१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रथम महिला मेलानिया टम्पसँग बुधबार क्यालिफोर्नियाको ओरलेन्डो सहरमा चुनाबी र्‍याली सुरुवात गर्दै । तस्बिरः एपी/रासस
२०७६ असार ५ बिहीबार ०७:४०:००
Read Time : > 1 मिनेट
विश्व

राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिने ट्रम्पको घोषणा

Read Time : > 1 मिनेट
२०७६ असार ५ बिहीबार ०७:४०:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा रिपब्लिकनका तर्फबाट पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । घोषणासँगै ट्रम्पले थप चार वर्षको कार्यकालका निम्ति आफ्नो चुनाव प्रचार अभियानको औपचारिक थालनी गरेका छन् ।फ्लोरिडामा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले सबैलाई एकजुट हुन आग्रह गरे । फ्लोरिडालाई ट्रम्पले आफ्नो दोस्रो घर बताउँदै आएका छन् । ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प पनि फ्लोरिडा पुगेकी थिइन् । उनले आफू ६ वर्षसम्म प्रथम महिला बन्न इच्छुक रहेको बताइन् । र्‍यालीमा उपराष्ट्रपति माइक पेन्स, प्रेस सेक्रेटरी सारा स्यान्डर्सलगायत ह्वाइटहाउसका वरिष्ठ अधिकारीले सम्बोधन गरेका थिए । 

‘अमेरिकाको दोस्रो राष्ट्रपतिको कार्यकालको औपचारिक अभियानको सुरुवात गर्न आज तपाईंहरूसमक्ष उपस्थित भएको छु,’ ट्रम्पले आफ्ना समर्थकलाई भने, ‘हामी अमेरिकालाई महान् बनाइराख्नेछौँ ।’ अघिल्लो राष्ट्रपति निर्वाचनमा फ्लोरिडाबाट ट्रम्पले झिनो मतान्तरले जितेका थिए । ‘अमेरिकालाई हामी निरन्तर महान् बनाउनेछाैं,’ ट्रम्पले भने । ट्रम्पलाई काउन्टर दिन विपक्षीहरूले ट्रम्पको कार्यक्रम स्थलनजिकै विरोध प्रदर्शन गरेका थिए ।

के भने ट्रम्पले ?
करिब ८० मिनेट लामो भाषणमा ट्रम्पले दोस्रो कार्यकालका लागि आफूलाई पुनः निर्वाचित गर्न आग्रह गरे । अवैध आप्रवासीलाई देश निकाला गर्नुपर्ने आफ्नो प्रतिबद्धतालाई ट्रम्पले पुनः दोहोर्‍याए । एक दिनअघि मात्र ट्रम्पले ट्विट गर्दै अमेरिकामा रहेका सूचीकृत नभएका सबै आप्रवासीलाई ‘देश निकाला गरिने’ चेतावनी दिएका थिए । 

‘हाम्रो देश आपराधिक समूहका लागि नभएर कानुनको पालना गर्ने नागरिकका लागि आश्रय बनोस्,’ फ्लोरिडामा आफ्ना समर्थकमाझ ट्रम्पले भने । उनले देशले सबभन्दा पहिले उसका नागरिकको हेरविचार गर्नुपर्ने बताए । ‘अमेरिकी सपना’ अझ ठूलो र बलियो बनेको उनको भनाइ थियो । केही दिनअघि एक अमेरिकी अधिकारीले अमेरिका छाड्न निर्देशन दिइएका सबै आप्रवासीले परिवारसहित देश छाड्नुपर्ने बताएका थिए ।

विपक्षीको कटाक्ष
प्रायः सबै र्‍यालीमा विपक्षी डेमोक्र्याटिकको आलोचना गर्दै आएका ट्रम्पले फ्लोरिडाको कार्यक्रममा पनि उनीहरूको चर्को विरोध गरे । निर्वाचनमा मत पाउने प्रलोभनमा डेमोक्र्याटले गैरकानुनी आप्रवासीलाई वैधता दिन खोजेको आरोप उनले लगाए । डेमोक्रयाटले देशलाई विखण्डतर्फ बढाएको उनले आरोप लगाए । चुनावअघिका प्रारम्भिक सर्वेक्षणहरूले ट्रम्पले डेमोक्रयाटिक पार्टीका उम्मेदवारबाट कडा चुनौती सामना गर्नुपर्ने देखाएका छन् । विपक्षीलाई ट्रम्पले उग्र वामपन्थी समूह भएको बताउँदै उनीहरूले अमेरिकामा समाजवाद ल्याउन खोजेको टिप्पणी गरे । 

‘सन् २०२० मा कुनै पनि डेमोक्रयाटका उम्मेदवारलाई मत दिनु भनेको उग्र समाजवादलाई समर्थन गर्नु हो, यसले अमेरिकी सपना भंग गर्छ,’ ट्रम्पले भने । सो अवसरमा ट्रम्पले देशको अर्थतन्त्रको प्रशंसा गर्नुका साथै सन् २०१६ को राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेप भएको भन्ने मुलर प्रतिवेदनको कडा आलोचना गरे ।