मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार १० मंगलबार ०७:२१:००
Read Time : > 1 मिनेट
अर्थ

चार दिनदेखि रोकिएका तरकारी बोकेका गाडी भित्रिए

Read Time : > 1 मिनेट
२०७६ असार १० मंगलबार ०७:२१:००

नेपाल–भारत बेलहिया नाकामा रोकिएका तरकारी बोकेका १० वटा गाडी सोमबार नेपाल भित्रिएका छन् । नेपाल सरकारले गत २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी विषादी अवशेष प्रशिक्षणपछि मात्र भारतीय तरकारी तथा फलफूल आयात गर्न सकिने व्यवस्था गरेपछि चार दिनदेखि बेलहिया भन्सारमा गाडी रोकिएका थिए । सोमबार १० वटा गाडी भित्रिएसँगै हरियो तरकारी र फलफूल लोड गरिएका थप ३२ गाडी प्रक्रियामा छन् ।

सरकारले विषादी अवशेष परीक्षण अनिवार्य गरे पनि बेलहिया भन्सार कार्यालयमा परीक्षण गर्ने उपकरण नभएपछि रोकिएको हो । रोकिएकामध्ये १० वटा गाडीले पठाएको तरकारीको नमुना नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभाग केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ कालीमाटी काठमाडौंमा गरिएको थियो । इकाइले उपभोगका लागि योग्य भनेर पत्र पठाएपछि मात्र गाडी छाडिएकोे भन्सार कार्यालयका अधिकृत कालिराम पौडेलले जानकारी दिए ।

केन्द्रीय कृषि प्रयोगशालाले भारतबाट आयातीय तरकारी तथा फलफूलमा विषादी अवशेषको प्रतिशत हेर्छ । जसमा ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भए उपभोगयोग्य भनेर छाड्ने, ३५ देखि ४५ प्रतिशतसम्म विषादी अवशेष भए केही दिन राख्ने र ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष भए नष्ट गर्ने गरेको छ । नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र क्वारेन्टाइन कार्यालय भैरहवाका बाली संरक्षक अधिकृत बृजकिशोर उपाध्यायका अनुसार अहिले भैरहवा कार्यालयले तरकारी तथा फलफूलमा हुने कीरा तथा रोग हेर्ने, तर विषादी अवशेष हेर्नका लागि प्राविधिक र उपकरण नभएकाले परीक्षणका लागि केन्द्रमै पठाउने गरेको छ ।

नाकामा अहिले नेपाल भित्रन तयार ३२ वटा गाडी छन् भने थपिने क्रम जारी रहेको छ । रुपन्देहीको बुटवलस्थित फलफूल तथा तरकारी बजारमा उपकरण छन् । तर, त्यहाँ प्राविधिक जनशक्ति अभावमा परीक्षण हुन सकेको छैन । सिद्धार्थनगर उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद अचार्यले सरकारको विषादी अवशेष परीक्षण गरेर मात्र भारतीय तरकारी तथा फलफूल नेपाल भित्रन दिने निर्णय राम्रो भए पनि अझ तयारीका साथ उपकरण र प्राविधिक देशका हरेक भन्सार कार्यालयमा विस्तार गरेर गरेको भए प्रभावकारी हुने बताए ।