मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७६ असार ५ बिहीबार ११:४०:००
Read Time : > 1 मिनेट
प्रदेश

ठगी आरोपमा दुई  भारतीयसहित तीन पक्राउ 

Read Time : > 1 मिनेट
मोहन विष्ट कञ्चनपुर
२०७६ असार ५ बिहीबार ११:४०:००

गैरकानुनी ढंगबाट विदेश पठाइदिन्छु भन्दै फाराम भराउने दुई भारतीय नागरिकसहित तीनजना पक्राउ परेका छन् । बेरोजगार युवालाई फारम भराइरहेकै वेला महेन्द्रनगरको ओपेरा होटेलबाट दुई भारतीय नागरिकसहित एक नेपाली पक्राउ परेका हुन् । बुधबार कञ्चनपुरका युवालाई वैदेशिक रोजगारीका लागि मरिसस देश पठाइदिने भन्दै अन्तर्वार्ता लिने क्रममा सामान्य विवरण भएको फारमसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी ज्ञानबहादुर विष्टले श्रम मन्त्रालयबाट श्रम स्वीकृत नलिएरै वैदेशिक रोजगारीका लागि अन्तर्वार्ता र फारम लिने काम गैरकानुनी भएकाले नियन्त्रणमा लिएको बताए । उनका अनुसार भारतको दिल्लीका राजेश ढाका, राजकुमार विनायक र भीमदत्त नगरपालिका–५ सुकासालका सन्तोष आउजीलाई नियन्त्रणमा लिएको बताए । प्रवक्ता विष्टका अनुसार उनीहरूले संकलन गरेका ४० फारमसमेत नियन्त्रणमा लिइएको छ । 

तीनै जनाले मरिसस सपिङ एन्ड लजिस्टक कम्पनीको लेटर प्याडमा सामान्य विवरणसहित फारम भर्न लगाएका थिए । फारम भर्न आएका युवाले रोजगारीका लागि प्रलोभन देखाएको बताएका छन् । उनीहरूका अनुसार नेपालमा मरिसस देशको दूतावास नभएकाले भारतमा स्वास्थ्य परीक्षण गर्ने बताएका छन् । ‘स्वास्थ्य परीक्षणका लागि पाँच हजार पाँच सय भारतीय रुपैयाँ तिर्नुपर्ने भनिएको थियो,’ फारम भरेका ती युवककले भने, ‘स्वास्थ्य परीक्षणमा पास भए मात्रै भिसा लाग्ने भनेका थिए ।’ वैदेशिक रोजगारीका लागि भारतीय मार्ग र भारतमा स्वास्थ्य परीक्षण गराएर नेपालबाटै मरिसस देश पठाउने काम गैरकानुनी भएको भन्दै फारम भरेका युवासमेत सशंकित थिए । रोजगारीको प्रलोभन देखाएका कारण फारम भरेको उनीहरूले बताएका छन् । 

कञ्चनपुरका प्रहरी प्रवक्ता विष्टले कम्पनीको तर्फबाटभन्दा पनि व्यक्तिमार्फत फारम भरेको बताएका छन् । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । ‘कसैले ठग्यो भनेर उजुरी दिएका छैनन्,’ प्रवक्ता विष्टले भने, ‘ठगिनबाट धेरै युवक जोगिए ।’ तीनैजनाको विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।