मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रञ्जन भण्डारी महोत्तरी
२०७६ असार ५ बिहीबार ११:१४:००
Read Time : > 1 मिनेट
समाचार

बर्दिबासमा हात्तीआतंक

दर्जनौँ घरमा क्षति, हात्ती धपाउन रातभर जाग्राम

Read Time : > 1 मिनेट
रञ्जन भण्डारी महोत्तरी
२०७६ असार ५ बिहीबार ११:१४:००

बर्दिबास नगरपालिकाका विभिन्न वडामा हात्तीले दर्जनौँ घरमा क्षति पुर्‍याएका छन् भने बालीनालीसमेत नष्ट गरेका छन् । बर्दिबास नगरपालिकाका वडा नम्बर ३, ४, ५ र ८ हात्ती आक्रमणको सबैभन्दा बढी चपेटमा परेको छ । हात्तीआतंकका कारण वडा नम्बर ३ को राजावास र मर्काका जनता राति निदाउन सकेका छैनन् । बालीनाली हात्तीले पूर्ण रूपमा नष्ट गरिसकेका छन् भने घरहरूमा समेत क्षति पुगेको छ । ‘त्रासैत्रासमा रात बित्छ,’ स्थानीय यादव ढुंगेलले भने, ‘जाग्राम बसेर हात्ती धपाउने त अहिलेको दिनचर्या नै बनेको छ ।’

डेढ हप्तादेखि यहाँका स्थानीय सुत्न नसकेको उनले जानकारी दिए । ‘कुन वेला हात्ती आउँछ र आक्रमण गर्छ भन्ने थाहा हुँदैन । त्यसैले आगो बालेर बस्छौँ, टर्चको सहारामा गाउँका सबैजना गस्ती गर्छौँ,’ उनले भने, ‘बालबालिका र वृद्धवृद्धा सबैभन्दा धेरै डरमा बसेका छन् ।’ छिमेकी धनुषाको मिथिला नगरपालिकाका जनतासमेत त्रसित रहेको उनले बताए । 

वनले सघाएन : नगरप्रमुख
हात्तीआतंकबारे पटकपटक जानकारी गराउँदा पनि वन कार्यालयले समाधानका लागि समन्वय नगरेको स्थानीय र जनप्रतिनिधिको गुनासो छ । बर्दिबास नगरपालिकाका प्रमुख विदुर कार्कीले पटकपटक वन कार्यालयसँग समन्वय गर्दा पनि समाधान नभएको बताए । 

नगरप्रमुख कार्कीले भने, ‘वन कार्यालयसँग हात्ती व्यवस्थापन गर्न सक्ने जनशक्ति भए पनि सहायता गरेको छैन । वडाहरूबाट दिनहुँ जनताका गुनासो आइरहेका छन् । हामी आफैँ पनि चिन्तित छौँ । तर, समाधान आएन ।’ डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहले भने सेक्टर वन कार्यालय माइस्थानका इन्चार्ज जगदीश नायकको कमान्डमा ६ जनाको टोली गठन गरेर खटाइएको बताए । टोलीले प्रचारप्रसार र नियन्त्रणको कार्य गरिरहेको उनको भनाइ छ । 

हिँड्ने रुटमा बढी क्षति
झापादेखि पर्सासम्म हात्ती हिँडडुल गर्ने मार्गमा परेकाले त्यस क्षेत्रमा बढी दुःख दिने गरेको वन अधिकृत साहको भनाइ छ । ‘झापादेखि पर्सासम्म हिँडडुल गर्ने बाटो भएकाले वेलावेलामा हात्तीले यस क्षेत्रमा दुःख दिने गरेको हो,’ उनले भने, ‘अर्कोतर्फ हात्ती रक्सीको गन्धले आकर्षित हुने र मानवबस्तीमा रक्सीको प्रयोग हुने कारण पनि हात्ती बस्तीमा पस्ने गरेको हो ।’ उनले क्षति न्यूनीकरणका लागि जागरण अभियान चलाउने र हात्तीको आक्रमणबाट जोगिने उपाय सिकाउने तयारीमा आफूहरू रहेकोे जानकारी दिए । जुटको बोरामा मोबिल हाली खुर्सानीको धुलो जलाए हात्ती भाग्ने, ड्रम बजाए वा हात्तीको रुटमा ट्याक्टरलगायत ठूला आवाज दिने सवारीसाधन चलाए पनि धपाउन सकिने उनले सुझाब दिए । 

अव्यवस्थित घरले समस्या
हात्तीको आक्रमणले चालू आर्थिक वर्षमा बर्दिबासको विभिन्न वडाका ३३ घरमा क्षति पु¥याएको प्रहरी तथ्यांक छ । लाखौँ मूल्यबरावरको बालीनालीसमेत नष्ट गरेको छ । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले वनक्षेत्रमा बस्ती बसेकाले बढी क्षति हुन पुगेको बताए । पर्याप्त कानुन अभावले पनि हात्ती नियन्त्रणमा समस्या भइरहेको उनको भनाइ छ ।