१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार ५ बिहीबार ०७:५०:००
Read Time : > 3 मिनेट
सेयर बजार

‘पर्ख र हेर’को अवस्थामा लगानीकर्ता

Read Time : > 3 मिनेट
२०७६ असार ५ बिहीबार ०७:५०:००

बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ । दैनिकजसो नेप्से र कारोबार रकममा कमी आएपछि लगानीकर्ताहरू ‘पर्ख र हेर’को रणनीति अपनाउन बाध्य भएका छन् । लगानीकर्ता विशेषगरी अहिले मौद्रिक नीतिको पर्खाइमा छन् । मौद्रिक नीतिले बजार विस्तार तथा सुधारका लागि नयाँ नीति ल्याउने लगानीकर्ताको अपेक्षा छ । सकारात्मक अपेक्षा भए पनि यकिन गर्न नसकेका कारण लगानीकर्ताले सो रणनीति अपनाएका हुन् । बजारमा अहिले चर्को मोलमोलाइ भइरहेको एक ब्रोकरले बताए । पछिल्ला केही दिनमा बजारमा बिक्रीकर्ताभन्दा बढी खरिदकर्ताको चाप रहेको छ । खरिदकर्ता बढी मूल्य तिर्न तयार नरहेको र बिक्रीकर्ताले सस्तोमा सेयर बिक्री गर्न नचाहेका कारण कारोबार म्याच हुन नसकेको उनको भनाइ छ । त्यसैले दैनिक कारोबार रकममा कमी आएको हो । 

बजार सारांश : नेप्से परिसूचक बुधबार शून्य दशमलव २० अंक घटेर १ हजार २ सय ५८ दशमलव ४६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव २३ अंक बढेर २ सय ७० दशमलव ५२ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव शून्य ५ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स स्थिर रहेको छ । यस दिन १ सय ६९ कम्पनीको ४ हजार ४ सय २८ पटकको कारोबारमा ३० करोड ४१ लाख ८९ हजार ६ सय ४५ रुपैयाँबराबरको ९ लाख ८० हजार ९ सय १९ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ३६ दशमलव २७ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ७८ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६९ कम्पनीमध्ये ५८ कम्पनीको सेयरमूल्य बढेको छ भने ७४ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३७ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिनको पिभट विश्लेषण गर्दा बिहीबार नेप्से ओरालो लागे १ हजार २ सय ५६ दशमलव शून्य ८ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार २ सय ६१ दशमलव ४८ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार २ सय ५३ दशमलव ७० बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार २ सय ६४ दशमलव ५० बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिन नेप्सेको पिभट बिन्दु १ हजार २ सय ५९ दशमलव १० रहेको छ । 

मल्टीपर्पोजको सेयरमूल्यमा सर्किट
यस दिन कारोबारमा आएको मल्टीपर्पोज फाइनान्स लिमिटेडको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेर सकारात्मक सर्किट लागेको छ । कम्पनीले १ बराबर ८ दशमलव ६४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न तयारी गरिरहेको छ । सोही कारण लगानीर्ता यस कम्पनीतर्फ आकर्षित भएका हुन् । यस दिन उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य ६ दशमलव ५१ प्रतिशत बढेको छ भने कालिका पावर कम्पनी लिमिटेडको सेयरमूल्य ५ दशमलव ४३ प्रतिशत बढेको छ । अन्य कम्पनीको सेयरमूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । बजार सामान्य अंक घटेका कारण सेयरमूल्य घटेका कम्पनीहरूको दर पनि कम नै रहेको छ । यस दिन कुनै पनि कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेन । घलेम्दी हाइड्रो, समता माइक्रोफाइनान्स, सिभिल लघुवित्त र ङादी हाइड्रो डेभलोपर्सको सेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी बढेको छ । 

५ समूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने ६ समूहको परिसूचक घटेको छ । वित्त समूहको परिसूचक यस दिन शून्य दशमलव ४७ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक र अन्य समूहको परिसूचक यस दिन शून्य दशमलव ३४ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव २९ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव २३ प्रतिशत बढेको छ । कारोबारमा आएको निर्जीवन समूहको परिसूचक यस दिन शून्य दशमलव ५७ प्रतिशत घटेको छ । म्युचुअल फन्ड समूहको परिसूचक यस दिन शून्य दशमलव ३१ प्रतिशत, होटेल समूहको शून्य दशमलव १७ प्रतिशत, जलविद्युत्् समूहको शून्य दशमलव १४ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव १२ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ । 

एनआइसी एसियाको सर्वाधिक कारोबार
यस दिन कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ सय ५० पटकको कारोबारमा २ करोड १७ लाख ५४ हजार रुपैयाँबराबरको ४६ हजार ७ सय ८९ कित्ता सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी प्रभु बैंकको कारोबार रकम २ करोड नाघेको छ भने नेपाल बैंक, नेपाल इन्भेष्टमेण्ट बैंकको संस्थापक सेयर, तारागाउँ रिजेन्सी होटेल, नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट्को कारोबार रकम १ करोड नाघेको छ । सेयर संख्याका आधारमा यस दिन प्रभु बैंक अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा अपर तामाकोसी हाइड्रोपावर अगाडि रहेको छ । प्रभु बैंकको यस दिन ७६ हजार २ सय ६६ कित्ता सेयर किनबेच भएको छ । यस दिन अपर तामाकोसीको १ सय ९१ पटक सेयर कारोबार भएको छ । 

कर्पोरेटको साधारणसभा
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले असार २७ गते बैंकको शाखा कार्यालय घन्टाघर, वीरगन्जमा एघारौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा मर्जर अथवा एक्विजिसन गर्ने, वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । असार ३ गतेभन्दा अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीको सूचीलाई साधारणसभाका लागि बैंकले आधिकारिक सूची मान्नेछ । 

प्रभुको ऋणपत्रलाई एल त्रिपल बी रेटिङ
इक्रा नेपालले प्रभु बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्राएनपी एल त्रिपल बी रेटिङ दिएको छ । यसले बैंकको ऋणपत्रमा मध्यम जोखिम रहेको संकेत गर्दछ । साथै, इक्राले इक्राएनपी आइआर त्रिपल बी रेटिङ दिएको छ । यसले बैंकको क्रेडिट क्वालिटी मध्यम रहेको संकेत गर्दछ । 

बैंकले १० वर्ष अवधिका १० लाख कित्ता ऋणपत्र वार्षिक १० प्रतिशत ब्याजदरमा निष्कासन गर्नेछ । सोमध्ये ४ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ भने बाँकी ६ लाख कित्ता व्यक्तिगत तवरले बिक्री गरिनेछ । ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । हाल १ सय ६९ शाखा कार्यालयबाट सेवा दिइरहेको यस बैंकको निक्षेप आकर्षक रहेको इक्राले बताएको छ । साथै, दक्ष सञ्चालक समिति र सिनियर व्यवस्थापन समितिले बैंकको विकास र विस्तारका कार्य अघि बढाइरहेका छन् ।

वित्तीय अवस्था कमजोर भएका र खराब कर्जा उच्च भएका बैंकहरूलाई मर्ज गरेर पनि समग्र अवस्थामा सुधार र विकास हुनुलाई इक्राले सकारात्मक पक्षका रूपमा लिएको छ । अघिल्ला वर्षको तुलनामा निष्क्रिय कर्जा बढे पनि इन्डस्ट्री एभरेज (१ दशमलव ४८ प्रतिशत) भन्दा बढी भएका कारण रेटिङमा नकारात्मक प्रभाव पारेको छ । बैंकको सबैभन्दा धेरै निक्षेप संकलन गर्ने २० जनाको हिस्सा २३ प्रतिशत रहेको छ भने सबैभन्दा धेरै ऋण लगानी भएको २० जनाको हिस्सा २१ प्रतिशत रहेको छ ।