मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार ५ बिहीबार ११:२३:००
Read Time : > 1 मिनेट
समाचार

धार्मिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो

Read Time : > 1 मिनेट
२०७६ असार ५ बिहीबार ११:२३:००

संखुवासभाका धार्मिक विद्यालयहरूमा विद्यार्थीहरूको आकर्षण बढ्न थालेको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारको मनकामनामा सञ्चालित श्रीहरि आध्यात्मिक गुरुकुलमा बर्सेनि विद्यार्थीहरूको संख्या बढ्दै गएको गुरुकुलका संस्थापक अध्यक्ष श्रीहरि लक्ष्मण गुरुले बताए । उनका अनुसार ०७२ सालमा सातजनाबाट सुरु भएको गुरुकुलमा अहिले २५ जना विद्यार्थी अध्ययनरत छन् । ‘आधुनिक पिढीका युवाले गुरुकुलप्रति देखाएको मोह र स्नेहले हौसिएको छु । संस्कृत पढ्न रुचाउँदैनन् भन्नेलाई यसले चुनौती दिएको छ । सँगसँगै यसलाई कसरी व्यवस्थापना गर्ने भन्ने चिन्ता पनि छ,’ गुरुले भने । 

अहिलेसम्म मुठीदान र चन्दाबाटै गुरुकुल चलिरहेको उनले बताए । ‘गुरुकुलको कोष बढाउनलाई समय–समयमा होम र पूजापाठ लगाइन्छ, चन्दादाता र मुठीदानकै भरमा चलेको छ,’ उनले भने । गुरुकुलमा अहिले काठमाडौ, मोरङ, तेह्रथुम, भोजपुर र संखुवासभाका विद्यार्थीहरूले अध्ययन गरिरहेको  लक्ष्मण गुरुले बताए । यहाँ, संस्कृतिसम्बन्धी विशेष पढाइ हुने गर्छ । 

जन्मदेखि मृत्युपर्यन्तसम्म गरिने हिन्दू संस्कारका कर्मकाण्ड, चिनाटिपन, ज्योतिषशास्त्र, व्याकरणलगायत विषयमा पढाइ हुने गरेको उनले बताए । गुरुकुलले विद्यार्थीहरूलाई निःशुल्क रूपमा खाने, बस्ने र पढ्ने सुविधा दिएको छ । 

सेकाहामा बौद्धशिक्षा 
खाँदबारी–४ सेकाहामा रहेको मकालु वरुण बौद्ध गुम्बामा बौद्धशिक्षा पढाइ हुने गरेको छ । औपचारिक रूपमा कक्षा सञ्चालन नभए पनि बौद्ध शिक्षा गुम्बामा नै जन्मदेखि मृत्युपर्यन्त गरिने क्रियाकलापहरू सिकाइने गरिन्छ । समय–समयमा सिक्ने आउनेहरू कहिले तीनदेखि ६/७ जनासम्म पनि हुने कहिले एक/दुईजना मात्रै हुने गरेको गुम्बाका रिन्जे लामा गुरुले बताए । जिल्ला शिक्षा तथा समन्वय इकाइको कार्यालय संखुवासभामा आधा दर्जनभन्दा बढी धार्मिक शिक्षालयहरू रहेको तथ्यांकमा उल्लेख छ । ती धार्मिक शिक्षालय, गुरुकुल, गुम्बा र मदरसाहरू रहेका छन् ।

कक्षा १ को अनुमति, १० सम्म पढाइ
गुरुकुलले जिल्ला शिक्षा तथा समन्वय इकाइको कार्यालय संखुवासभाबाट कक्षा १ को अनुमति लिएको छ । तर, गुरुकुलमा कक्षा १० सम्म पढाइ हुने गरेको लक्ष्मण गुरुले बताए । १ देखि कक्षा ७ सम्मको वार्षिक परीक्षा यही हुने गरेको छ भने ८, ९ र १० कक्षाको अन्तिम परीक्षा भारत बनारसको सम्पूर्णनानन्द युर्निभर्सिटीमा विद्यार्थीहरू पठाउने गरिएको छ ।

‘कक्षा ८–१० को वार्षिक परीक्षामा सहभागी गराउन बनारस लैजाने गर्दछौँ । पठनपाठन भने यहीँ हुन्छ,’ लक्ष्मण गुरुले भने, ‘अहिले मनकामनाधामको गुरुकुलमा २३ लाख रुपैयाँको अक्षयकोष पुगेको छ । चाँडै एक करोडको बनाउने लक्ष्य छ ।’

लक्ष्मण गुरुले पूर्वी पहाडी संखुवासभा जिल्लाको धार्मिक तथा पवित्र तीर्थस्थल मनकामनाधामलाई धार्मिक शैक्षिक गन्तव्य स्थल बनाउने लक्ष्यका साथ अघि बढेको बताए । उनले प्रदेश १ को १४ वटै जिल्लामा गुरुकुल शिक्षाको स्थापना गर्ने, अन्य ६ वटा प्रदेश मुकाममा गुरुकुल शिक्षालय स्थापना गर्ने लक्ष्य रहेको बताए । त्यसैगरी, खाँदबारी–३ मानेभञ्ज्याङमा रहेको पूर्णेश्वर गुरुकुलमा पनि हिन्दू धर्म र संस्कृतिसम्बन्धि पठन–पाठन हुने गरेको छ ।