मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार ४ बुधबार ०७:४५:००
Read Time : > 4 मिनेट
सेयर बजार

नेप्सेसँगै घट्यो कारोबार रकम

Read Time : > 4 मिनेट
२०७६ असार ४ बुधबार ०७:४५:००

सोमबार सामान्य अंक बढेर बन्द भएको बजार, मंगलबार पुनः घटेर बन्द भएको छ । नेप्से परिसूचक यस दिन शून्य दशमलव १८ प्रतिशत घटेर बन्द भएको हो । नेप्से घटे पनि यस दिन सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स भने यस दिन सकारात्मक रहेको छ । यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेका कारण कारोबार रकम घटेको हो । बजारले निश्चित दिशा लिन नसक्दा र सुस्त भएका कारण लगानीकर्ता यस्तो रणनीति अपनाउन बाध्य भएको एक ब्रोकरले बताए । लगानीकर्ता अहिले मौद्रिक नीतिको पर्खाइमा रहेका छन् । मौद्रिक नीतिले पुँजीबजार विकास तथा विस्तारका लागि नीति ल्याउने अपेक्षा लगानीकर्ताले गरेका छन् । सोही कारण लगानीकर्ता सो नीतिको पर्खाइमा रहेको उनको भनाइ छ । साथै, बजारमा भएको तरलता संकटका कारण बजार घट्न दबाब पुगेको एक लगानीकर्ताले बताए । 

बजार सारांश : नेप्से परिसूचक मंगलबार २ दशमलव २३ अंक घटेर १ हजार २ सय ५८ दशमलव ६६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव शून्य ३ अंक बढेर २ सय ७० दशमलव २९ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव शून्य ८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १७ अंक बढेको छ । यस दिन १ सय ७७ कम्पनीको ५ हजार ४ सय ७ पटकको कारोबारमा ३५ करोड ९४ लाख ११ हजार ३ सय ५ रुपैयाँबराबरको १२ लाख २६ हजार ६ सय ८६ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ३६ दशमलव ३६ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ७१ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७७ कम्पनीमध्ये ६४ कम्पनीको सेयरमूल्य बढेको छ भने ८९ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २४ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिनको पिभट विश्लेषण गर्दा बुधबार नेप्से ओरालो लागे १ हजार २ सय ५६ दशमलव ५४ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार २ सय ६२ दशमलव २६ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार २ सय ५४ दशमलव ४१ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार २ सय ६५ दशमलव ८५ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

 ७ प्रतिशत बढ्यो गुराँसको सेयरमूल्य
यस दिन कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ६ दशमलव ९४ प्रतिशत बढेर ३ सय ८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, गणपति माइक्रोफाइनान्सको सेयरमूल्य यस दिन ६ दशमलव ८७ प्रतिशत बढेर ३ सय ११ रुपैयाँमा कारोबार भएको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । बजार सुस्त रहेका कारण कम्पनीहरूको सेयरमूल्यमा खासै फरक आउन सकेको छैन । खरिदकर्ता र बिक्रीकर्ताको बीचको तीव्र मोलमोलाइका कारण सेयरमूल्यमा धेरै फरक आउन नसकेको हो । यस दिन कारोबारमा आएका समता माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर र नेपाल हाइड्रो डेभलोपर्सको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । अन्य कम्पनीको सेयरमूल्य ५ प्रतिशतभन्दा कम दरमा घटेका छन् । 

तारागाउँको सर्वाधिक कारोबार
कर्मचारी आन्दोलनका कारण सम्पूर्ण सेवाहरू बन्द गर्नुपर्ने अवस्थामा पुगेको तारागाउँ रिजेन्सी होटेल यस दिन कारोबार रकम, कारोबार संख्या र सेयर संख्याका आधारमा अगाडि रहेको छ । सो कम्पनीको यस दिन २ सय ८४ पटकको कारोबारमा १ लाख ३८ हजार ७ सय ५३ पटक सेयर खरिद–बिक्री भएको छ । सो कम्पनीको सेयरमूल्य यस दिन २ दशमलव ८० प्रतिशत घटेर ३ दशमलव १२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । एनआइसी एसिया बैंकको कारोबार रकम यस दिन २ करोड नाघेको छ भने शिवम् सिमेन्ट्स, नेपाल बैंक, प्रभु बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंकको कारोबार रकम यस दिन १ करोड नाघेको छ ।

८ समूहको परिसूचक घट्यो, ३ को बढ्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ३ समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ । लघुवित्त समूहको परिसूचक यस दिन शून्य दशमलव ३४ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव शून्य ९ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव शून्य ४ प्रतिशत बढेको छ । जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ८२ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ७९ प्रतिशत, अन्य समूहको शून्य दशमलव ७५ प्रतिशत र म्युचुअल फन्ड समूहको शून्य दशमलव ७३ प्रतिशत घटेको छ । त्यसैगरी, होटेल समूहको परिसूचक शून्य दशमलव ६६ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ५३ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३५ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव १२ प्रतिशत घटेको छ । 

मल्टिपर्पोजको बुक क्लोज
मल्टिपर्पाेज फाइनान्स कम्पनीले असार ११ गतेदेखि बुक क्लोज गर्ने भएको छ । कम्पनीले १ बराबर ८ दशमलव ६५ अनुपातमा हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सो दिनदेखि बुक क्लोज गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । असार २ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड १४ लाख ७३ हजार ६ सय रहेको छ । 

महुलीको नाम परिवर्तन
महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले नाम परिवर्तन गरेको छ । परिवर्तनपश्चात् कम्पनीले महुली लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्नेछ । साथै, साबिकमा सप्तरी जिल्लाको बकधुवा गाविस, वडा नं. ९ मा रहेको कम्पनीको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गरी अग्निसाई र कृष्णसवरण गाउँपालिका वडा नं. ६ मा स्थानान्तरण गरिएको छ ।

ऋणपत्र निष्कासनका लागि ४ बैंकले मागे अनुमति
जेठ महिनामा ऋणपत्र निष्कासन गर्नका लागि ४ वाणिज्य बैंकहरूले धितोपत्र बोर्डसँग अनुमति माग गरेका छन् । सो अवधिमा एनआइसी एसिया बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र लक्ष्मी बैंकले ऋणपत्र जारी गर्ने अनुमति मागेको हो । एनआइसी एसिया बैंकले ७ वर्ष अवधिका ४४ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा सो ऋणपत्र निष्कासन गर्न अनुमति मागेको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । सिद्धार्थ बैंकले पनि १० दशमलव २५ प्रतिशत वार्षिक ब्याजदरमा ७ वर्षका लागि ऋणपत्र निष्कासन गर्न बोर्डमा आवेदन बुझाएको छ । बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासनका लागि एनएमबि क्याटिललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । त्यसैगरी, प्रभु बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा सनराइज क्यापिटललाई दिइएको छ । लक्ष्मी बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा १० वर्षका लागि २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । सो ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा भने नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले पाएको छ । 

यसअघि माछापुच्छ्रे बैंक र हिमालयन बैंकले पनि ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । यी दुई बैंक पनि बोर्डमा अनुमतिको पर्खाइमा रहेका छन् । माछापुच्छ्रे बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदर र हिमालन बैंकले १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न आवेदन दिएका हुन् ।