मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार ५ बिहीबार १०:३१:००
Read Time : > 1 मिनेट
खेलकुद

छक्काको वर्षासँगै इंग्ल्यान्डको जित

Read Time : > 1 मिनेट
२०७६ असार ५ बिहीबार १०:३१:००

१२औँ एकदिवसीय विश्वकप क्रिकेटमा लगातार वर्षाका कारण निराश भइरहेका दर्शक मंगलबार इंग्लिस ब्याट्सम्यानका अहिलेसम्मकै विस्फोटक ब्याटिङ देख्दा दंग परेका छन् । विश्वकप इतिहासमै एक ब्याट्सम्यानले धेरै छक्का प्रहार गरेको, एक बलरले सर्वाधिक छक्काको सामना गरेको तथा एक टोलीले इनिङमा अहिलेसम्मकै धेरै छक्का प्रहार गरेको खेल म्यानचेस्टको मैदानमा देख्न पाउँदा दर्शक रोमाञ्चित भएका छन् । आयोजक इंग्ल्यान्डले यी सबै रेकर्ड दोस्रोपटक विश्वकप खेलिरहेको अफगानिस्तानविरुद्ध बनाएको हो । 

अफगानिस्तान एक सय ५० रनले पराजित
विश्वकपको २४औँ खेलमा कप्तान इयोन मोर्गानको कीर्तिमानी शतकीय इनिङसँगै इंग्ल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ९७ रन बनायो । प्रत्युत्तरमा अफगानिस्तानले पहिलोपटक विश्वकपमा ५० ओभर ब्याटिङ गर्दै आठ विकेट गुमाएर दुई सय ४७ रन जोड्यो । खेलमा इंग्ल्यान्ड एक सय ५० रनले विजयी भयो । इंग्ल्यान्डले अफगानिस्तानविरुद्ध बनाएको योगफल छैटौँ ठूलो हो । 

मोर्गानको कीर्तिमानी ब्याटिङ
मोर्गान तेस्रोक्रममा ब्याटिङ गर्न आउँदा इंग्ल्यान्ड २९.५ ओभरमा १६४/२ को अवस्थामा थियो । मोर्गानले क्रिजमा आउनासाथ छक्काको सुरुवात गरे । उनले जोए रुटसँग तेस्रो विकेटका लागि एक सय ८९ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई ४६.४ ओभरमा ३५३/३ को बलियो अवस्थामा राखे । यसक्रममा मोर्गानले आफ्नो शतकीय इनिङ केवल ५७ बलमै पूरा गरे । इनिङमा सर्वाधिक १७ छक्का प्रहार गरेका मोर्गानले केवल चारपटक मात्र चौका ठोके । गुल्बदिन नैबको ओभरमा रहमत साहबाट क्याचआउट हुनुअघि उनले एक सय ४८ रन जोडे ।

बेरिस्टो र रुट आक्रामक
इंग्ल्यान्डले सुरुवातमा सुस्त गतिमा रन बनाएको थियो । जोनी बेरिस्टो र रुटले अफगानिस्तानी बलरविरुद्ध बिस्तारै रनको गति बढाए । बेरिस्टो र रुटले दोस्रो विकेटका लागि एक सय २० रन जोडेका थिए । बेरिस्टोले ९९ बलमा आठ चौका र तीन छक्का प्रहार गरी ९० रन बनाए । रुटले प्रतियोगितामा लगातार अर्धशतकीय इनिङ खेल्दा ८२ बलमा ८८ रन जोडे । उनले यसक्रममा पाँच चौका र एक छक्का ठोके । इनिङको अन्त्यतिर मोइन अलीले केवल नौ बलमै चार छक्का र एक चौकाको सहयोगमा ३१ रन बटुले ।

आचर र रसिद जमे
बलिङका क्रममा इंग्ल्यान्डका जोफ्रा आचर र आदिल रसिद जमे । दुवैले समान तीन विकेट हात पारे । आचरले ५२ रन तथा रसिदले ६६ रन खर्चिए । अफगानिस्तानको ब्याटिङमा हसमतुल्लाह साहिदीले सर्वाधिक ७६ रन बनाए । उनले सय बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । यसैगरी, अस्घर अफगानले ४४ तथा रहमत साहले ४६ रन जोडे ।