मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार ५ बिहीबार ११:५२:००
Read Time : > 1 मिनेट
प्रदेश

बसाइँसराइले रित्तिँदै सामुदायिक विद्यालय : कक्षा पाँचमा तीन विद्यार्थी

Read Time : > 1 मिनेट
२०७६ असार ५ बिहीबार ११:५२:००

जिल्लाका केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप थेगिनसक्नु भए पनि जैमिनी नागरपालिका–७ जैदीमा रहेको एक विद्यालयमा भने विद्यार्थी निरन्तर घटिरहेका छन् । यो समस्या जैदी बोरमा रहेको भगवती प्राथमिक विद्यालयको हो । यस विद्यालयको कक्षा ५ मा जम्मा तीनजना छन् । विद्यालयमा बालविकासदेखि कक्षा पाँचसम्म पठनपाठन हुन्छ । विद्यालयभरि जम्मा ३५ बालबालिका छन् । अघिल्लो शैक्षिक सत्रमा ४२ जना विद्यार्थी भर्ना भएका विद्यालयका प्रधानाध्यापक कृष्णराज उपाध्यायले बताए । विद्यालयको समग्र अवस्था हेर्दा बालविकास र कक्षा १ मा विद्यार्थीको अनुपात ठीकै देखिए पनि कक्षा दुईदेखि पाँचसम्म न्यून छन् ।

विद्यालयका प्रधानाध्यापक कृष्णराज उपाध्याका अनुसार बालविकास र कक्षा एकमा १७ जना विद्यार्थी छन् भने कक्षा दुईमा पाँचजना कक्षा तीनमा चारजना तथा कक्षा पाँचमा तीनजना मात्रै छन् ।

प्रमुख कारण बसाइँसराइ 
भौगोलिक रूपले विकट भएका कारण यहाँका धेरै परिवार बसाइँ सरेका छन् । जसको प्रभाव विद्यालयमा परेको प्रधानाध्यापक उपाध्यायले बताए । ‘अभिभावक सुविधा खोज्न सहर केन्द्रित हुन्छन्,’ प्रधानाध्यापक उपाध्यायले भने, उनीहरूसँगै बालबालिका पनि जाने भएपछि विद्यार्थी रोक्नै सकिँदैन ।’ साथै कतिपय अभिावकले बालविकासमा ल्याएर केही समय पढाएपछि निजी विद्यालयको खोजीमा दौड्ने गरेको उपाध्याले बताए । 

विद्यार्थी टिकाउन शैक्षिक सामग्री वितरण 
विद्यालयमा विद्यार्थी टिकाउन पूर्वविद्यार्थी हरिहर शर्मा, विजय रानालगायतले शैक्षिक सामग्री वितरण र कम्प्युटर खरिद गरी हस्तान्तरणसमेत गरेका छन् । विद्यालयमा अहिले तीन दरबन्दी छ सबै दरबन्दी पदपूर्ति छन् । ‘निजी स्रोतबाट पनि एकजना शिक्षक राखेका छौँ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैनसिंह रानाले भने, ‘जति आकर्षण बनाए पनि अभिभावकले चासो नदेखाएमा विद्यार्थी टिकाउन गाह्रो हुँदोरहेछ ।’  

विद्यालयले विद्यार्थी तान्ने गरी आगामी वर्षदेखि दिवा खाजाको व्यवस्था, छात्रवृत्ति प्रदान गर्नुका साथै विभिन्न आकर्षक कार्यक्रम ल्याउने घोषणा गरेको रानाले बताए । पहाडी क्षेत्र भौगोलिक हिसाबले विकट, एक घन्टाको पैदल यात्रामा सानासाना नानीलाई विद्यालय पठाउन अभिभावकलाई कठिन पर्ने हुँदा विद्यालयमा विद्यार्थीका चाप घट्दो रहेको पूर्वविद्यार्थी हरिहर शर्माले बताए । ‘हामी विद्यालयको शैक्षिक उन्नयन र विद्यार्थी टिकाउन विभिन्न अभियान सञ्चालन गरिरेका छौँ,’ शर्माले भने, यसका लागि अभिभावकको साथ चाहिन्छ ।’

मर्ज कि स्थानान्तरण गर्नेबारे अन्योल
नगरपालिकाले नगर शिक्षा बनेको छैन त्यसले विद्यालयलाई मर्ज गर्ने कि स्थानन्तरण गर्ने अन्योल छ । नगर शिक्षाप्रमुख खेम अचार्यले भने, ‘अहिले केही गर्न सक्दैनौँ । शिक्षा ऐन नआएसम्म विद्यालय जुन अवस्थामा छ सोही अवस्थामा चल्ने छ ।’ सरकारले विद्यार्थी नभएका विद्यालय मर्ज र स्थानान्तरण गर्ने भने पनि जैमिनी नगरपालिकाका विद्यालयमा भौगोलिक अवस्थाका कारण मर्ज गर्न नसकिने आचार्यले बताए । उनले विद्यालयमा विद्यार्थी र अभिभावको मन जित्न गुणस्तरीय शिक्षा हुन आवश्यक रहेको बताए । नगर क्षेत्रका विद्यालयको शिक्षामा गुणस्तर ल्याउन विद्यालयको पठनपाठन र प्रशासनमा सुधार गर्न जरुरी रहेको नगरपालिकाले जनाएको छ ।