१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार ८ आइतबार ११:४५:००
Read Time : > 1 मिनेट
समाचार

राजपा–समाजवादी वार्ता : मन्त्रिपरिषद् फेरबदलबारे यादव र महतोबीच छलफल 

Read Time : > 1 मिनेट
२०७६ असार ८ आइतबार ११:४५:००

प्रदेश २ सरकारका मन्त्री फेरबदल गर्ने विषयमा सत्ता साझेदार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरूबीच शुक्रबार छलफल भएको छ । छलफलमा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो सहभागी थिए । 

भेटवार्तामा दुवै नेताले आफ्नो पार्टीका मन्त्रीहरूबाट कमजोरी भएको स्विकारेका थिए । बैठकमा महतोले आफ्नो पार्टीका प्रदेश मन्त्रीहरूले राम्रो काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएको स्रोतले जानकारी दियो । मधेस आन्दोलनको जगमा सरकार निर्माण भए पनि जनअपेक्षा पूरा गर्नुको सट्टा मन्त्रीहरू आफ्नै नतागोता तथा कमिसनमा योजनाहरू बाँड्न सक्रिय रहेको उनको आरोप थियो । आफ्नै पार्टीका मन्त्रीहरूबीच सहकार्य हुन नसकेको उनले बताएका थिए । ‘मन्त्रीहरूलाई पटक–पटक चेतावनी पनि दियौँ, तर कुनै सुनवाइ हुँदैन । 

यस्तोमा पार्टीको बदनामीबाट बचाउन मन्त्रिपरिषद् फेरबदल गर्नुको विकल्प छैन,’ राजपाले एकलौटी रूपमा मन्त्री फेरबदल गरेको खण्डमा राम्रो सन्देश नजाने भएकाले महतोले उप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवलाई पनि आफ्नो पार्टीका मन्त्रीहरू फेरबदल गर्न सुझाब दिएको स्रोतको भनाइ छ । जवाफमा अध्यक्ष यादव पार्टी एकता गर्न र मन्त्रिपरिषद् फेरबदल गर्न सहमत भएको स्रोतले जानकारी दियो । 

सोनलप्रति सांसदको असन्तुष्टि 
सत्ता साझेदार दल राजपाका संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलको कार्यशैलीप्रति  महतो असन्तुष्ट देखिएका छन् । यसअघि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउँदा राजपाकै ५ जना सांसदले संशोेधनको प्रस्ताव राखेका थिए । महन्थ ठाकुरनिकटका मन्त्री सोनलले अध्यक्षमण्डलका अन्य सदस्यहरूलाई टेर्नसमेत छाडेको पार्टीकै एक नेताले बताए ।

‘मन्त्री फेरबदल हुन सक्छन्’
प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मन्त्रिपरिषद्फेरबदल हुने सम्भावना प्रबल रहेको बताए । मन्त्री यादवले राम्रो पर्फर्मेन्स नदिने मन्त्रीलाई फेरबदल गर्न दुवै पार्टीका शीर्ष नेताहरू गम्भीरतापूर्वक लागेको बताए । ‘जनताको अपेक्षाअनुसार प्रदेश सरकारले कार्य गर्न नसकेको अवस्थामा शीर्ष नेताहरूले प्रदेश २ लाई गम्भीर रूपमा लिएका छन्,’ मन्त्री यादवले भने, ‘एक महिना अघिदेखि मन्त्रीहरूको मूल्यांकन भइरहेको छ । ’

 एकता प्रक्रियालाई निरन्तरता दिइने 
समाजवादी पार्टी र राजपाबीच औपचारिक रूपमै सुरु भएको एकता अभियानलाई पुनः गति दिन महतो सक्रिय भएका छन् । अभियानलाई सार्थक बनाउन महतो अध्यक्षमण्डलका अन्य सदस्यभन्दा धेरै सक्रिय छन् । राजपाका अध्यक्षमण्डलका केही सदस्यहरूले समाजवादी पार्टीसँग एकता गर्न नहुने मत राखिरहेका छन् । महतोसँगै शरत्सिंह भण्डारी, महेन्द्र यादव, राजकिशोर यादवसहितका नेताहरू भने एकताको पक्षमा लागेका छन् ।