Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सेन लु काठमाडाैं
२०७६ असार १० मंगलबार ०८:०६:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

के चिनियाँ विद्यार्थी जासुसी गर्छन् ?

Read Time : > 3 मिनेट
सेन लु काठमाडाैं
२०७६ असार १० मंगलबार ०८:०६:००

सन् २०१२ फेब्रुअरीमा म युनिभर्सिटी अफ आएवामा स्नातक तहको विद्यार्थी हुदाँ तत्कालीन चिनियाँ उपराष्ट्रपति सी जिनपिङ मुस्क्याटिन भ्रमणमा आएका थिए । सी सन् १९८५ मा अनुसन्धान भ्रमणको क्रममा छोटो समय मुस्क्याटिनमा बसेकाले अमेरिकाको औपचारिक भ्रमणको अवसरमा उक्त स्थानमा फर्किएका थिए । मुस्क्याटिन आएवा सहरबाट गाडीमा एक घन्टामा पुगिन्छ । मेरो विश्वविद्यालयमा रहेको ‘चाइनिज स्टुडेन्ट एन्ड स्कलर्स एसोसियसन (सिएसएसए)’ले केही दर्जन चिनियाँ विद्यार्थीलाई सीको स्वागतका लागि आमन्त्रण गरेको थियो । म त सहभागी हुन गइनँ, तर मेरी साथी भिभियन भने उत्साहका साथ गएकी थिइन् । उनी उच्चपदस्थ चिनियाँ अधिकारीलाई भेट्ने सोचमा मात्र होइन, हाम्रो कलेज सहरभन्दा बाहिर केही घन्टा बिताउने कुरामा पनि उत्तिकै उत्साहित थिइन् । 

तर, यथार्थ भने भिभियनले सोचेजस्तो उत्साहप्रद भएन ।  भिभियन घन्टौँ चिसो शीतलहरीमा चीनको झन्डा हल्लाएर उभिनुप-यो । तर, उनले सी जिनपिङलाई भेट्ने अवसर पाइनन् । उनको सीसँगको प्रत्यक्ष सम्पर्क भनेको सी चढेको कारलाई झुलुक्क देख्नुमै सीमित रह्यो । भिभियन उनको सयरका लागि पैसा पनि आउँछ भन्ने कुरामा अनभिज्ञ थिइन् । हप्तौँपछि उनलाई अर्को साथीले उनको समय र प्रयासका लागि एसोसिएसनबाट ५० अमेरिकी डलर लियौ ? भनेर सोध्दा मात्र उनले सो कुरा थाहा पाएकी थिइन् । तर, त्यो वेलासम्म पैसा लिने समय सकिइसकेको थियो । मैले यो कुरा र्बिसिसकेको रहेछु । भिभियन सहभागी भएजस्तै कार्यक्रमलाई नकारात्मक रूपमा व्याख्या गरिएका समाचार र अमेरिकी सरकारको रिपोर्ट बाहिरिएपछि मेरो यसतर्फ ध्यान जान थाल्यो । तिनले यिनलाई चिनियाँ सरकारको विदेशी भूभागमा ‘सशुल्क राजनीतिक परिचालन’को हिस्सा भनेका छन् । प्राविधिक रूपमा यो गलत छैन । तर, यस्तो भाषाले व्यक्त गर्ने भाव र चिनियाँ विद्यार्थीको निकायको यथार्थ एकदमै फरक छ । 

पछिल्लो दुई वर्षमा पश्चिमी देशमा पढ्न आएका चिनियाँ विद्यार्थी र विशेष सिएसएसए जोखिमपूर्ण नयाँ कथ्यको केन्द्र बनेका छन् । अघिल्लो फेब्रुअरीमा एफबिआई निर्देशक क्रिस्टोफर ह्रेले अमेरिकामा रहेको चिनियाँ विद्यार्थी जासुसीमा सहभागी भएको हुन सक्ने भन्दै चेतावनी दिए । अघिल्लो वर्षको अक्टोबरमा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले दिएको भाषणमा पनि सिएसएसएमाथि प्रहार गरेका थिए । उनले ती संगठनले ‘चिनियाँ विद्यार्थी र अमेरिकी स्कुल कम्युनिस्ट पार्टीको लाइनबाट प्रभावबाट अवस्थामा चिनियाँ वाणिज्यदूतावास र राजदूताबासलाई खबर गर्ने’ बताए ।

हामीलाई बताइएअनुसार सिएसएसए सर्वसत्तावादी समाजको खतरनाक औजार हो । म चिनियाँ हुँ र सन् २०१७ सम्म म तीनवटा चिनियाँ विश्वविद्यालयको विद्यार्थी रहेँ । म कहिल्यै  पनि कुनै सिएसएसएमा आबद्ध भइनँ । तर, सन् २०१३ देखि म अमेरिकी विश्वविद्यालयमा पढ्ने चिनियाँ विद्यार्थीबारे लेखिरहेको छु । यी संगठनको छवि अमेरिकी प्राज्ञिक संस्थामा चिनियाँ राज्यको गलत मनसाय पूरा गर्ने खालको बनेको छ । तर, चिनियाँ विद्यार्थी आफैँले संस्थाबारे प्रत्यक्ष जे अनुभव गरिरहेका हुन्छन्, त्यो आरोपभन्दा एकदमै फरक छ ।

यसको मतलब सिएसएसए निर्दोष अथवा स्वतन्त्र हुन्छन् भन्ने होइन । केहीले चिनियाँ विद्यार्थीलाई चीनसँग जोडिएका विवादित विषयमा बोल्ने कार्यक्रमविरुद्ध भूमिका खेलेको देखिन्छ । यसमा मुख्यतः तिब्बती स्वतन्त्रता र चीनमा मानव अधिकार उल्लंघनका विषय पर्छन् । तर, अमेरिका चिनियाँ विद्यार्थी संगठनप्रति बढ्दो रूपमा सचेत हुँदा, यी समूहले खासमा के गर्छन् भन्ने तस्बिर प्रस्तुत गर्नु उपयुक्त हुन्छ । 

अमेरिकी क्याम्पसमा लगभग एक सय ५० वटा सिएसएसए छन् । यीमध्ये पहिलो चिनियाँ विद्यार्थीको प्रारम्भिक लहरको वेला आपसी सहयोग संगठनको रूपमा स्थापना भएको थियो । त्यो सांस्कृतिक क्रान्तिपछिको समयको कुरा हो । तर, तिनमा सन् २००८ भन्दा अघि त्यति धेरै ध्यान दिइएको थिएन । त्यो वर्ष अमेरिकामा स्नातक पढ्ने चिनियाँ विद्यार्थीमा उल्लेख्य वृद्धि भयो । ठूलो संख्यामा चिनियाँ विद्यार्थीको आगमनको लागि अमेरिकी विश्वविद्यालय तयार थिएनन् । त्यसपछि सिएसएसएले सेवा गर्ने समूहको रूपमा काम गर्न सुरु ग-यो । उनीहरू नयाँ आउने विद्यार्थीलाई लिन विमानस्थल पुग्थे । त्यस अतिरिक्त सहरमा रहेका सबैभन्दा राम्रा चिनियाँ रेस्टुराँ जान पनि सिफारिस पनि गर्थे । 

कुनै केन्द्रीकृत संगठनभन्दा पनि सिएसएसए फेरिरहने सहभागीको समुह हो । प्रत्येक च्याप्टरले वार्षिक रूपमा नेतृत्व परिवर्तन गर्ने गर्छ । केही विद्यार्थी आफ्ना देशवासीलाई साँचो मनले सघाउन लागिरहेका देखिन्छन् । अरू भने त्यसलाई भजाएर भविष्यमा देश फर्केपछि सरकारी पद हासिल गर्न सहयोग पुग्छ भनेर पनि यसमा संलग्न हुन्छन् । सिएसएसएको सबैभन्दा चर्चित काममा चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना हुने वार्षिक रात्रिभोज र त्यसक्रममा देखाइने कार्यक्रम पर्छन् । त्यसपछि आउँछ, मध्यशरदको महोत्सवको रमझम । स्थानीय सिएसएसए इकाइसँग सम्पर्क भएका चिनियाँ विद्यार्थीको भेटघाट यस्तै कार्यक्रममा हुने गर्छ ।  अहिले अमेरिकामा विवादमा रहेको विषय सिएसएसए र चिनियाँ कन्सुलेटबीच गोप्य र नजिकको सम्बन्ध हुन्छ भन्ने छ । सिएसएसए नेताले कहिलेकाहीँ कन्सुलर अधिकारीसँग भेट्ने विषय गोप्य राखिएको छैन । ती भेटमा सिएसएसए नेता कन्सुलर अधिकारीसँग रोजगार कानुन र सुरक्षा मुद्दामा छलफल गर्ने गर्छन् । 

कन्सुलेटसँगको तिनका कुनै सम्पर्क निश्चित रूपमा राजनीतिक हुने गर्छ । तर, सिएसएसएले चिनियाँ अधिकारीको स्वागतका लागि विद्यार्थीलाई प्रयोग गर्नु मात्रलाई राजनीतिक हस्पक्षेप भन्न मिल्दैन । यस्ता अवसरमा राष्ट्रप्रेमको भावना, जिज्ञासाका कारण र दिक्क लागेर मन बहलाउन पनि विद्यार्थी सहभागी भएका हुन सक्छन् । भिभियनजस्ता धेरै विद्यार्थीका लागि सीको स्वागतमा सहभागी हुनु तिनका क्याम्पसमा हुने पूर्वराष्ट्रपति बाराक ओबामाको भाषणमा सहभागी भएजस्तै हो ।

यदि चिनियाँ कम्युनिस्ट पार्टीले विदेशमा बस्ने चिनियाँ विद्यार्थीले राष्ट्रवादको सामूहिक प्रदर्शन गरून् भन्ने कुराको प्रत्याभुत गराउन चाहने हो भने उसको प्रयास थप बलियो हुनुपर्छ । सिएसएसएबारे भइरहेको विवादले खासमा अमेरिका–चीन सम्बन्धको ठूलो मुद्दाबारे बताउँछ । आज चीनका तीन लाख ६० हजार चिनियाँ विद्यार्थी अमेरिकामा पढिरहेका छन् । यति धेरै विद्यार्थीलाई त्यति टाढा बेइजिङबाट चिनियाँ कम्युनिस्ट पार्टीले नियन्त्रण गरिरहेको छ भन्नु भनेको ती विद्यार्थीको व्यक्तिगत छनोट, स्वतन्त्र विचार र तिनको आफ्नै जटिल संवेदना र मनसायलाई बेवास्ता गर्नु हो । यस्तो सोच अमानवीय हो । चीन र अमेरिकाबीच बिग्रँदो सम्बन्धका वेला चिनियाँ विद्यार्थीलाई गरिने अमानवीकरण घातक हुन्छ ।

(सेन लु पत्रकार हुन् । उनका सामग्री चाइना फाइल, कोलम्बिया जर्नालिजम रिभ्यु र साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित भएका छन्)

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य