मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोना एल्टहावी काठमाडाैं
२०७६ असार ५ बिहीबार ०८:५१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

मोहम्मद मोर्सीलाई दिइएको मृत्युदण्ड

Read Time : > 3 मिनेट
मोना एल्टहावी काठमाडाैं
२०७६ असार ५ बिहीबार ०८:५१:००

इजिप्टको राजनीति स्वाभाविक रूपमा अघि बढेको भए  मोहम्मद मोर्सी उक्त मुलुकको पहिलो निर्वाचित राष्ट्रपति हुने थिएनन् । एक वर्ष मात्र टिकेको उनको राष्ट्रपतिकालमा  कैयन् इजिप्टेली ठट्टा गर्दै उनलाई ‘स्पेयर टायर (जगेडा टायर)’ भन्थे । किनकि उनी मुस्लिम ब्रदरहुडको पहिलो छनोटको उम्मेदवार प्राविधिक कारणले निर्वाचन लड्न अयोग्य ठह-याइएपछि ती व्यक्तिको स्थानमा अन्तिम समयमा राष्ट्रपतिको उम्मेदवार बनेका थिए ।

अचानक सत्ता आइलागेकाले मोर्सीले त्यसलाई राम्रोसँग चलाउन सकेनन् । धान्न सकिनेभन्दा ठूलो जिम्मेवारी उनलाई दिएको जस्तो देखिन्थ्यो । राष्ट्रपति पद सम्हालेको लगभग छैटौँ वर्षको सेरोफेरोमा उनलाई चुप लगाउने उद्देश्यले राखिएको कठघरामा उनको मृत्यु भएको छ । मृत्युको खबर आउनुअघि मोर्सी सार्वजनिक चर्चाको विषय हुन छाडिसकेका थिए ।  मोर्सीलाई उनको परिवार र मानव अधिकारकर्मीबाहेक अरूले लगभग बिर्सिएका थिए । 

इजिप्टको अदालत कक्षमा आरोपीलाई पिँजडाजस्तो कठघरामा राखिन्छ । यस्तो अपमान नियतवश गरिन्छ । राजनीतिक रूपले अभिप्रेरित तीनवटा अलग मुद्दा सुनुवाइबाट मोर्सीलाई ४५ वर्षभन्दा बढीको जेल सजायँ सुनाइएको थियो । सत्ताच्युत भएदेखि नै मोर्सीलाई कारागारमा अलग्गै थुनेर राखिएको थियो । परिवारलाई समेत उनले तीनपटक मात्र भेट्न पाएका थिए । यहाँसम्म कि उनलाई अत्यावश्यक चिकित्सकीय सुविधाबाट समेत वञ्चित गरिएको थियो ।  उनलाई मधुमेह, उच्च रक्तचाप र कलेजोको रोग थियो । उनका वकिलले धेरै पहिलेदेखि ती रोग मोर्सीको मृत्युको कारण हुन सक्ने चेतावनी दिँदै आएका थिए । 

मोर्सीको सत्तारोहणको बाटो इजेप्टेली क्रान्तिले खोलेको थियो । त्यस क्रान्तिपछिका प्रत्येक दिन म इजिप्टका अर्का पूर्वराष्ट्रपति होस्नी मुबारकको ओविच्युअरी (श्रद्धाञ्जली) कसरी लेख्ने भन्ने सोचिरहेको थिएँ । उमेरले ९१ वर्षका मुबारक पहिले मर्छन् भन्ने ठान्नु त्यति अस्वाभाविक पनि होइन । यद्यपि मुबारकभन्दा पहिले ६७ वर्षे मोर्सीको निधन भएको छ । मोर्सीको मृत्यु भइसक्दा उता पूर्वतानाशाह मुबारक भने जीवित मात्र छैनन्, उनले स्वतन्त्र रूपमा हिँड्डुलसमेत गर्ने अवसर पाइरहेका छन् । ती दुईको फरक नियतिले अहिलेको इजिप्टले अवस्थाको विम्ब हो । 

मोर्सीको शासनकाल उनी स्वयंले गरेका र अन्य उनले नगरेका कामका कारणले विवादमा आइरह्यो । उनी राष्ट्रपति हुँदा कैयन् पुरातन शक्ति उनीविरुद्ध लागिपरेका थिए । सन् २०१२ को दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनको दुई दिनअघि मात्र इजिप्टको सर्वोच्च अदालतले देशको इस्लामिक राजनीतिज्ञको बाहुल्य रहेको संसद् भंग गरिदिएको थियो । अदातलका अधिकांश न्यायाधीश भर्खरै अपदस्थ तानाशाह होस्नी मुबारकको ३० वर्षे शासनकालमा मनोनीत गरिएका थिए । पुरानो सत्ताका बफादारहरूले चालेका यस्ता शक्ति प्रदर्शनले मोर्सीका भावी दिन कठिन हुने संकेत गरेका थिए । 

तर, यसको मतलब मोर्सी दोषमुक्त थिए भन्ने होइन । शासनमा रहँदा मोर्सीले मुस्लिम उग्रतालाई संस्थागत गर्ने सबैभन्दा ठूलो गल्ती गरेका थिए । हुन त उनलाई राष्ट्रपति निर्वाचित गर्न सहयोग गरेकाले मुस्लिम ब्रदरहुड आभियानलाई सघाउने उनको इच्छा हुन सक्थ्यो । तर, मुस्लिम ब्रदरहुडप्रतिको इमानदारीले उनले आफूले निर्वाह गर्नुपर्ने संक्रमणकालीन राष्ट्रपतिको जिम्मेवारीप्रति कम गम्भीर भए ।

मोर्सी शासनको सबैभन्दा ठूलो असफलता सन् २०१२ नोभेम्बरमा आयो, त्यसवेला उनले राष्ट्रपतिको हातमा  असीमित शक्ति केन्द्रित गरे । त्यसमार्फत उनी इस्लामिक विचारधारा राख्नेको बाहुल्य भएको सभामार्फत नयाँ संविधान निर्माण गर्ने सुनिश्चितता गर्न चाहन्थे । मोर्सीलगत्तै अर्को अध्यादेशमार्फत थप अधिनायकवादी बाटोमा अघि बढे, सेनालार्ई राष्ट्रिय संस्थान र निर्वाचन केन्द्रको सुरक्षा गर्ने अधिकार प्रदान गरियो । मोर्सीले जनताको साटो सेनाको पक्ष लिएकोमा इजिप्टेली क्रान्तिका समर्थकले आलोचना पनि गरे । यस घटनापछि सन् २०१३ जुन ३०मा दसौँ लाख इजेप्टेली मोर्सीको राजीनामा माग्दै सडकमा निस्किए । तीन दिनको विरोध प्रदर्शनपछि मोर्सी आफैँले सेना प्रमुखको रूपमा पदोन्नति गरेका अब्देल फताह अल–सिसीबाट अपदस्थ हुनुप-यो । 

सन् २०१५ मा मोर्सीमाथिको मृत्युदण्ड सजाय उल्ट्याइएको थियो । इजिप्टको सैन्यसरकार मोर्सी सहिदको रूपमा सम्झिइनेमा भयभीत थियो ।

जनताबाट चुनिएका मोर्सी र क्रान्तिबाट हटाइएका तानाशाह होस्नी मुबारकलाई आकाश–पातालको फरक व्यवहार गरियो । मोर्सीलाई अलेक्जेन्ड्रियाको अत्यन्त कडा सुरक्षा पहरा भएको जेलमा हालियो भने मुबारकको मुद्दालाई भने ‘न्याय प्रक्रिया’मार्फत अघि बढाइयो । मुबारकलाई कुनै जेलमा राखिएन । मुबारकलाई सेना नेतृत्वको सरकारले पनि सम्मानपूर्वक व्यवहार गर्ने गरेको छ, मानौँ मुबारक कुनै समय हवाई सेनाको प्रमुख भएको वर्तमान सरकारले बिर्सिएको छैन ।

मुबारकमाथि अहिले राज्य कोषको दुरुपयोगको आरोपमा मात्र मुद्दा चलिरहेको छ । उनलाई ११ दिने क्रान्तिको समयमा नौ सयजनाको हत्याका लागि कहिले पनि जिम्मेवार ठह-याइएन । हुन त मोर्सी पदच्युत भएपछि अल–सिसीको सरकारले एकै दिनमा कम्तीमा आठ सय १७ जनालाई मा-यो । सन् २०१३ अगस्ट १४ मा मुस्लिम ब्रदरहुड समर्थक कायरोका दुई स्थानमा बसिरहेको धर्नामाथि हिंस्रक रूपमा प्रस्तुत हुँदा इजिप्टको इतिहासमै एकै दिन सबैभन्दा धेरै मानिसको ज्यान गयो । न त इजिप्टले यस हत्याकाण्डको अनुसन्धान गरेको छ, न उसका पश्चिमी मित्रशक्तिले उक्त बर्बर घटनालाई सम्झन चाहेका छन् । 

अल–सिसी शासनले मोर्सीको अन्त्येष्टि कडा सुरक्षामाझ कायरोमा गरायो । यस्तो प्रबन्धले अल–सिसी प्रशासनको सुरक्षा अभाव दर्शाउँछ । सन् २०१५ मा मोर्सीको मृत्युदण्ड सजायँ उल्ट्याइएको थियो । इजिप्टको सैन्य सरकार मोर्सी सहिदको रूपमा सम्झिइनेमामा भयभीत थियो । तर, सरकारको क्रूरताका कारण अहिले मोर्सीको जसरी मृत्यु भएको छ, त्यसबाट उनी सहिदकै रूपमा सम्झिइने सुनिश्चितता गरेको छ ।

एकजना व्यक्ति ६ वर्ष लामो निरन्तरको क्रूरतापछि आवाज नआउने कठघरामा ढलेर बित्छ भने त्यसलाई कसरी बुझ्ने ? मोर्सीको मृत्युदण्ड उल्ट्याइएको थियो । तर, अदालतमा भएको उनको मृत्युलाई सुस्त रूपमा दिइएको मृत्युदण्ड मान्न सकिने कि नसकिने ? अल–सिसीले इजिप्टका कारागार ६० हजार राजनीतिक कैदीबन्दीले भरेको छ । जेलमा नराखिएका राजनीतिक विपक्षीलाई यातना दिइएको छ, बिरामी पारिएको छ र उनीहरूलाई राम्रो चिकित्सकीय सेवाबाट वञ्चित गरिएको छ । यीमध्ये कतिलाई सुस्त मृत्युदण्ड दिएको मान्ने ? 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य
(मोना एल्टहावी अरब र मुस्लिम मुद्दा तथा विश्वव्यापी नारीवादबारे प्रखर वक्ता हुन्)