मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अशोक पहाडी रौतहट
२०७६ असार ५ बिहीबार ११:४६:००
Read Time : > 1 मिनेट
समाचार

प्रचण्ड गर्मीले जनजीवन प्रभावित

Read Time : > 1 मिनेट
अशोक पहाडी रौतहट
२०७६ असार ५ बिहीबार ११:४६:००

गर्मीले रौटहटको जनजीवन प्रभावित बन्दै गएको छ । टन्टलापुर घामसँगै तातो हावा चलेकाले रौतहटबासीको जनजीवन कष्टपूर्ण बनेको छ । सदरमुकाम गौरको तापक्रम ४३ डिग्रीसम्म पुगेको छ । बिहान सबेरैबाट सुरु हुने गर्मीले गर्दा खासगरी ज्याला–मजदुरी र खेती–किसानी गर्नेहरू मारमा परेको गौरका स्थानीय शम्भु साहले बताए । गर्मीका कारण लु लाग्ने र बाटोमा मानिस बेहोस हुनेजस्ता समस्या देखिएको उनले बताए । 

सरकारी कार्यालय सुनसान
चर्को गर्मीका कारण सरकारी कार्यालयमा आउने सेवाग्राहीको संख्या पातलिएको छ । अत्यधिक गर्मीले जिल्लाका सरकारी कार्यालयमा सेवाग्राहीको संख्यामा कमी आएको मालपोत कार्यालय चन्द्रनिगाहपुरका नायब सुब्बा केशव भट्टराईले जानकारी दिए । अरू वेला सेवाग्राहीको चाप रहने जिल्ला प्रशासन, मालपोत तथा अन्य सरकारी कार्यालयमा समेत सेवाग्राहीको संख्या घटेको छ । 

घरबाहिर निस्कन छाडे स्थानीय
तापक्रम ४३ डिग्रीसम्म पुग्न थालेपछि अत्यावश्यक कामका लागि बाहेक अरू वेला स्थानीय दिउँसो घरबाहिर निस्कन छाडेका छन् । गर्मीका कारण झाडापखाला तथा ज्वरोका बिरामी बढेको जिल्ला अस्पताल गौरले जनाएको छ । दैनिक ५०–६० जना नयाँ बिरामी अस्पताल आउने गरेको उनले बताए । चन्द्रपुर अस्पतालका डा. सुभाष चौधरीले हिट स्ट्रक गर्मीले लु लागेर बेहोस हुने र उच्च रक्तचाप बढेपछि मस्तिष्कघात, हृदयाघात, पक्षाघात हुने खतरा रहने जानकारी दिए । गर्मीबाट जोगिन झोल पदार्थ बढी खानुपर्ने, घाममा निस्कन नहुने, खानेकुरा थोरै कानुपर्ने उनले सुझाब दिए । 

गर्मीले विद्यालय बन्द
जिल्लाभरिका सबै विद्यालयलाई बिदा दिइएको छ । विद्यालय आगामी आइतबारबाट सुरु हुनेछन् । मानिसहरूको चहलपहल कम भएपछि व्यापार व्यवसायमा समेत कमी आएको उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले बताए ।

पानीका मुहान सुके
प्रचण्ड गर्मीले पानीका मुहानसमेत सुक्न थालेका छन् । जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेको डावरीको पानीको मुहानै सुकेको छ । यसअघि कहिल्यै नसुकेको डावरीको जरुवा पानी यसपटक सुकेको स्थानीयले जानकारी दिए । जिपी उद्यानका नामले समेत परिचत डावरी पहिला–पहिला गर्मीमा नुहाउने स्थानका रूपमा परिचित थियो । स्थानीयले पशुचौपायालाई पानी खुवाउने स्थानका रूपमा समेत परिचित थियो । 

चन्द्रपुर नगरपालिका–६ मा जंगलको बीचमा रहेको सो मुहान सुक्नु राम्रो संकेत नभएको कांग्रेस जिल्ला नेता सुमन गौतमले बताए । ‘कहिल्यै नसुकेको डावरीको जरुवा पानी यसपटक सुकेको छ । यसले हाम्रो क्षेत्रमा आगामी दिनमा पानीको ठूलो संकट हुने संकेत दिएको छ,’ उनले भने, ‘अहिले नै सचेत नभए पछि ठूलै समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।’