मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हुलाकी मार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडकखण्डमा काम गरिँदै । तस्बिर : नयाँ पत्रिका
भूपेन्द्र वली दाङ
२०७६ असार ४ बुधबार ११:२५:००
Read Time : > 1 मिनेट
प्रदेश

हुलाकी राजमार्गको काम निर्धारित अवधिमा नसकिने

Read Time : > 1 मिनेट
भूपेन्द्र वली दाङ
२०७६ असार ४ बुधबार ११:२५:००

बहुप्रतीक्षित हुलाकी राजमार्गअन्तर्गत दाङको लमही—कोइलाबास जोड्ने सडकखण्डको काम निर्धारित अवधिमा सकिने सम्भावना टर्दै गएको छ । आर्थिक वर्ष ०७४/७५ को असार महिनामा लमही–कोइलाबास सडकखण्ड कालोपत्रे गर्नका लागि सर्भे गर्ने काम सुरु गरिएको थियो । ३० महिनाको अवधिभित्र काम सक्नुपर्ने सम्झौता भए पनि लक्षअनुसारको काम नभएको पाइएको हो ।  हुलाकी राजमार्गअन्तर्गत दाङ खण्डको ३३ किलोमिटर सडक कालोपत्रे गर्न करिब ६९ करोड बजेट लाग्ने अनुमान गरिएको छ । कालिका कुमार जेभीले निर्माणको जिम्मा लिएको छ । 

बाइस महिनामा साढे १२ किलोमिटर कालोपत्रे
हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक अहिलेसम्म साढे १२ किलोमिटर मात्रै कालोपत्रे भएको छ । गत वर्ष पुससम्म ९ किलोमिटर सडक कालोपत्रे भएको थियो । त्यसपछिको चार महिनामा साढे तीन किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ ।३० महिनामा कालोपत्रेको काम सक्नुपर्ने भए पनि २२ महिनासम्ममा साढे १२ किलोमिटर मात्रै सडक कालोपत्रे भएको इन्जिनियर मुकेशकुमार शाहले बताए । अझै साढे २० किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । ‘अहिलेसम्म साढे १२ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ, अझै साढे २० किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने छ,’ उनले भने ‘२२ महिना बितिसक्यो, अब ८ महिना मात्रै बाँकी छ, त्यो समयभित्र सकिने सम्भावना न्यून छ ।’ 

यसकारण ढिलाइ
मुआब्जा वितरणमा ढिलाइ हुनु, विद्युत्, टेलिकमका पोल नहटाउनुजस्ता कारणले कामले तीव्रता लिन नसकेको शाहको भनाइ छ । मुआब्जा वितरण तथा विद्युत् र टेलिकमका टावर नहटाउँदा अहिले लमही बजारको दुई किलोमिटर, राप्ती नदी वारपार एक किलोमिटर, गढवा बजारमा पाँच सय मिटर, कोइलाबासमा एक किलोमिटर सडक निर्माणको काम अवरुद्ध बनेको उनको भनाइ छ । ‘बीच–बीचमा मुआब्जा वितरणको कार्य ढिलाइ हुनुका साथै विद्युत् र टेलिकमका टावरले काम अवरुद्ध भएको छ,’ उनले भने, ‘जसले गर्दा कामअघि बढ्न सकेको छैन ।’ अन्य स्थानमा कटानको काम लगभग पूरा भएको र २२ किलोमिटरसम्म ग्राभेलको कामसमेत पूरा भएको उनले बताए ।
जिल्लावासीमा निराशा 
भारतसँग जोड्ने कोइलाबास नाकामा विगतमा निकै चहलपहल थियो । पहाडी क्षेत्रमा यातायातको सुविधा नहुँदा दाङसँग जोडिएका साबिक राप्ती अञ्चलका जिल्लासहित अन्य छिमेकी जिल्लाबाट पनि यहाँका मानिस जीविकोपार्जनका सामग्री खरिद गर्न कोइलाबास पुग्ने गरेका थिए । तर, बिस्तारै अन्य स्थानमा यातायातको सुविधा पुगेको र सडकखण्डको सुधार नहुँदा कोइलाबास नाकाको चहलपहल घटेको थियो । पछिल्लो समय सडक स्तरोन्नतिका लागि काम अघि बढेसँगै उत्साहित भएका जिल्लावासी काममा सुस्तता आएपछि फेरि पनि निराश भएका छन् । लमहीनिवासी यज्ञराज न्यौपानेले हुलाकी मार्ग स्तरोन्नति भइरहेकाले पुनः निराशा छाउन थालेको बताए । विगत लामो समयसम्म मुआब्जा विवादका कारण काम अघि बढ्न नसकेको हुलाकी राजमार्गको काम त्यो विवाद सुल्झिँदा पनि पुनः सुस्त गतिमा हुनु दुःखद भएको उनले बताए ।
२६ करोडभन्दा बढी मुआब्जा वितरण
हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडकमा २६ करोड बढी मुआब्जा वितरण भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । चालू आर्थिक वर्षको वैशाखसम्म तीन सय २० जनालाई २६ करोड ४५ लाख पाँच हजार पाँच सय रुपैयाँ मुआब्जा वितरण गरिएको सूचना अधिकारी यज्ञबहादुर बुढाले बताए । अझै पाँच सयभन्दा बढीलाई आठ करोड ५६ लाख ९४ हजार चार सय ४१ रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ । नापी र मालपोत कार्यालयले दिएको विवरणका आधारमा मुआब्जा वितरण गर्न लागिएको छ । एउटै व्यक्तिको नाममा १५÷२० वटा कित्ता भएका कारण पनि सबै पठाउनुपर्ने भएकाले ढिलाइ भएको उनको भनाइ छ ।