मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सिरहाको औरही गाउँपालिकाले कुष्ठरोग पहिचानका लागि सञ्चालन गरेको शिविरमा सहभागी हुँदै स्थानीय । तस्बिर : नयाँ पत्रिका
२०७६ असार ५ बिहीबार ११:३२:००
Read Time : > 1 मिनेट
प्रदेश

सिरहामा भेटिए पाँच नयाँ कुष्ठरोगी

Read Time : > 1 मिनेट
२०७६ असार ५ बिहीबार ११:३२:००

सिरहामा पाँचजना नयाँ कुष्ठरोगी भेटिएका छन् । दक्षिणी सीमावर्ती औरही गाउँपालिकाले कुष्ठरोग पहिचान र छालाजन्य रोगका लागि सञ्चालन गरेको शिविरमा नयाँ कुष्ठरोगी भेटिएका हुन् ।  शिविरमा पाँचजना कुष्ठरोगी भेटिएको शाखा प्रमुख उपेन्द्र यादवले जनकारी दिए । यादवका अनुसार शिविरमा छाला जाँच गराएका तीन सय ६८ जनामध्ये एक पुरुष र चार महिला गरी पाँचजना नयाँ कुष्ठरोगीको पहिचान भएको हो ।

पारिवारिक तथा सामाजिक दुव्र्यवहार र अवहेलनाको सिकार हुने डरले अझै लुकाइने कुष्ठरोग वेलैमा पहिचान गर्न गाउँपालिकाको स्वास्थ्य शाखाले शिविर चलाएको उनले जानकारी दिए । शिविरमार्फत पहिचान भएका पाँचजना कुष्ठरोगीको मंगलबार नै औरहीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्ड बनाएर औषधि सेवन सुरु गराइएको छ,’ स्वास्थ्य शाखा प्रमुख यादवले भने । त्यसबाहेक छालाका अन्य बिरामीका लागि निःशुल्क रूपमा औषधिसमेत वितरण गरिएको उनले बताए । 

औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले आर्थिक वर्ष ०७५/७६ को ससर्त अुनदानतर्फ स्वास्थ्य शाखाका लागि विनियोजन गरिएको एक लाख ५४ हजार रुपैयाँ बजेटमा कुष्ठरोग पहिचान तथा छालाजन्य रोगका लागि शिविर सञ्चालन गरिएको हो । ‘नियमित औषधि उपचारभन्दा पूर्वजन्मको पाप भन्दै दुव्र्यवहार गरिने क्रम नरोकिएकाले गाउँमै शिविर सञ्चालन गरिएको हो,’ अध्यक्ष यादवले भने । लालगढ अस्पतालका डा. प्रकृति सुवेदी, लेप्रोसी सुपरभाइजर अशोककुमार श्रेष्ठसहित ६ जना स्वास्थ्यकर्मीको टोलीले कुष्ठरोगी पहिचान र छलाजनय रोगको शिविर सञ्चालन गरिएको हो । 

चार स्थानीय तहमा कुष्ठरोगी पहिचान
स्वास्थ्य कार्यालय सिरहाका क्षयकुष्ठ अधिकृत उमेश यादवका अनुसार जिल्लाको कर्जन्हा नगरपालिका र औरही गाउँपालिकामा चालू आर्थिक वर्षमा कुष्ठरोगीका लागि शिविर सञ्चालन गरिएको छ । ‘स्वास्थ्य कार्यालयको समन्वयमा बरियारपट्टी र नवराजपुर गाउँपालिकामा दुई–चार दिनभित्रै कुष्ठरोगी पहिचानका लागि शिविर गर्दै छौँ,’ क्षयकुुष्ठ अधिकृत यादवले भने । 

रोगको पहिचान भएपछि औषधिको मात्रा पूरा गरेपछि औषधि दिने संस्थामार्फत बिल भर्पाई पेस भए यातायात खर्चस्वरूप हजार रुपैयाँ दिने व्यवस्थासमेत रहेको क्षयकुष्ठ अधिकृत यादवले उल्लेख गरे । ‘क्षयरोगीको हकमा पनि औषधिको मात्र पूरा गरी पुनः बल्झिए वा बीचमा औषधि छोडेर पुनः सुचारु गर्ने बिरामीलाई प्रतिमहिना पाँच सयको दरले आठ महिनाको एकमुष्ट चार हजार रुपैयाँ उपलब्ध गराइनेछ ।’

जिल्लामा ८९ कुष्ठरोगी 
चालू आर्थिक वर्षको फागुनसम्मको दोस्रो चौमासिकसम्म जिल्लाका विभिन्न स्थानीय तहमा गरी ८९ जना कुष्ठरोगी पहिचान भएको अधिकृत यादवले बताए । उनका अनुसार पहिचान गरिएका रोगीले नियमित रूपमा आफ्नो पायक पर्ने सरकारी स्वास्थ्य संस्थामार्फत औषधि सेवन गरिरहेका छन् । पछिल्लो आर्थिक वर्षको तथ्यांकअनुसार जिल्लाको १७ स्थानीय तहमध्ये धनगढीमाई नगरपालिकामा सबैभन्दा बढी आठ कुष्ठरोगी रहेका छन् ।

हरेक वर्ष तीन हजार थपिँदै
नेपालमा हरेक वर्ष तीन हजारका दरले कुष्ठरोगीको संख्या थपिँदै गएको जनाइएको छ । माइक्रो ब्याक्टेरियम लेप्रे नामको कीटाणुबाट सर्ने कुष्ठरोगीको संख्याका आधारमा झापा पहिलो, मोरङ दोस्रो, सुनसरी तेस्रो, सिरहा चौथो र सप्तरी पाँचौँ जिल्ला रहेको कुष्ठरोगीका लागि कार्यरत संस्था नेपाल कुष्ठरोग संगति सिरहाले जनाएको छ ।

शरीरमा रातो फुस्रो नचिलाउने दाग, अनुहार तथा कानको लोती बाक्लो हुने, नसा झमझमाउने, गिर्खा निस्किने भएमा कुष्ठरोगको लक्षण हुन सक्ने बताउँदै क्षयकुष्ठ अधिकृत यादवले समयमै जाँच गराई औषध सेवन गरे रोगसँगै अपांगता हुनबाट जोगिन सकिने उल्लेख गरे ।