मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असार ५ बिहीबार ०७:२६:००
Read Time : > 1 मिनेट
विश्व

सन् २०१८ सम्ममा सात करोड मानिस विस्थापित : राष्ट्रसंघ

Read Time : > 1 मिनेट
२०७६ असार ५ बिहीबार ०७:२६:००

सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस आफ्ना घरबाट विस्थापित भएको जनाएको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर) ले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो । प्रतिवेदनमा कागजातबेगर नै अन्यत्र पलायन हुनेको संख्या ठूलो रहेकाले विश्वव्यापी रूपमा शरणार्थी र आप्रवासनको समस्या पेचिलो बनेको जनाइएको छ ।

अघिल्लो वर्ष सन् २०१७ को अन्त्यसम्ममा हिंसा वा उत्पीडनबाट बलजफ्ती विस्थापित हुन बाध्य पारिएका व्यक्तिको संख्या विश्वभर करिब ६ करोड ८५ लाख थियो । युएनएचसिआरका अनुसार इथियोपियामा अन्तर्जातीय द्वन्द्वका कारण ठूलो संख्यामा मानिस विस्थापित हुन बाध्य छन् । भेनेजुएलाको आर्थिक संकटका कारण ठूलो संख्यामा मानिस अन्यत्र शरण लिन बाध्य भएका छन् । यहाँ खाद्यान्न र औषधिजस्ता अत्यन्त जरुरी सामग्रीको समेत अभाव छ । सन् २०१६ यता भेनेजुएलाबाट करिब ३३ लाख मानिस अन्य मुलुकतर्फ भागेको राष्ट्रसंघको अनुमान छ । 

युएनएचसिआरका प्रमुख फिलिप्पो ग्रान्डीले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा विश्वभर विस्थापित सात करोड नागरिकमध्ये भेनेजुएलाका विस्थापितको औपचारिक आवेदकलाई मात्र समेटिएको जानकारी दिए । उनले करिब पाँच लाख भेनेजुएलाका नागरिकको नाम मात्र संकलन गरिएको बताए ।

समग्रमा, विगत २० वर्षको अवधिमा विस्थापित मानिसको संख्या दोब्बर भएको छ र यो थाइल्यान्डको जनसंख्याभन्दा बढी हो । ग्रान्डीका अनुसार यो गलत प्रवृत्ति रोकिनुको साटो निरन्तर कायम रहेको छ । एम्नेस्टी इन्टरनेसनलका अनुसार शरणार्थी त्यस्तो व्यक्ति हो, जो आफ्नो मुलुकबाट भाग्छ र द्वन्द्व वा उत्पीडनको भयका कारण आफ्नो मुलुक फर्कन सक्दैन । 

युएनएचसिआरको प्रतिवेदनमा चार करोड १३ लाख आन्तरिक रूपमा देशभित्रै विस्थापित भएका, दुई करोड ५९ लाख शरणार्थी रहेका र ३५ लाखले आप्रवासीका लागि आवेदन दिएको उल्लेख छ ।  देशभित्रै ठूलो संख्यामा विस्थापित रहेका मुलुकमा सिरिया र कोलम्बिया पर्छन् । शरणार्थीमध्ये करिब ५५ लाख प्यालेस्टिनीहरू लेबनान र जोर्डनसमेत धेरै देशमा छरिएर रहेका छन् । ग्रान्डीले २० प्रतिशतभन्दा बढी निर्वासित व्यक्तिहरू दुई दशकभन्दा बढी समयदेखि शरणार्थीकै रूपमा रहन बाध्य भएको जानकारी दिए ।