मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार ४ बुधबार ०९:१०:००
Read Time : > 1 मिनेट
खेलकुद

छनोटकर्तासहित प्रशिक्षकसमेत हटाउने तयारी

Read Time : > 1 मिनेट
२०७६ असार ४ बुधबार ०९:१०:००

विश्वकप क्रिकेटमा भारतसँग फराकिलो हार व्यहोरेपछि पाकिस्तानी क्रिकेटमा अहिले हलचल मच्चिइरहेको छ । पाकिस्तान क्रिकेट बोर्डको प्रशासकीय निकायले बिहीबार लाहोरमा विशेष बैठक बोलाएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार टिमका मुख्य छनोटकर्ता इन्जमाम उल हक र उनका तीन सहयोगीलाई हटाउने लगभग निश्चितजस्तै छ । त्यसबाहेक मुख्य प्रशिक्षक मिकी आर्थर र उनका सहयोगी ब्याटिङ प्रशिक्षक अजहर महमुद र बलिङ प्रशिक्षक ग्रान्ट फ्लोबरलाई पनि हटाउने सम्भावना बलियो रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

इन्जमामले बिगारे वातावरण
पाकिस्तान क्रिकेट बोर्डमा हुने बदलावका विषयमा पाकिस्तानका प्रतिष्ठित सञ्चारमाध्यम ‘जियो न्युज’ र ‘द डउन’ ले एकपछि अर्को समाचार प्रसारण गरेका थिए । यी सञ्चारमाध्यमको रिपोर्टअनुसार इन्जमामको अध्यक्षतामा रहेको छनोट कमिटीको काम विश्वकपका लागि टिम छनोटसँगै पूरा भएको र विनाकारण इंग्ल्यान्ड पुगेर म्यानेजरको काममा दबाब दिएको दाबी गरिएको छ । त्यसकै कारण टिम निकै अस्तव्यस्त बनेको र उनको उपस्थितिमा प्रशिक्षक र कप्तानमाथि दबाब बढेको दाबी रिपोर्टमा उल्लेख गरिएको छ । त्यसमाथि इंग्ल्यान्डमा विनाकारण इन्जमाम रहँदा बोर्डले धेरै रकम खर्च गर्नुपरेको दाबी सञ्चारमाध्यमले गरेका छन् ।

मिकीसँगै सबै बदल्ने तयारी
पाकिस्तानका मुख्य प्रशिक्षक मिकी आर्थरसँग पाकिस्तानका धेरैजसो पूर्वक्रिकेटर खुसी छैनन् । प्रशिक्षकबारे अख्तरले भने, ‘मिकी अंग्रेजीमा कुरा गर्छन्, उनी न सरफराजलाई बुझ्छन् न अन्य खेलाडीलाई ।’ सोएबले भारतीय टिम प्रशिक्षक रवि शास्त्रीको उदाहरण दिँदै पाकिस्तानमा लिजेन्ड क्रिकेटरहरू रहेको दाबी गर्दै आएका छन् । त्यस्तै, ब्याटिङ र बलिङ प्रशिक्षकमाथि पनि पाकिस्तानमा कडा टिप्पणी हुँदै आएको छ । आमिर सोहेलले भने, ‘के पाकिस्तानमा यस्ता कोही पूर्वक्रिकेटर छैनन् जसले देशको सेवा गर्ने तागत राख्छन् ।’ उनले थपे, ‘हाम्रो ब्याटिङ र बलिङ सुधार्ने खेलाडी पाकिस्तानमा पर्याप्त छन् । त्यसमा विचार गर्न ढिला गर्नु हुन्न ।’

घरेलु क्रिकेटमा समस्या
रिपोर्टमा पाकिस्तान पराजित हुनुको कारण घरेलु क्रिकेट संरचनालाई समेत मानिएको छ । रिपोर्टमा भनिएको छ, ‘पाकिस्तानको घरेलु क्रिकेट ध्वस्त भएको छ । खेलाडीहरू पैसा र बाँकी टी–२० लिगका लागि फोकस हुने गरेका छन् ।’ एकदिवसीय क्रिकेटको घरेलु संरचना कमजोर हुँदा त्यसको सोझो असर राष्ट्रिय टिममा परेको टिभी रिपोर्टमा उल्लेख छ ।