मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार ८ आइतबार ०८:३२:००
Read Time : > 4 मिनेट
सेयर बजार

सुस्त सेयरबजार, अन्योलमा लगानीकर्ता

Read Time : > 4 मिनेट
२०७६ असार ८ आइतबार ०८:३२:००

गत साता नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । पाँच कारोबार दिनका लागि खुला रहेको बजारमा २ कारोबार दिन नेप्से उकालो लागेको छ भने बाँकी ३ कारोबार दिन बजार ओरालो लागेको थियो । गत साता लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहेका थिए । बजारले उचित दिशा लिन नसकेपछि लगानीकर्ताहरूले सो रणनीति अपनाउन बाध्य भएका हुन् । पुँजीबजारमैत्री बजेट आए पनि बजार ओरालो लागेका कारण लगानीकर्ता अन्योलमा परेका छन् । केही लगानीकर्ता बजारमा अहिले ‘अफ सिजन’ चलिरहेको विश्लेषण गरिरहेका छन् । हरेक वर्ष बजेट सार्वजनिक भएपश्चात् र मौद्रिक नीति सार्वजनिक हुनुअघि बजार सुस्त रहने गरेको उनीहरूको विश्लेषण छ । यसका साथै, बजारमा अधिक सेयर चाप, ब्रोकर कमिसन नघट्नु र बैंक ब्याजदर नघट्नुले बजारलाई ओरालो लाग्न दबाब सिर्जना भएको एक ब्रोकरले बताए । 

तर, गत साताको अन्तिम कारोबार दिन भने बजारमा केही उत्साह देखिएको थियो । निरन्तर ओरालो लागेसँगै कम्पनीहरूको सेयरमूल्य तुलनात्मक रूपमा सुस्तिएको छ । सोही कारण केही लगानीकर्ता राम्रा कम्पनीको सेयर खरिद गर्नतर्फ लाग्दा गत साताको अन्तिम कारोबार दिन बजार बढेको हो । आर्थिक वर्षको अन्त्य नजिकिएका कारण पनि अबका दिन बजार सकारात्मक दिशातर्फ अघि बढ्ने सम्भावना रहेको एक विश्लेषकले बताए । 

बजार सारांश
गत साता नेप्से परिसूचक ५ दशमलव २० अंक घटेर १ हजार २ सय ६४ दशमलव ३६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स सो साता शून्य दशमलव २२ अंक घटेर २ सय ७१ दशमलव ६० बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स शून्य दशमलव २७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ४ अंक घटेको छ । सो साता १ सय ८३ कम्पनीको २८ हजार ३० पटकको कारोबारमा १ अर्ब ८८ करोड ९३ लाख २२ हजार रुपैयाँबराबरको ६३ लाख ७५ हजार ५ सय ५९ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ४० दशमलव ८८ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो गत साता शून्य दशमलव ७५ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । सो साता कारोबारमा आएका १ सय ८३ कम्पनीमध्ये ६४ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने ८५ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३४ कम्पनीको सेयरमूल्य सो साता स्थिर रहेको छ । 

गत साताको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार २ सय ६३ दशमलव ४९ रहेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार २ सय ५५ दशमलव ३८ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार २ सय ४६ दशमलव ४० बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार २ सय ७२ दशमलव ४७ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार २ सय ८० दशमलव ५८ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

नेपाल बैंकको सर्वाधिक कारोबार
गत साता कारोबार रकम र सेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अगाडि छ । सो वाणिज्य बैंकको गत साता ८ सय ७९ पटकको कारोबारमा १२ करोड २८ लाख ३६ हजार रुपैयाँबराबरको ३ लाख ८० हजार ५ सय ८८ कित्ता सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको गत साता १ हजार १ सय ९० पटकको कारोबारमा ११ करोड ७३ लाख १७ हजार रुपैयाँबराबरको १ लाख ७९ हजार ३ सय ८ कित्ता सेयर किनबेच भएको छ । प्रभु बैंकको गत साता ८ सय २९ पटकको कारोबारमा ९ करोड २८ लाख ३ हजार रुपैयाँबराबरको ३ लाख ४७ हजार ६ सय २८ कित्ता सेयर कारोबार भएको छ । कारोबार संख्याका आधारमा अगाडि रहेको अपर तामाकोसी हाइड्रोपावरको गत साता १ हजार ३ सय २८ पटकको कारोबारमा ४ करोड ९७ लाख १५ हजार रुपैयाँबराबरको १ लाख ८७ हजार ९ सय ५४ कित्ता सेयर कारोबार भएको छ । 

सर्वाधिक कमाउने गुराँस र मल्टीपर्पोज
गत साता गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक २३ दशमलव ३२ प्रतिशत बढको छ । त्यसैगरी, मल्टीपर्पोज फाइनान्स कम्पनीको सेयरमूल्य गत साता २२ दशमलव २८ प्रतिशत बढेको छ । कारोबारमा आएका नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य क्रमशः १७ दशमलव ५४ प्रतिशत र १३ दशमलव ९९ प्रतिशत बढेको छ । अन्य कम्पनीको सेयरमूल्य वृद्धिदर १० प्रतिशतभन्दा कम रहेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य गत साता सर्वाधिक ४७ दशमलव ९९ प्रतिशत घटेको छ । लक्ष्मी इक्विटी फन्डको इकाइमूल्य सो साता १२ दशमलव ५ प्रतिशत घटेको छ । 

 ९ समूहको परिसूचक घट्यो
गत साता कारोबारमा आएका ११ समूहमध्ये ९ समूहको परिसूचक घटेको छ भने बाँकी २ समूहको परिसूचक बढेको छ । सो साता जलविद्युत् समूहको परिसूचक २ अंक, वाणिज्य बैंक समूहको शून्य दशमलव ८३ अंक बढेको छ । 

सो साता निर्जीवन बिमा समूहको परिसूचक सर्वाधिक १ सय ४० दशमलव शून्य ६ अंक घटेको छ । त्यसैगरी, जीवन बिमा समूहको परिसूचक ८६ दशमलव ९० अंक, उत्पादनमूलक समूहको ३३ दशमलव ५४ अंक, होटेल समूहको २३ दशमलव ६० अंक, लघुवित्त समूहको १५ दशमलव ८१ अंक, वित्त समूहको ४ दशमलव ३१ अंक, अन्य समूहको ३ दशमलव ६३ अंक, विकास बैंक समूहको १ दशमलव ८३ अंक र म्युचुअल फन्ड समूहको शून्य दशमलव १२ अंक घटेको छ । 

डेढ करोडभन्दा बढी कित्ता सेयर सूचीकृत
गत साता ६ कम्पनीले १ करोड ५६ लाख ३६ हजार ९ सय ८४ कित्ता सेयर सूचीकृत गरेका छन् । सो साता जेबिल्स फाइनान्स लिमिटेडको ३ लाख ४० हजार ९ सय ५५ दशमलव ५० कित्ता, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ३२ लाख ८९ हजार कित्ता र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख २९ हजार ८ सय ८९ दशमलव ६९ कित्ता हकप्रद सेयर सूचीकृत भएको छन् । त्यसैगरी, नबिल बैंक लिमिटेडले ९६ लाख ८६ हजार २ सय ४४ कित्ता, जेबिल्स फाइनान्सले ३ लाख ८९ हजार २ सय ८१ दशमलव ८६ कित्ता र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडले १६ लाख १ हजार ६ सय १३ कित्ता बोनस सेयर सूचीकृत गरेका छन् ।

उन्नतिको हकप्रद हितग्राही खातामा
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गरेको मितिसम्ममा अभौतिक सेयर धारण गरेका सेयरधनीको खातामा सो सेयर जम्मा गरेको हो । कम्पनीले ५ बराबर १ अनुपातमा २०७५ फागुन १३ गतेदेखि चैत १७ गतेसम्म प्रतिकित्ता १ सय अंकित मूल्यका १ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

प्रोग्रेसिभको साधारणसभा
प्रोग्रेसिभ फाइनान्स लिमिटेडले असार २९ गते ज्यापू प्रज्ञा भवन, भोल गणेश ललितपुरमा एक्काइसौँ तथा बाइसौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा मर्जर अथवा एक्विजिसन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र संस्थापक समूहतर्फका ३ जना तथा सर्वसाधारण समूहतर्फका ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असार १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

नेपाल इन्स्योरेन्सको लाभांश
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ दशमलव ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । असार ५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको साढे ७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साथै, सो बैठकले बोनस सेयरको कर प्रयोजनका लागि ४० लाख २२ हजार ७ सय ७८ दशमलव ४१ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब १ करोड ९१ लाख ३ हजार ८ सय ६२ दशमलव ९७ रहेको छ । बिमा समिति र आगामी साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।