मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार ६ शुक्रबार ११:२३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

गिरफ्तार गरिसकेपछि मुठभेड भन्दै मार्ने डरलाग्दो अभ्यास

प्रतिशोध लिएर द्वन्द्व चर्काउने र जनतालाई दुःख दिने बाटोमा सरकार

Read Time : > 1 मिनेट
२०७६ असार ६ शुक्रबार ११:२३:००

१. सर्लाहीमा बिहीबार दुईतर्फी गोली हानाहान, क्षति एकतर्फी, विप्लवका जिल्ला इन्चार्जको मृत्यु

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मुठभेडमा मारिएको प्रहरीको दाबी छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखन्ती खोलामा बिहीबार दिउँसो मुठभेड भएको प्रहरीको भनाइ छ । राष्ट्रसेवक प्रहरीलाई सामान्य पनि क्षति नपुग्नु सुखद खबर हो । तर, मुठभेड भएर नै यस्तो भएको हो भन्ने विश्वास गर्न गाह्रो छ । बाटोमा हिँडिरहेका मान्छेलाई शंकाका आधारमा प्रहरीले ‘अवश्य’ गोली चलाउँदैन । विप्लव समूहकाले पहिले गोली चलाएका हुन् भने प्रहरीलाई पनि चोटपटक लाग्न सक्थ्यो । सुरुमा फायरिङ गर्नेले केही पनि गर्न नसक्ने, तर जवाफी कारबाही गर्नेले मान्छे ठहरै पार्ने अनौठो उदाहरण बिहीबारको घटनाले देखाएको छ । प्रहरीसँग यस्तो कौशल विरलै देखिने गर्छ । 

२. विप्लव समूहका कार्यकर्ता बन्दुक बोकेर गाउँगाउँ हिँड्न थालेका हुन् ? के छ राज्यको रणनीति ?
बाटोमा प्रहरीसँग जम्काभेट भएपछि विप्लव समूहका चार कार्यकर्तासँग मुठभेड भएको प्रहरीको भनाइ छ । प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलका अनुसार घटनास्थलबाट पेस्तोल बरामद भएको छ । प्रदेश २ प्रहरी कार्यालय र जिल्लाबाट खटिएको टोलीसँग मुठभेड भएको पनि उनले बताए । प्रहरीको दाबीले प्रश्न उठ्छ– के विप्लव समूह साँच्चै द्वन्द्वमा गएको हो ? उनीहरू हतियार बोकेर खोलानाला र गाउँ–पखेरा हिँड्न थालेका हुन् ? स्थिति साँच्चै त्यस्तै हो भने एक–एकजनालाई गोली हानेर यो समस्याको समाधान हुन सक्छ ? मुठभेडले नै समस्या समाधान गर्ने हो भने राज्यसँग के–कस्तो रणनीति छ ? तर, प्रहरीका यस्ता कारबाहीले समस्या समाधान गर्नेभन्दा द्वन्द्व उक्साउने जोखिम छ । 

३. गृहमन्त्री भन्छन्– विप्लवले चार कम्पनी सेना बनाइसके, हो भने गोली हान्ने कि वार्ता गर्ने ?
१२ जेठमा काठमाडौंमा बम विस्फोट हुँदा विप्लव समूहकै तीनजनाको मृत्यु भएको थियो । भोलिपल्ट संसद्मा बोल्दै गृहमन्त्री रामबहादुर थापाले भनेका थिए, ‘विप्लवले चार कम्पनी सेना बनाइसके ।’ राज्यसँग यति ठूलो सूचना छ भने उसको रणनीति के हो ? सरकार वार्ताबाट समस्या समाधान गर्न चाहन्छ कि बल प्रयोग गर्न ? विप्लव समूहले सैन्य दस्ता नै बनाइसकेको भनेर सूचना पाउँदा पनि गृहले त्यसविरुद्ध कुनै सुरक्षा रणनीति बनाउन आवश्यक ठानेको छैन । वास्तवमा विप्लव समूहप्रति सरकारको नीति नै प्रस्ट छैन । विस्फोटका घटना बढ्दै जाँदा सतर्क रहन सुरक्षा निकायलाई निर्देशन दिनेबाहेक गृहले यो प्रकरणमा विशेष योजना बनाउन सकेको छैन । उल्टो सरकारी संयन्त्रहरूलाई नै अलगथलग र कमजोर बनाइएको छ । 

विप्लव समूहसँग प्रतिशोध शृंखला 
सरकार विप्लव समूहसँग संवादमार्फत समस्या समाधान गर्नेभन्दा पनि बल प्रयोगमा उत्रिएको छ । प्रहरी ‘इन्काउन्टर’मा विप्लवका दुई कार्यकर्ता मारिएका छन् । यो पार्टीका नेता तीर्थराज घिमिरे ७ जेठमा प्रहरीको गोलीबाट भोजपुरमा मारिएका थिए । त्यसको प्रतिशोधस्वरूप सो संगठनले १३ जेठमा नेपाल बन्द आह्वान गरेको थियो ।

बन्दमा राजधानीमा शक्तिशाली बम पड्काएर धक्का दिने उनीहरूको योजना थियो । तर, सेटिङ मिलाउन नजान्दा अघिल्लो दिन नै राजधानीका तीन स्थानमा बम विस्फोट भए । जसमा सो समूहका पाँचजनाले ज्यान गुमाएका थिए । बिहीबार प्रहरीले सर्लाही इन्चार्ज पौडेल मुठभेडमा मारिएको दाबी गरेको छ । तर, उनलाई गोली नै हान्नुपर्ने गरी मुठभेड भएको आधार प्रहरीले दिन सकेको छैन । जसकारण सरकारले अनावश्यक बल प्रयोग गर्दा हिंसा बढ्न सक्ने आशंकासमेत गरिएको छ । 

प्रहरी प्रवक्ता विश्वराज पोखरेल भने प्रहरीले अनावश्यक रूपमा कतै पनि बल प्रयोग नगरेको दाबी गर्छन् । एनसेल कार्यालय र व्यवसायी रोहन गुरुङको घरमा विस्फोट गराएपछि सो समूहमाथि सरकारले गत २८ जेठमा प्रतिबन्ध लगाएर कारबाही थालेको थियो । त्यसयता विप्लवका पाँच सय ४० कार्यकर्ता पक्राउ परिसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।