१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असार १० मंगलबार १०:४१:००
Read Time : < 1 मिनेट
खेलकुद

सागको तयारी तथा समीक्षा : विष्टको कार्यकाल समाप्त

Read Time : < 1 मिनेट
२०७६ असार १० मंगलबार १०:४१:००

अन्तर्राष्ट्रिय खेलकुद परिसरभित्र निर्मित अडिटोरियम हलको सोमबार उद्घाटन भएको छ । उद्घाटनपछि नवनिर्मित हलमा आसन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)को तयारी सम्बन्धमा छलफल भएको थियो । यसैगरी, वैशाखमा नेपालगन्जमा भएको आठौँ राष्ट्रिय खेलकुदको समीक्षात्मक छलफल कार्यक्रमसमेत आयोजना गरिएको थियो । खेलकुदमन्त्री जगतबहादुर सुनारले आठौँ राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको बताए । मन्त्री सुनारले खेलकुदका ठूला पूर्वाधार बनाउन सरकार केन्द्रित रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले नेपालगन्जमा भएको बृहत् खेलकुदले खेलाडीमा ऊर्जा थपेको बताए । उनले विवादित नेपाल तेक्वान्दो संघको विवाद छिटै समाधान हुने बताए । परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले समग्रमा आठौँ राष्ट्रिय खेलकुदले पूर्वाधार निर्माणमा छलाङ मारेको बताए । विष्टले सागलाई अर्जुनदृष्टि बनाएर सम्बन्धित सबै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले सागलाई प्रभावित गर्न खोज्नु देश र खेलकुदप्रति गद्दारी हुने धारणा व्यक्त गर्दै आफूले तर्किने गरी हिँड्नुपर्ने कुनै काम नगरेको बताए । साग सचिवालयका प्रमुख कमल खनालले हालसम्मका तयारीका विषयमा जानकारी गराएका थिए ।

विष्टको कार्यकाल समाप्त
परिषद्का १७औँ सदस्य–सचिव केशवकुमार विष्टको कार्यकाल सोमबार समाप्त भएको छ । तत्कालीन खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले ९ असार ०७२ मा विष्टलाई सदस्य–सचिवमा नियुक्त गरेका थिए । विष्टले १० असारमा कार्यभार सम्हालेका थिए । आफ्नो चार वर्षको कार्यकालमा विष्ट लगातार दुईवटा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सफल भए । उनको समयमा भौतिक पूर्वाधार निर्माण कार्यले तीव्रता पाएको थियो । समीक्षा कार्यक्रममा विष्टले आफ्नो कार्यकाल स्वर्णिम भएको दाबी गरेका छन् ।