कक्षा ९ पढ्दादेखि तेक्वान्दो खेल्थेँ । सानामा भलिबल खेले पनि मलाई तेक्वान्दोले जहिल्यै तान्यो । २०६४ सालमा मैले तेक्वान्दोमा ब्ल्याक बेल्ट प्राप्त गरेँ । तेक्वान्दो खेल्नकै लागि मनमैजु (घर)बाट नेपालटार जान्थेँ । पछि रंगशालामा खेलेँ । त्यहाँ करिब ६ वर्ष खेलेँ । फिल्मतिर काम गरे पनि मैले आफूले खेलेको खेल बिर्सिएकी छैन । तेक्वान्दो खेल्दा लिगामेन्ट दुखेर हैरान हुन्थेँ । त्यो वेला खेलकुदमा भविष्य देखिनँ । तेक्वान्दो खेलमा बढी रिक्स पनि हुन्छ । खेल्न पनि गाह्रो छ । त्यही भएर फिल्मतिर लागेँ ।
मैले प्रायः भक्तपुरमा तेक्वान्दो खेलेँ । जिल्लास्तरीय गेम पनि राजधानीमै हुन्थे । मेरा गुरु मिलन श्रेष्ठ हुनुहुथ्यो । उहाँ अहिले अमेरिका हुनुहुन्छ । पहिलेको तुलानामा तेक्वान्दोमा सुधार आएको छ । तुलनात्मक रूपमा खेलाडीलाई प्रोत्साहन मिलेको छ । अहिले त खेलकुदमा लाग्दा राम्रै छ । खेलमा दर्शकले पनि मनोरञ्जन लिन थालेका छन् । अबचाहिँ राम्रा खेलाडी सेलेब्रिटी हुन सक्छन् ।