१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ असार ५ बिहीबार ०९:३०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

अनेक कारणले हुन्छ टाउको दुखाई

Read Time : > 1 मिनेट
२०७६ असार ५ बिहीबार ०९:३०:००

टाउकोको कुनै भागमा महसुस हुनेगरी दुख्नुलाई सामान्यतया टाउको दुखेको भनिन्छ । मस्तिष्कको आवरण, धमनी र मांसपेशीमा हुने पीडा नै टाउको दुख्नु हो, जुन संवेदनशील हुन्छ । टाउको दुख्नु साझा समस्याजस्तै भइसकेको छ । अधिकांश मानिसले आजकल कहीँ न कहीँ टाउको दुखिरहेको गुनासो गर्छन् । विभिन्न प्रकारले टाउको दुख्ने गर्छ । टाउको दुखाइलाई मेडिकल भाषामा प्राइमरी र सेकेन्डरी हेडेकगरी दुई भागमा वर्गीकरण गरिएको छ । यसमध्ये पनि प्राइमरी हेडेकका तीन उपविभाजन छन् । 

 टेन्सन हेडेक
यो सामान्य खालको टाउको दुखाइ हो । टाउको दुख्ने मानिसमध्ये करिब ६५ प्रतिशतमा तनावका कारण टाउको दुख्ने गर्छ । जति तनाव बढ्दै जान्छ, त्यति मात्रामा टाउको कसिएको जस्तो महसुस हुन्छ । टेन्सन हेडेक दुई–तीन दिनसम्म रहन सक्छ । रमाइलो माहोल वा अलिकति शान्त स्थानमा गएमा टेन्सेन हेडेक आफैँ ठीक भएर जान्छ । धेरै समयसम्म रहिरह्यो भने टाउको दुखाइ कम गर्ने औषधि र थेरापीमार्फत उपचार गर्न सकिन्छ । यस्तो खालको दुखाइ एन्टिमाइग्रेनल औषधिको सेवनबाट निर्मूल पार्न सकिन्छ ।  

माइग्रेन
टाउको दुख्ने समस्या लिएर आउनेमध्ये कतिपयमा बिरामीमा माइग्रेन भएको पाइन्छ । यो निकै कडा खालको दुखाइ हो । तीनदेखि ७२ घन्टासम्म दुखाइ हुन सक्छ । माइग्रेन हुनुभन्दा अगाडि औडाहा हुने गर्छ ।  यसमा टाउकाको कुनै एक भागमा दुख्ने गर्छ । वाकवाकी लाग्ने, बान्ता हुने तथा उज्यालोमा हेर्न असहज हुनेजस्ता समस्या हुन्छन् । माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखिने गर्छ । सामान्यतया ६ जना महिलामध्ये एकमा माइग्रेनको समस्या हुन सक्छ भने २० जना पुरुषमध्ये एकमा यसको समस्या हुन्छ ।

माइग्रेन भए वाकवाकी र रिंगटा लाग्नेजस्ता लक्षण देखिन्छन् । बिस्तारै सहन नसकिने गरेर टाउको दुख्ने गर्छ । माइग्रेन खासगरी अनिद्रा, घाममा हिँड्दा, भोक लाग्दा, प्रदूषण, तथा महिलामा महिनावारी हुनुभन्दा अघि वा पछि तथा ठूलो भिडभाडजस्ता कारणले हुने गर्छ । कतिपयमा वंशाणुगत गुणमा कारणसमेत माइग्रेन हुन्छ ।  
औषधिको सेवनबाट माइग्रेन नियन्त्रण गर्न सकिन्छ । कतिपयमा छोटो समयमा नै धेरैपटक माइग्रेन हुने भएकाले निकै असर पर्ने गर्छ । तसर्थ सुरुवातीको चरणमै चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ । लगातार ६ महिनासम्म औषधि प्रयोग गर्न सकिन्छ । 

 कलस्टर
दिमागमा रहेको हाइपोथाइलोरस तन्तुसँग जोडिएको हुनाले हरेकपटक एउटै समयमा मात्र टाउको दुखाइ हुने गर्छ । अर्थात् यदि कुनै व्यक्तिमा वर्षायामको बीचतिर टाउको दुख्ने समस्या छ भने अको वर्ष पनि सोही समयमा सो समस्या देखिन्छ । यो एक महिनासम्म रहन सक्छ । यो अचानक टाउको दुख्ने समस्या हो, जुन लगातार ३ देखि ४ घन्टासम्म रहन सक्छ । यो निकै कडा खालको दुखाइ भएकाले आँखा रातो हुने, आँसु बग्ने तथा नाकबाट पानी बग्ने, छटपटी हुने हुन्छ ।

सेकेन्डरी हेडेक
दिमागमा कुनै खालको ट्युमर, संक्रमण भएमा, दाग र नसा फुटेर प्रेसर बढेमा सेकेन्डरी हेडेक हुने गर्छ । यो निकै कम मानिसमा हुने समस्या हो । जो निकै घातक हुने भएकाले कारण पत्ता लगाएर सकेसम्म छिटो उपचार गर्नुु आवश्यक हुन्छ । 

रोकथाम र उपचार

  •  टाउको दुख्ने सामान्य समस्या हो भन्ने अधिकांशमा भ्रम छ । टाउको दुखाइ अन्य रोगको लक्षण हुने भएकाले समयमै परीक्षण गर्नुपर्छ । सामान्य खालको टाउको दुखाइले पनि स्वास्थ्यमा गम्भीर समस्या ल्याउन सक्ने भएकाले समयमै उपचार गर्नुपर्ने हुन्छ ।
  •  टाउको दुख्यो भन्दैमा जथाभावी पेनकिलरको प्रयोग गर्नुहुँदैन । जसले स्वास्थ्यमा अन्य असर पार्न सक्ने भएकाले चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्नुपर्छ ।