्वाधार 
दुर्गम हिमाली जिल्ला ताप्लेजुङस्थित फुङ्लिङ नगरपालिकाले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेको छ । नगरपालिकाको छैटौँ नगरसभा बैठकले मंगलबार ५३ करोडभन्दा ५० लाखको हाराहारीमा बजेट पारित गरेको हो । त्यसमध्ये १२ करोड २१ लाख रुपैयाँ भौतिक पूर्वाधारमा खर्च गरिने उपमेयर बमबहादुर भट्टराईले बताए । त्यस्तै, नगरपालिकामा रहेका ४९ वटा विद्यालयमा अनिवार्य मातृभाषाको पढाइ गराउन विशेष कार्यक्रम सुरु गरिने उनले जानकारी दिए ।

शिक्षा र सुशासनलाई प्राथमिकता
धनकुटाको छथर जोरपाटी गाउँपालिकाले ३२ करोड ८७ लाख २४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले पूर्वाधार विकास, शिक्षा र सुशासनलाई प्राथमिकतामा राखेको छ ।

इलाम नगरपालिकाले दुई लाखसम्म ऋण दिने
इलाम नगरपालिकाले व्यवसायीलाई दुई लाख रुपैयाँसम्म ऋण दिने योजना सार्वजनिक गरेको छ । पाँचौं नगरसभा बैठकमा नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै उपप्रमुख सुशिला नेम्वाङले यसको जानकारी दिइन् । 

गरिबी निवारण सामाजिक परिचालन कोषबाट सात प्रतिशत ब्याजमा ऋण दिइने आर्थिक विधेयकमा उल्लेख छ । समूहगत धितोमा व्यवसायीले एक लाख रुपैयाँसम्म ऋण पाउनेछन् । ऋण लिने व्यवसायी नगरपालिकाभित्रको सेयर सदस्य भए या उद्योग वाणिज्य संघको सदस्य भएमा सम्बन्धित संस्थाको सिफारिस र जमानतमा थप एक लाख रुपैयाँ थपेर दुई लाखसम्म ऋण पाउने व्यवस्था गरिएको छ । ऋण लिने व्यवासायी वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गरेको भए एक वर्षको ब्याजमा एक प्रतिशत छुट हुनेछ । 

नगरपालिकाको पाँचौं नगरसभाले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ८६ करोड ८२ लाख २२ हजार रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरेको छ । चालू आवको भन्दा सात करोड दुई लाख २२ हजार रुपैयाँ बढी रकमको बजेट ल्याएको हो । दुवै विधेयक छलफलपछि पारित भएको हो । कुल बजेटको ५५ करोड २९ लाख ४८ हजार रुपैयाँ चालूतर्फ, ३१ करोड १६ लाख ७४ हजार रुपैयाँ पुजीगततर्फ विनियोजन गरेको छ । ३६ लाख रुपैयाँ वित्तीय व्यवस्थापनका लागि विनियोजन गरिएको छ । 

नगरपालिकाले इलाम नगरक्षेत्रभित्र बिक्री तथा वितरण हुने मदिराजन्य पेयपदार्थ र पिउने पानीको खाली बोतलमा एक रुपैयाँका दरले शुुल्क लाग्ने भएको छ । खाली बोतलमा एक रुपैयाँ सरसफाइ शुल्क लाग्ने नयाँ व्यवस्था गरिएको हो । त्यस्तै, प्लास्टिक ग्लासको प्रयोग गर्नेमाथि पाँच सय रुपैयाँ जरिवाना निर्णय नगरसभाले गरेको छ । नगरपालिकाले०७५ साउन एक गतेबाट प्लास्टिक ग्लासको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

बजेट पारित नगरी नगरसभा स्थगित 
मंगलबार बसेको मोरङको सुन्दरहरैँचा नगरपालिकाको नगरसभा बैठकमा उपमेयर धनमाया तामाङले एक अर्ब आठ करोड ७७ लाख ८० हजार अनुमानित बजेट पेस गरिन् । तर, नगरप्रमुख र अन्य जनप्रतिनिधिबीचको विवादका कारण मंगलबार बजेट पारित हुन सकेन । नेकपाबाट जितेका जनप्रतिनिधिहरूले लागत घटाउनुपर्ने भन्दै नगरसभा बहिस्कार गरे ।

नगरपालिकामा मेयर शिवप्रसाद ढकाल कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपमेयसहित बहुमत जनप्रतिनिधि नेकपाका छन् । मंगलबारै बेलबारी नगरपालिकाले झन्डै एक अर्ब ९२ को बजेट सार्वजनिक गरेको छ । नगरसभाले दमकल र शववहान खरिद गर्दै निःशुल्क रूपमा सञ्चालनमा ल्याउने मेयर ज्ञानेन्द्र सुवेदीले बताए । त्यस्तै, उन्नत बोयर जातका बाख्रा पालनका लागि नगरपालिकाले विशेष योजना ल्याएको छ । उर्लाबारी नगरपालिकाले ५६ करोड ८० लाख ३८ हजार बजेट विनियोजन गरेको छ । त्यस्तै, मिक्लाजुङ गाउँपालिकाले ३९ करोड बढीको बजेट पारित गरेको छ ।