मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तस्बिर : सञ्जित परियार
सुनीता खनाल काठमाडाैं
२०७६ असार ४ बुधबार १०:४३:००
Read Time : > 1 मिनेट
नयाँCity

पशुपतिमा आरती

Read Time : > 1 मिनेट
सुनीता खनाल काठमाडाैं
२०७६ असार ४ बुधबार १०:४३:००

जय शिव शंकर शम्भो जय गिरिजाधीश ।
शिव जय गिरिजाधीश ।।
जय जय करुणासागर २ पशुपति जगदीश ।
ओम् हर हर हर महादेव ।। 

हरेक साँझ सात बजे पशुपतिनाथस्थित बागमती नदीको किनारमा बज्ने आरती गीत हो यो । आरती हेर्न हरेक साँझ यहाँ हजारौँजना भेला हुन्छन् । कहाँबाट आउँछ यत्रो भिड ? किन आरती हेर्नकै लागि घाट धाउँछन् ? आक्कल–झुक्कल त्यहाँ पुग्ने मान्छेको मनमा यस्ता प्रश्न आउन सक्छन् । तर, निरन्तर धाउनेहरूलाई भने आरतीको लत नै लागेको छ ।बूढानीलकण्ठकी नीरा शाक्य (२६) निरन्तर आरती धाउन थालेको पाँच वर्ष भयो । भन्छिन् ‘आरतीमा नआएको दिन मेरो दिनभरिको थकान मेटिन्न ।’ त्यस्तै, भक्तपुरका रमेश परियार (४०) एक वर्षदेखि निरन्तर धाइरहेका छन् । ‘साथीहरू अफिसको काम सकेपछि रक्सी पिउन जान कर गर्छन्, तर मलाई यो आरतीको तलतलले सताउँछ, यही नै नशाजस्तो भएको छ,’ उनी भन्छन् । आरती हेर्न बूढापाकाभन्दा युवा नै बढी आउँछन् । 

पुस–माघको चिसोमा भने सहभागीको संख्या केही कम हुने उनीहरू बताउँछन् । तर, गर्मीमा बस्ने ठाउँ हुँदैन । पारखीहरू एक घन्टाको आरती र गायनको मजा उभिएरै लिन्छन् । आरतीले पीडा र तनावबाट मुक्त गराइदिने उनीहरूको विश्वास छ ।  पारिपट्टि शव जलिरहेका हुन्छन् । रुवाबासी हुन्छ । तर, यता आरतीमा मान्छे मग्न हुन्छन् । ताण्डव गायन र भजन किर्तन चलिरहन्छ । मान्छेले यहाँ आएपछि आफैँलाई बिर्सिदिन्छ । जीवनको यथार्थतालाई स्विकार्छ । आरती गायक राजन खतिवडा भन्छन् ‘हामी गाउने बजाउने जुन लय र तालमा गर्छौँ, त्यहीअनुसार नै पण्डितले आरती गर्नुहुन्छ । उहाँहरूलाई आरतीको तालिम गराइएको हुन्छ ।’ उनका अनुसार गाउनेले सुर र ताल सिकेकै हुन्छन् । तर, आरतीका लागि त्यतिले मात्र पुग्दैन । विशेष तालिम नै चाहिन्छ ।

आरती गाउनका लागि समिति बनाइएको छ । समितिमा भारतबाट संगीत सिकेर आएका दुर्गा खतिवडा, सागर खतिवडा, धर्मराज बुढाथोकी, रमेश पोख्रेललगायत युवा छन् । उनीहरूले बनारसको घाटमा गर्ने आरती विश्वमै लोकप्रिय भएको देखे । पढाइ सकेर नेपाल फर्किएपछि पशुपतिमा त्यसरी नै आरती गर्ने योजना बनाए । 

आरती गाउनका लागि समिति बनाइएको छ । समितिमा भारतबाट संगीत सिकेर आएका दुर्गा खतिवडा, सागर खतिवडा, धर्मराज बुढाथोकी, रमेश पोखरेललगायत युवा छन् । उनीहरूले बनारसको घाटमा गर्ने आरती विश्वमै लोकप्रिय भएको देखे । पढाइ सकेर नेपाल फर्किएपछि पशुपतिमा त्यसरी नै आरती गर्ने योजना बनाए ।  साउन ०६४ मा आरती सेवा समिति गठन भयो । ११ जनाको कार्यसमिति बन्यो । उनीहरूले सुरुमा आफैँले पैसा उठाए । केही रकम जम्मा गरेर आरतीको सामान किने । केही समय आरती चलाए । बिस्तारै समितिको आजीवन सदस्य बनाउन सुरु गरे । सदस्य बन्न एक लाख रुपैयाँ तिर्नुपर्छ । अहिलेसम्म करिब डेढ सयजना आजीवन सदस्य बनिसकेका छन् । सरकारको तर्फबाट पनि वार्षिक केही रकम आउने गरेको छ ।

भक्तहरूले विवाह, जन्मोत्सवजस्ता छेको पारेर दान गर्छन् । भक्तजनले दिएको दान पनि जम्मा पारेर अक्षयकोष निर्माण गरिएको छ । त्यसबाट प्राप्त हुने ब्याजसहितले आरती चलाइएको छ । आरती सेवा समितिमा तीनजना संगीतकार, तीनजना पण्डितलगायत १२ जना कर्मचारी नियुक्त गरिएको छ । पशुपतिनाथ नेपालकै ठूलो हिन्दू मन्दिर मानिन्छ । बागमती नदी किनारमा रहेको यो मन्दिर सन् १९७९ मा नै विश्व सम्पदा सूचीमा सूचीकृत भइसकेको हो । यहाँ जन्मदेखि मृत्युसम्मका संस्कार हुन्छन् । शिवको मन्दिर भएकैले शिवरात्री मनाइन्छ । नेपाल मात्र नभएर भारतवासीको समेत गन्तव्य बन्ने गरेको पशुपतिनाथले धेरैको ध्यान खिचिरहेको छ । साँझ ७ देखि ८ बजेसम्म सञ्चालन हुने आरतीले मन्दिर धाउनेको संख्या पनि बढेको छ ।