मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुदीप शिवाकोटी हेटौंडा
२०७६ असार ११ बुधबार ०८:४६:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेश ३ को संसद् अवरुद्ध

बजेट वितरणमुखी भएको कांग्रेसको आरोप

Read Time : < 1 मिनेट
सुदीप शिवाकोटी हेटौंडा
२०७६ असार ११ बुधबार ०८:४६:००

प्रमुख प्रतिपक्ष दल कांग्रेसले प्रदेश ३ को प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । प्रदेश ३ सरकारले ल्याएको आर्थिक वर्ष ०७६/०७७ को बजेट वितरणमुखी भएको आरोप लगाउँदै कांग्रेसले मंगलबारको बैठक अवरुद्ध गरेको हो । बैठक प्रारम्भ हुनासाथ कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सभामुखसँग समय लिएर बोल्दै बजेट मुख्यमन्त्री र मन्त्रीका क्षेत्रमा मात्रै छुट्याइएको आरोप लगाए ।

उनले रसुवा र सिन्धुपाल्चोकजस्ता विकट जिल्लालाई पर्याप्त बजेट नछुट्याएर स्वार्थका आधारमा बजेट वितरण गरिएकोे दाबी गरे । उनले धारणा राखिसकेपछि कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए । नेता बानियाँले बजेट दुरुपयोग हुने दाबी गरे । प्रदेश नीति तथा योजना आयोगमार्फत छनोट भएका योजनामा बजेट नपारिएको, प्रदेश सरकारले ३० लाखभन्दा कमको योजना नबनाउने नीति नगरिएको उनको भनाइ थियो

‘बजेटमा प्रदेशका १३ जिल्लामध्ये चार जिल्लालाई मात्रै प्राथमिकतामा राखिएको छ,’ बानियाँले भने, ‘बटेज मन्त्रीमुखी भयो । रसुवा र सिन्धुपाल्चोकलाई कृषिमा बजेट शून्य पारिएको छ ।’ उनले राजधानीको विषय बजेटअघि नै टुंगो लगाउने विषय दुई तिहाइको सरकारले किन बेवास्ता गरेको भन्दै प्रश्न गरे । 

कांग्रेस सांसदलाई पटक–पटक बस्न आग्रह गर्दासमेत नमानेपछि सभामुख सानुकुमार श्रेष्ठले आधा घन्टाका लागि बैठक स्थगित गरेका गरेका थिए । प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथि छलफलको कार्यसूची थियो । प्रदेश ३ सरकारले असार १ गते ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट प्रदेश सभामा पेस गरेको थियो ।