मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार ५ बिहीबार ०८:१४:००
Read Time : > 1 मिनेट
अर्थ

मूल्यवृद्धि ५.३ प्रतिशत, रेमिट्यान्स सवा ७ खर्ब

Read Time : > 1 मिनेट
२०७६ असार ५ बिहीबार ०८:१४:००

खाद्य तथा पेय पदार्थको भाउ अकासिएको छ । नेपाल राष्ट्र बैंकको १० महिनाको तथ्यांकले उपभोग्य वस्तुको मूल्य वृद्धि उच्च देखाएको हो । यस अवधिमा समग्र उपभोक्ता मूल्य वृद्धि ५.३ प्रतिशत पुगेको छ । गत वर्ष दश महिनामा उपभोक्ता मूल्य वृद्धि ४.१ प्रतिशत थियो । समग्र मूल्य वृद्धि १.२ बिन्दु प्रतिशतले बढ्दा खाद्य तथा पेय पदार्थको मूल्य भने १.५ बिन्दु प्रतिशतले बढेको हो ।

वैशाख महिनासम्ममा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिदर ४.७ प्रतिशत पुगेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यस्तो मूल्य वृद्धिदर १.५ बिन्दु प्रतिशतले बढी हो । गत वर्षको दश महिनामा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि ३.२ प्रतिशत थियो ।

राष्ट्र बैंककाअनुसार खाद्यान्नको मूल्य वृद्धि ५.५ प्रतिशत र तरकारीको ६.३ प्रतिशत रहेको छ । त्यस्तै, माछामासुको मूल्य वृद्धि ४.७ प्रतिशत र तथा घ्यु–तेलको मूल्य वृद्धि ८.२ प्रतिशत रहेको छ ।
 
गैरखाद्यको मूल्य वृद्धि ५.८ प्रतिशत
समीक्षा अवधिमा गैरखाद्य वस्तुको मूल्य १ बिन्दु प्रतिशतले बढेर ५.८ प्रतिशत पुगेको छ । गत वर्षको दश महिनामा गैरखाद्य वस्तुको मूल्य वृद्धि ४.८ प्रतिशत रहेको थियो । यस अवधिमा घरायसी सेवा तथा उपयोगिताको मूल्य वृद्धि ७.१ प्रतिशत, लुगा तथा जुत्ताको ७ प्रतिशत, यातायातको ५.९ प्रतिशत र फर्निचर तथा घरायसी उपकरणको मूल्य वृद्धि ५.७ प्रतिशत रहेको छ । 

काठमाडौंको मूल्य वृद्धिदर बढी
केन्द्रीय बैंकको तथ्यांकले काठमाडौंको मूल्य वृद्धिदर सबैभन्दा बढी छ । मूल्य वृद्धि भने हिमाली क्षेत्रमा बढी देखिएको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै मूल्य वृद्धि हिमाली क्षेत्रमा ६.१ प्रतिशत र सबैभन्दा कम तराई क्षेत्रमा ४.९ प्रतिशत रहेको छ । अघिल्ला वर्ष हिमालको मूल्य वृद्धि ६.३ र तराईको ४ प्रतिशत रहेको थियो । काठमाडौं उपत्यकाको मूल्य वृद्धि ६.०५ प्रतिशत रहेको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.७५ प्रतिशतले बढी हो । त्यस्तै, पहाडी क्षेत्रको मूल्य वृद्धि ०.७ बिन्दु प्रतिशतले बढेर ५ प्रतिशत पुगेको छ । 

बाह्य क्षेत्र अझै कमजोर
समीक्षा अवधिमा पनि मुलुकको बाह्य क्षेत्र कमजोर नै देखिएको छ । वस्तु व्यापार घाटा १९.७ प्रतिशतले बढेर १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । खुद सेवा आय ९ अर्ब ४६ करोडले घाटामा छ । पुँजीगत ट्रान्सफर र प्रत्यक्ष वैदेशिक लगानी क्रमशः ४७ करोड र ६ अर्ब ४ करोडले घटेको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर १३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब ४७ करोड रहेको छ । यद्यपि, रेमिट्यान्स आय भने १९.६ प्रतिशतले वृद्धि भई ७ खर्ब २५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ९२ अर्ब ५ करोड रहेको थियो । बाह्य क्षेत्र कमजोर भएका कारण समग्र शोधानान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोडले घाटामा रहेको थियो ।