मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका सुर्खेत
२०७६ असार ८ आइतबार १२:४१:००
Read Time : < 1 मिनेट
प्रदेश

दिगो लक्ष्य प्राप्तिका लागि कर्णाली युवा सम्मेलन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका सुर्खेत
२०७६ असार ८ आइतबार १२:४१:००

दिगो विकास लक्ष्य प्राप्तिका लागि कर्णाली युवा सम्मेलन आयोजना गरिएको छ । राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको सम्मेलनमा सबै जिल्लाका युवा सहभागी छन् ।

कर्णालीका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सरकारका हरेक काममा युवा सहभागिता हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याएको बताए । कर्णालीमा साना र मझौला उद्यमको विकास गरी रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न सके मात्र कामको खोजीमा विदेश जाने युवा रोक्न सकिने उनले बताए । कर्णालीको कृषि, वन र जडीबुटीको पहिचान र उपयोगले प्रदेशलाई समृद्ध बनाउन सकिने उनको भनाइ थियो । 

सम्मेलनमा बोल्दै कर्णाली प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशको समृद्धिका लागि युवा सहभागिता अपरिहार्य रहेको बताए । उनले कर्णाली सरकारले युवालक्षित कार्यक्रम ल्याउन नसकेको आरोप लगाए । ‘मुलुकको शासनसत्ता परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण छ । तर, शासन परिवर्तनपछि दैनिक हजारौँको संख्यामा विदेश जाने युवालाई स्वदेशमै रोक्ने योजना सरकारले ल्याउन सकेको छैन,’ उनले भने । 

कर्णाली प्रदेशसभा उपसभामुख पुष्पा घर्ती विष्टले सामाजिक विभेदविरुद्ध युवाले अभियान थाल्नुपर्ने बताइन् । युवालाई भविष्यका कर्णाधार मात्र नभनेर वर्तमानका साझेदार मानेर विकासमा सहभागिता बढाउनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय युवा गैरसरकारी महासंघ अध्यक्ष कमल सुवेदीले युवाको सहभागिताबिना दिगो विकास लक्ष्य हासिल गर्न नसकिने बताए । 

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा.मानबहादुर विक, प्राकृतिक स्रोत व्यवस्थापन तथा वातावरण विज्ञ डा.प्रभुबहादुर बुढाथोकी, विकास विज्ञ सुरज श्रेष्ठ, सेभ द चिल्ड्रेन सुर्खेतका रन्तराज ओझाले दिगो विकासको स्थानीयकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनले सल्यानका प्रतीक शर्माको संयोजकत्वमा दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्ने गरी कर्णाली प्रदेशस्तरीय समिति गठन गरेको छ ।