१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार ९ सोमबार १०:२९:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

बिमामा विश्वासको संकट

Read Time : > 4 मिनेट
२०७६ असार ९ सोमबार १०:२९:००

नेपालमा बिमाको कारोबार हुन थालेको सात दशक नाघिसकेको छ । बिमा कम्पनी बढ्दै गएपछि बिमा समिति स्थापना भएर बिमा कम्पनीको नियमन गर्न थालेको पाँच दशक नाघेको छ । तर, बिमा क्षेत्रको विस्तार भने कछुवा गतिमा देखिन्छ । आजम्म आइपुग्दा १८ प्रतिशत जनतामा पनि बिमा क्षेत्र पुग्न सकेको छैन । किन त ? यसको एउटै उत्तर हो, ‘बिमा क्षेत्रप्रतिको विश्वासको संकट ।’ 

बिमाको इतिहास 
नेपालमा बिमा कम्पनीको स्थापना हुनुअगावै सीमा क्षेत्रमा रहेका भारतीय बिमा कम्पनीका शाखाले व्यवसाय गर्दै आएका थिए । विदेशी कम्पनीको प्रभाव बढ्न थालेपछि नेपालमा पनि बिमाको आवश्यकता महसुस गरियो । त्यसैले २००४ सालमा नेपाल बैंकको पूर्ण स्वामित्वमा ‘माल चलानी तथा बिमा कम्पनी’ स्थापना भयो । ०१६ सालमा यो ‘नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी’मा परिवर्तन भयो । विसं ०४८ मा नेपाल इन्स्योरेन्स कम्पनीको नाममा परिवर्तन भयो । 

०२४ साल पुस १ गते १ करोडको पुँजीमा राष्ट्रिय बिमा संस्थान प्रालिको स्थापना भयो । ०२५ सालमा राष्ट्रिय बिमा संस्थान ऐन जारी गरी यसलाई संस्थानमा परिवर्तन गरियो । बिमा नियमावलीअनुसार ०२६ साल जेठमा बिमा समितिको स्थापना भयो । समितिले गत जेठ १ गते स्थापनाको ५१औँ वार्षिकोत्सव हर्षोल्लासका साथ मनाएको छ । समिति स्थापना भएको आधा शताब्दीको अवधिमा नेपालको बिमा क्षेत्रमा थुप्रै परिवर्तन भए । कम्पनीको संख्या बढ्यो, व्यवसाय बढ्यो, जोखिमको प्रकृति बढ्यो । बिमाको दायरा पनि बढेको छ । तर, बिमाप्रतिको मानिसको बुझाइमा भने खासै परिवर्तन आएको देखिँदैन । 

सर्वसाधारणको बुझाइमा बिमा 
सर्वसाधारणको बुझाइमा ‘बिमा भनेको भ्रम मात्रै हो’ भन्ने छ । धेरैले जीवन बिमालाई मृत्युपछि मात्रै प्राप्त हुने रकम भनेर बुझ्छन् । त्यसैले मृत्युपछि प्राप्त हुने रकमबारे अहिले किन चिन्ता लिने भन्ने उनीहरूको तर्क छ । निर्जीवन बिमालाई भने सर्वसाधारणलाई ठगी धन्दाका रूपमा लिएका छन् । निर्जीवन बिमा दुर्घटना भएको समयमा मात्रै भुक्तानी हुन्छ । दुर्घटना नहुँदा भुक्तानी नपाउने भएकाले आफूहरू ठगिएको महसुस गर्छन् । दुर्घटना भइहाले पनि कम्पनीले भुक्तानी गर्दैनन् भन्ने सर्वसाधारणको बुझाइ छ । बिमा कम्पनीको काम गराइ पनि त्यस्तै छ । सजिलै भुक्तानी पाउनु ‘आकाशको फल’झैँ भएको छ । 

बिमाप्रतिको भ्रम र वास्तविकता
जीवन बिमा भनेको मृत्युपछि इच्छाएको व्यक्तिले पाउने रकम हो भन्ने सर्वसाधारणको बुझाइ छ । किनभने, अभिकर्ताले बिमितलाई यसैगरी व्याख्या गर्ने गर्छन् । तर, के मृत्युपछिका लागि मात्रै हो त बिमा ? पक्कै पनि होइन । जीवन बिमा भनेको सुरक्षा र बचत हो । जुन जीवन रहँदा पनि, नरहँदा पनि नागरिकलाई आर्थिक सहयोग गर्छ । जीवन बिमा धेरै प्रकारका छन् । आजीवन जीवन बिमा, साबद्यिक जीवन बिमा र म्यादी जीवन बिमा । यस्तै, बिमाका आधारमा अहिले कम्पनीले अन्य बिमा योजना निर्माण गरेका छन् । 

आजीवन जीवन बिमामा मात्र बिमितको मृत्युपछि उसले इच्छाएको व्यक्तिले भुक्तानी पाउने हो । त्यस्तै, साबद्यिक जीवन बिमामा अवधि सकिएपछि बिमित जीवित रहेमा उसैले भुक्तानी पाउँछ भने मृत्यु भएमा इच्छाएको व्यक्तिले पाउनेछ । म्यादी जीवन बिमा भनेको निश्चित अवधिका लागि गरिने बिमा हो । यस्तो बिमामा दुर्घटना भएको अवस्थामा मात्रै बिमितले भुक्तानी पाउँछ । 

यी सबै पोलिसीका आ-आफ्नै विशेषता छन् । त्यसैले सर्वसाधारणले जोखिम, आर्थिक अवस्था र भोलिको आवश्यकता हेरेर बिमा योजना खरिद गर्नुपर्छ । 
बिमा बचत र सुरक्षा दुवै हो । सामान्यतया हामीले बैंकमा राखेको पैसा कुनै पनि समयमा निकाल्न सक्छाँै, खर्च गर्न सक्छाँै । तर, बिमा गरिएको रकम हत्तपत्त निकाल्दैनौँ । बिमाशुल्क भुक्तानी नगरेमा बाँकी रकम पनि फिर्ता नहुने डरले जताबाट भए पनि रकम जुटाएर बिमाशुल्क भुक्तानी गर्दै जान्छाँै । यस अर्थमा यो जबर्जस्ती बचत हो । त्यस्तै, बिमा अवधि सकिएपछि बिमित जीवित रहेमा बिमांक रकम र बोनस रकम पाउँछ । उक्त रकम कुनै नयाँ व्यवसाय, विवाह, व्रतबन्ध र छोराछोरीको अध्ययनमा लगानी गर्न सकिन्छ । बिमितको मृत्यु भएमा आश्रित परिवारले रकम पाउँछन् । यसको अर्थमा बिमा सुरक्षा पनि हो । 

 दुर्घटना नहुँदा बिमित ठगिने नै हुन् ? 
सर्वसाधारणमा ‘दुर्घटनाका लागि मात्रै बिमा गर्ने’ भन्ने बुझाइ छ । जुन गलत हो । बिमा भनेको सामूहिक कार्य हो । बिमा कम्पनीले धेरै व्यक्तिबाट रकम उठाएर दुर्घटना भएका एक दुई बिमितलाई भुक्तानी गर्छ । दुर्घटना कसैको पनि हुन सक्छ । आज अर्कोको भयो, भोलि आफ्नै पनि हुन सक्छ । अर्को व्यक्तिको दुर्घटना भए पनि कम्पनीले थुप्रै बिमितबाट संकलन गरेको रकम भुक्तानी गर्ने हो । आफूलाई दुर्घटना हुदाँ अर्कोबाट संकलन भएको रकम भुक्तानी पाइने हो । 

दुर्घटना कुनै पनि समयमा, कहीँ पनि हुन सक्छ । दुर्घटना हुँदै, हुँदैन भन्ने पनि त छैन । नेपालजस्तो प्राकृतिक र भौगोलिक रूपमा जोखिमयुक्त मुलुकमा दुर्घटना कुनै पनि समयमा जहाँ पनि हुन सक्छ । दुर्घटना भइहाले जीवनभरि आम्दानी गरेर जोडेको सम्पत्ति वा कर्जा लिएर खरिद गरेको सम्पत्ति क्षति हुन्छ । सबैले आफँै कमाएर फेरि सम्पत्ति जोड्न गाह्रो छ । तर, बिमा गरियो भने बिमा कम्पनीले क्षति भएको रकम भुक्तानी त गरिदिन्छ नि ! 

बिमामा विश्वासको संकट किन ?
बिमा व्यवसाय अभिकर्तामा आधारित हुन्छ । अभिकर्तालाई निश्चित कमिसन दिएर कम्पनीले व्यवसाय गरिरहेका हुन्छन् । कम्पनीले बजारीकरणका लागि अभिकर्तामै लगानी गरेका हुन्छन् । त्यसैले बिमाका विषयमा सर्वसाधारणलाई स्पष्ट जानकारी दिन उनीहरू जरुरी ठान्दैनन् । बिमा कम्पनीलाई लाग्छ, ‘अभिकर्ताले नै सबै काम गरिरहेका छन् ।’ 
त्यसैले कम्पनीहरू बिमासम्बन्धी चेतना जगाउने कार्यमा सक्रिय छैनन् । जुन बिमा कम्पनीको गैरजिम्मेवारी हो । किनभने, अभिकर्ताले कम्पनी र बिमितबीच सम्बन्ध स्थापित गराउने मात्रै हो । अभिकर्ता सधैँ एउटै कम्पनीमा पनि रहँदैनन् । पहिलो वर्ष सम्बन्ध स्थापित गराएपछि त्यसलाई निरन्तरता दिने काम कम्पनीको हो । तर, कम्पनीहरू त्यो जिम्मेवारीबाट भागिरहेका छन् ।

नेपालको सन्दर्भमा अधिकांश अभिकर्ताले कर्तव्य पूरा गर्दैनन् । बिमितको आवश्यकताप्रति कुनै सरोकार राख्दैनन् । अभिकर्ता कमिसनमा मात्रै केन्द्रित छन् । त्यसैले बिमितलाई भावनात्मक दबाब दिएर हुन्छ वा फकाएर हुन्छ, बिमा गराउँछन् । त्यसपछि बेपत्ता हुन्छन् । बिमितप्रति कुनै दायित्व महसुस गर्दैनन् । अभिकर्ता आउनेबित्तिकै सर्वसाधारण भाग्नुको मुख्य कारण पनि यही हो ।

 अभिकर्ताको पनि लापरबाही 
अभिकर्ता भनेको बिमा व्यवसायको मेरुदण्ड हो । विश्वमै बिमा व्यवसाय अभिकर्ताको माध्यमबाट गरिन्छ । त्यसैले अभिकर्ता बिमितको उचित सल्लाहकार पनि हो । अभिकर्ताले सधैँ बिमितको आवश्यकता र आर्थिक अवस्थालाई मध्यनजर गरी बिमा योजना सिफारिस गर्नुपर्छ । तर, हाम्रो सन्दर्भमा अधिकांश अभिकर्ताले कर्तव्य पूरा गर्दैनन् । बिमितको आवश्यकताप्रति कुनै सरोकार राख्दैनन् । अभिकर्ता कमिसनमा मात्रै केन्द्रित छन् । त्यसैले बिमितलाई भावनात्मक दबाब दिएर हुन्छ वा फकाएर हुन्छ, बिमा गराउँछन् । त्यसपछि बेपत्ता हुन्छन् । बिमितप्रति कुनै दायित्व महसुस गर्दैनन् । अभिकर्ता आउनेबित्तिकै सर्वसाधारण भाग्नुको मुख्य कारण पनि यही हो । 

नयाँ कम्पनी थपिएपछि त झन् जबर्जस्ती बिमा गराउने प्रवृत्तिको विकास भएको छ । कर्जाको सुविधा दिएर हुन्छ वा कमिसनको केही रकम नै दिएर हुन्छ, अभिकर्ताले बिमा गराउन चुक्दैनन् । बिमा ऐनअनुसार अभिकर्ता हुन तीनदिने तालिममा सहभागी हुनुपर्छ । तर, अहिले अधिकांश अभिकर्ता यस्ता तालिममा सहभागी भएका छैनन् । त्यसैले स्वयं उनीहरू नै बिमाबारे जानकार छैनन् र अरूलाई बुझाउन पनि सक्दैनन् । 
भुक्तानीमा समस्या 
बिमा गर्न जति सहज छ, त्यति नै दाबी भुक्तानी लिन कठिन छ । कतिपय कम्पनी अझै पनि जानाजान भुक्तानीमा ढिलाइ गर्छन् । कागजात नपुगेको बहाना प्रक्रियालाई लम्ब्याउँछन् । भुक्तानी गर्नुपर्दा पनि जतिसक्दो कम भुक्तानी दिन खोज्छन् । यसले सर्वसाधारणमा बिमाप्रति नैराश्यता उत्पन्न भएको छ । 

कमजोर बिमा समिति
बिमा समितिले बिमाको पहुँच १८ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक गरेको छ । तर, स्वयं बिमा कम्पनी यसलाई मान्न तयार छैनन् । बिमामा हुने दोहोरोपन, व्यतीत, वैदेशिक रोजगार म्यादी जीवन बिमाको संख्या घटाएर हेर्ने हो भने बिमाको पहुँच मुस्किलले १० प्रतिशतमा मात्र पुगेको छ । नियमनकारी निकायको हैसियतले बिमाप्रति सर्वसाधारणको विश्वास नहुनुमा स्वयं समितिको पनि कमजोरी देखिन्छ ।

समितिले बिमा कम्पनीबाट एक प्रतिशत सेवाशुल्क उठाउँदै आएको छ । त्यसैले बिमाको विषयमा प्रचार–प्रसार गर्ने प्रमुख दायित्व समितिको पनि हो । त्यस्तै, समितिले कम्पनीलाई प्रचार–प्रसारमा जोड दिन उचित निर्देशन दिन सक्नुपर्छ । अभिकर्तालाई नियमन गर्नुपर्छ । लाइसेन्स वितरण प्रणालीलाई कडाइ गर्नुपर्छ । कम्पनीहरूको अभिकर्ता निर्माण रणनीतिलाई नियमन गर्नुपर्छ । दाबी भुक्तानीमा जोड दिन सक्नुपर्छ । अन्यथा आजको दिनमा बिमाको पहुँच बढेको तथ्यांकले देखाए पनि भोलिका दिनमा बिमा व्यतीतको दर बढ्ने जोखिम उत्तिकै रहनेछ ।