मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार ९ सोमबार १२:३५:००
Read Time : > 1 मिनेट
प्रदेश

एक नम्बर प्रदेशमा ‘स्वस्थ जीवन कार्यक्रम’ सुरु

Read Time : > 1 मिनेट
२०७६ असार ९ सोमबार १२:३५:००

एक नम्बर प्रदेश सरकारले प्रदेशभर ‘स्वस्थ जीवन कार्यक्रम’ सुरु गरेको छ । स्वस्थ जीवनयापन गर्न उत्प्रेरित गर्ने उद्देश्यले प्रदेश–१ का १४ वटै जिल्लामा शुक्रबारबाट यो कार्यक्रम सुरु भएको हो ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिर्तामोडबाट कार्यक्रमको शुभारम्भ गरे । उनले स्वस्थ जीवनयापन गर्न खाना, व्यायाम र आराममा ध्यान दिनुपर्ने बताए । दैनिक कम्तीमा पाँचवटा योग गर्न मन्त्री घिमिरेले सुझाब दिए ।

कार्यक्रम शुभारम्भ गर्नुअघि बिर्तामोड नगरपालिका, जिल्ला समन्वय समिति झापा, जिल्ला स्वास्थ्य कार्यालयसमेतको सहभागितामा बिर्तामोडमा सरसफाइ गरिएको थियो । सरकारका सरसफाइ सद्भावना दूत सीताराम कट्टेल ‘धुर्मुस’ पनि कार्यक्रममा सहभागी थिए । प्रदेश सरकारले यस कार्यक्रमका लागि गत माघमा ‘धुर्मुस–सुन्तली’लाई सद्भावना दूत नियुक्त गरेको थियो ।

प्राकृतिक जीवनशैलीमा फर्काउने प्रयास
सर्वसाधारणलाई प्राकृतिक जीवनशैलीमा फर्काउने लक्ष्यसाथ अभियान सुरु गर्न लागिएको स्वस्थ जीवन कार्यक्रमका संयोजक तीर्थ आचार्यले बताए । ‘अहिले ८० प्रतिशत मृत्यु नसर्ने रोगका कारण भइरहेको छ, त्यसकारण सामाजिक विकास मन्त्रालयले स्वस्थ जीवनशैली अपनाउने तरिका सिकाउँदै छ,’ कार्यक्रम संयोजक आचार्यले भने, ‘सर्वसाधारणलाई बिहान चाँडै उठेर योग गर्नदेखि घर, चर्पी, समुदाय सरसरफाई गर्न सचेतना फैलाइन्छ ।’ अभियानका क्रममा पोषणबारे पनि ज्ञान दिइने बताइएको छ । 

टोलटोलमा अभियान
अभियान जिल्लाका टोलटोलमा पु-याउने लक्ष्य राखिएको छ । टोलस्तरसम्मै अभियान लैजान वडा सदस्यसम्मलाई अभिमुखीकरण गराइसकिएको उनले संयोजक आचार्यले जानकारी दिए । ‘यो अभियान सुरु भएपछि हामी सबैजना टोलको सरसफाइमा निस्किनुपर्छ, योग अथवा व्यायाम गर्नुपर्छ, जमिन नहुनेले गमलामा भए पनि केही फलाएर खान सिक्नुपर्छ,’ आचार्यले भने, ‘सबैको बानी व्यवहार परिवर्तन गराउने र स्वस्थ बनाउने अभियान हो यो ।’

स्वास्थ्यकर्मीलाई तालिम
अभियानका लागि झापा र मोरङका सबै पालिकाबाट एक–एकजना स्वास्थ्यकर्मीलाई विराटनगर बोलाएर प्रशिक्षण दिइएको उनले बताए । शुक्रबार अभियान शुभारम्भका अवसरमा बिर्तामोडमा सात दिने योगाभ्यासको समेत सुरुवात गरिएको छ । यो अभियानले सर्वसाधारणको स्वास्थ्य स्थितिमा सुधार ल्याउने तथा औषत आयु बढाउन मद्दत पुग्ने प्रदेश सरकारको अपेक्षा छ । झापामा स्वास्थ्यसम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन भए पनि यो नौलो कार्यक्रम भएको जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसूदन कोइरालाले बताए ।