मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार ११:१८:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

महानगर सुधारका १० प्राथमिकता

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार ११:१८:००

काठमाडौं महानगरपालिका महानगर मात्र नभएर देशको राजधानी सहर पनि हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा यसलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । यस्ता विविध कारणले मानिस काठमाडौंमा आएर बसिरहेका छन् । काठमाडौंमा जनघनत्व गुणात्मक रूपमा वृद्धि भइरहेको छ । यसलाई थेग्न नसक्ने अवस्थासमेत देखिएको छ । यसका कारण छन् । जस्तो कि मानिसले प्राप्त गर्ने अवसर एक हो । सुविधा र सेवा प्रशस्त छन् । आवतजावतको केन्द्र पनि हो । फेरि सबै प्रकारका विषय पहिला राजधानी र त्यसपछि अन्य ठाउँमा जाने रहेछन् । तर, काठमाडौंबाट जस्तो अपेक्षा लिएर मानिस बसिररहेका छन् । त्यस्तो अपेक्षा पूरा भइरहेका छैनन् । यसका विभिन्न चुनौती रहेका छन् । समयमै व्यवस्थित बनाउन नसक्दा पनि समस्या धेरै थपिएका छन् । यसले अव्यवस्थित बनाएको छ । तर, यसलाई सुधार्न जरुरी छ । काठमाडौं महानगरपालिकाले चुनौतीलाई समाधान गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।

१) नीतिगत सुधार : हामीसँग नीति र कानुनहरू छन् । तर, ती कार्यान्वयन गर्नका लागि सुधार गर्न आवश्यक छ । परम्परागत नीति–नियमले अहिलेको समस्या समाधान गर्न गाह्रो हुन्छ । स्मार्ट प्रविधिलाई कार्यान्वयन गर्ने विषयलाई पनि हाम्रो ऐन–नियममा हालिनुपर्छ । त्यसका लागि त सुधार अनिवार्य गरिनुपर्छ । नीतिगत रूपमा कसरी अघि बढ्ने भन्ने विषय स्पष्ट भएपछि उक्त दृष्टिकोणमा आधारित रहेर अघि बढ्न सकिन्छ । कानुनमा भएका कमजोरीलाई सुधार गरिनुपर्छ । यसले मात्र सुशासन हासिल गर्न सहज हुनेछ । 

२) संरचनागत सुधार : हामीसँग भद्दा र ठूला संरचना छ । यहाँ काम गर्ने कर्मचारी संरचना र दरबन्दी हेर्ने हो भने कहालीलाग्दो अवस्था छ । झन्डै १५ वटा विभाग छन् । त्यत्रो संख्याको संरचना आवश्यक हो कि होइन, मूल्यांकन गरेर सुधार गर्न आवश्यक छ । कर्मचारी संख्या २५ सय हाराहारी छ । जब कि संसारमा काठमाडौंभन्दा ठूला नगरपालिकामा पनि कर्मचारी संख्या कम छ । हामीले स्वच्छ, पारदर्शी र सहज रूपमा काम गरिरहेका छैनौँ । नियन्त्रणको संयन्त्र कडा गर्न सकिरहेका छैनौँ । विदेशमा सानो, तर चुस्त प्रशासनले मात्र प्रभावकारी डेलिभरी दिएको देखिन्छ ।

३) पुनर्निर्माण र पूर्वाधार निर्माण : पुनर्निर्माण र पूर्वाधार निर्माण गर्नका लागि महानगरसँग बजेट र जनशक्ति पर्याप्त छ । तर, कार्यान्वयन भइरहेको छैन । विनियोजित बजेटको अत्यन्त सानो अंश मात्र खर्च भएको छ । अहिलेसम्म विकास बजेटको ३ प्रतिशतको हाराहारीमा मात्र खर्च भएको छ । चार महिनामा ३ प्रतिशतभन्दा बढी खर्च हुन नसक्नुको कारण खोज्नुपर्ने भएको छ । यसका विभिन्न कारण छन् । विभिन्न जटिलताको कारण काम भइरहेको छैन । त्यसकै कारण विकास बजेट कम खर्च भइरहेको छ । अन्तरनिकाय समन्वयको अभाव छ । यसले गर्दा काम दु्रततर गतिमा हुन सकेको छैन । अन्तरनिकाय समन्वयलाई वृद्धि गर्नुपर्नेछ । 

४) विकास बजेट र खर्च : ठुल्ठूला पूर्वाधार निर्माण गर्नुपर्नेछ । तर, निर्माणको गति सुस्त छ । यो गतिलाई वृद्धि गर्नुपर्नेछ । ठूला पूर्वाधारमा काम हुन सके बजेटको खर्च पनि सहज हुनेछ । हाम्रो बजेट कम खर्च भइरहेको छ । यसको मतलब हामीले पूर्वाधार निर्माण गर्न सकिरहेका छैनौँ । यसमा सुधार आवश्यक छ । यसको साथै भूकम्पबाट भत्किएका सम्पदालाई पुनर्निर्माण, संरक्षण र सुधार गर्नुपर्ने हुन्छ । त्यसमा पनि ढिलाइ भइरहेको छ । खरिद प्रक्रियामा लामो समय लागिरहेको छ । हामीले संस्कारको निर्माण गरिरहेका छैनौँ । आर्थिक, राजनीतिक र अन्य कारण समस्या देखिने गरेका छन् । यसलाई हामी सबै उत्तरदायी भयौँ भने मात्र लक्ष्य हासिल गर्न सक्नेछौँ । विकासमा सत्ता वा प्रतिपक्ष नभई अघि बढेमा सबैको लक्ष्य र आशा पूरा हुन्छ । 

५)  दक्ष जनशक्ति : ठूला र महत्वपूर्ण सम्पदा निर्माण गर्नुपर्ने जिम्मेवारी छ । तर, समस्यमा पनि उत्तिकै छन् । पहिलो विषय त त्यस्ता सम्पदा निर्माणका लागि दक्ष जनशक्ति पर्याप्त छैन । दोस्रो विषय भनेको त्यस्ता सम्पदा निर्माण गर्न खोज्दा अनेकन अवरोध र विरोध आउने गरेका छन् । काम सुरु भइहालेमा पनि कामलाई बिथोल्ने वा अवरोध सिर्जना गरेर काममा प्रगति हुन नदिने वातावरण निर्माण गर्ने गरिएको छ । यसमा पनि सुधार गर्न आवश्यक छ । यस्तो प्रवृत्तिको अन्त्य गरिन आवश्यक छ । नागरिकले लागत बढ्यो घट्यो, कति बढी लाग्यो, काम गुणस्तर भयो–भएनजस्ता विषयमा प्रश्न गर्ने र गर्न लगाउने र गर्नेलाई उत्तरदायी बनाउने क्षमता छ । त्यसमा उनीहरूको क्रियाशीलता देखाउनुपर्छ । 

६) वातावरणीय प्रदूषण नियन्त्रण : 
यो महानगरपालिकाका लागि जटिल, तर महत्वपूर्ण कामका रूपमा रहेको छ । धुलो नियन्त्रण, हरियाली राख्ने विषय, सडकको दायाँबायाँ सौन्दर्यकरण गर्ने विषय, आइल्यान्ड बनाउने विषयलगायत छन् । तर, अहिले धुवाँधुलो व्याप्त छ । नियन्त्रणको प्रयास भइरहेको छ । तर, महानगरको मात्र एक्लो प्रयासले यो सब समाधान हुने देखिँदैन । प्रदूषणका कतिपय स्रोत र कारण महानगरको नियन्त्रणभन्दा बाहिरसमेत रहेको छ । कतिपय अवस्थामा त्यसलाई नियन्त्रण गर्ने स्रोत र साधनको पनि अभाव छ । हामीले स्रोतमा नियन्त्रण गर्ने संयन्त्र विकास गर्नुपर्छ । यसका लागि धेरै पक्ष र निकायबीच समन्वयमा काम गरिनुपर्छ । सबै निकायले आ–आफ्नो काम गर्ने हो भने समस्या समाधान हुनेछ । 

७) फोहोरमैला व्यवस्थापन : फोहोरमैला व्यवस्थापन महानगरका लागि टाउको दुखाइको विषय बन्ने गरिरहेको छ । यसका महानगरसँग जनशक्ति पनि छ । तर, यसको विसर्जनको विषयले सधैँ समस्या हुने गरेको छ । सिसडोलमा फोहोर विसर्जन गर्ने क्रममा विभिन्न समयमा विविध माग राखेर त्यसलाई अवरोध हुने काम भइरहेको छ । कहिले राजनीतिप्रेरित अवरोध हुने गरेको छ भने कहिले अवरोधका लागि अवरोध गर्ने काम पनि हुन्छ । यसले गर्दा महानगरले सधैँ सम्झौता गर्नुपरिरहेको छ । टालटुले सम्झौताले स्थायी समाधान दिइरहेको छैन । अहिले पनि काठमाडौं महानगरपालिकाको ७५ प्रतिशत समस्या भनेको फोहोरमैला हो । यसका लागि आठ सयजना कर्मचारी र २ सय ड्राइभर रहेका छन् । अहिले बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको छ । यसले सहयोग पु¥याउनेछ । 

८) सडक बत्ती : काठमाडौं महानगर क्षेत्रको सडकमा सडक बत्ती राख्ने र उज्यालो बनाउने उद्देश्यले कार्यक्रम नै ल्याएका छौँ । त्यसको योजना निर्माण र तयारीको काम भइरहेको छ । यस वर्षको अन्तिमसम्ममा यो काम धेरै ठाउँमा थालनी भइसकेको हुनेछ । सौर्य ऊर्जालाई भन्दा जलविद्युत् ग्रिडको प्रयोग गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग पनि धेरैपटक छलफल भइसकेको छ । 

९) मनोरेलदेखि केबलकार : काठमाडौं महानगरपालिका धेरै विषयमा महत्वपूर्ण छ । यो ऐतिहासिक, धार्मिक, सम्पदा र अन्य विषयले पनि महत्व राख्छन् । यसका लागि नयाँ कार्यक्रम ल्याउने क्रम थालिएको छ । मनोरेल निर्माणका लागि आवश्यक पूर्वतयारीका काम भइरहेका छन् । केवलकारको विषय उठेको छ । आर्थिक, वातावरणीय रूपमा पनि सम्भव हुन सक्ने योजनालाई अघि बढाउने नीति लिएका छौँ । बस्ती विकास गर्ने कार्यक्रम छ । यसले धेरै वर्षदेखिको सपनालाई विपना बनाउन सहयोग पुग्नेछ । 

१०) अन्तर्राष्ट्रिय भगिनी सम्बन्ध : 
महानगरको भगिनीसम्बन्धी अन्य देशका महानगरसँग हुनु महत्वपूर्ण हुन्छ । यसले असल सिकाइ विस्तार गर्न सहयोग पुर्‍याउँछ । अहिलेसम्म झन्डै दर्जन सहरसँग भगिनी सम्बन्ध कायम गरेका र गरिरहेका छौँ । यसले संस्कृति आदानप्रदान गर्न, विकासका लागि सहयोग पुर्‍याउन सकिन्छ । त्यस्तै, कर्मचारी, विद्यार्थी वा जनप्रतिनिधिबीच आदानप्रदान गर्ने कार्यक्रमले सिकाइमा गुणात्मक सहयोग पुर्‍याउँछ ।