१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
 शुरोजंग पाण्डे  काठमाडाैं
२०७६ असार ४ बुधबार ०७:२४:००
Read Time : > 2 मिनेट
राजनीति

राष्ट्रिय गौरवका आयोजनाको लगाम प्रधानमन्त्रीका हातमा

Read Time : > 2 मिनेट
 शुरोजंग पाण्डे  काठमाडाैं
२०७६ असार ४ बुधबार ०७:२४:००

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन सीधै आफूले गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट प्रधानमन्त्रीले अनुगमन थाल्नेछन् । राष्ट्रिय गौरवका आयोजनाको काम सीधै प्रधानमन्त्रीले अनुगमन गर्ने उद्देश्यले गत १५ जेठबाट प्रधानमन्त्री कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याएको हो । यही कक्षबाट प्रधानमन्त्री ओलीले आयोजनामा भइरहेको कामको नियमित रूपमा भिडियोमार्फत अनुगमन गर्नेछन् । उनले आवश्यकताअनुसार आयोजनाप्रमुख र प्राविधिकहरूसँग सम्वाद गर्ने व्यवस्था मिलाइएको छ । असारबाट अनुगमन सुरु हुनेछ ।

सुरुमा गौतमबुद्ध विमानस्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अनुगमन गर्ने गरी प्रधानमन्त्री कार्यालयले आयोजना स्थलमा क्यामेरा जडान अन्तिम चरणमा पु-याएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार बाँकी ९ आयोजनाहरूमा स्थलगत रूपमै क्यामेरा जडान भइसकेपछि अनुगमन थालिनेछ ।  सरकारले यसै आर्थिक वर्षभित्रै माथिल्लो तामाकोसी, मेलम्ची आयोजना र गौतमबुद्ध विमानस्थलको काम सम्पन्न गर्ने घोषणा गरेको छ । पोखरा विमानस्थलको काम अर्को वर्षभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । ‘एक्सन रुमबाट प्रधानमन्त्रीज्यूले छिटोभन्दा छिटो आयोजनाको काम गुणस्तरीय ढंगले सम्पन्न गर्न अनुगमन र निर्देशन दिनुहुनेछ,’ प्रवक्ता कुँवरले नयाँ पत्रिकासँग भने । 

राष्ट्रिय प्राथमिकता प्राप्त २२ आयोजनामा अनुगमनको कामलाई बिस्तारै बढाइने प्रधानमन्त्री कार्यालयको योजना छ । राजमार्गहरूमा भने सर्भिस भेइकलमा क्यामेरा जडान गरेर भिडियो खिच्ने र प्रधानमन्त्रीले अनुगमन गर्ने गरी प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्न खोजेको छ । प्रधानमन्त्री कार्यालयमा मुख्य सचिव लोकदर्शन रेग्मी, नतिजा व्यवस्थापन महाशाखा हेर्ने सचिव विष्णु लम्साल, सहसचिव यमलाल भुसाल, प्रशासन महाशाखा प्रमुख तथा प्रवक्ता विनोद कुँवरलगायतले अनुगमनको काममा प्रधानमन्त्रीलाई सघाउनेछन् ।

  •  ‘एक्सन रुम’बाट एघार आयोजनाको भिडियो अनुगमन गर्ने
  •  आयोजनाप्रमुख र प्राविधिकहरूसँग प्रत्यक्ष संवादको संरचना

सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद 
प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आवश्यकताअनुसार एक्सन रुमबाट प्रत्यक्ष संवाद गर्ने भएका छन् । मुख्यमन्त्रीहरूसँग प्रदेश सरकारको समस्या बुझ्ने, समाधानका लागि अन्तरक्रिया गर्ने तथा निर्देशन दिने कामसमेत प्रधानमन्त्रीले एक्सन रुमबाटै गर्नेछन् । जेठ १५ मा उद्घाटनपछि प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्स संवाद गरेका थिए ।

तत्काल अनुगमन हुने  राष्ट्रिय गौरवका आयोजना 

  •  माथिल्लो तामाकोसी जलविद्युत् आयोजना
  •  गौतमबुद्ध विमानस्थल
  •  भैरहवा विमानस्थल
  •  पोखरा क्षेत्रीय विमानस्थल
  •  मध्यपहाडी लोकमार्ग
  •  मेलम्ची खानेपानी आयोजना
  •  हुलाकी राजमार्ग
  •  काठमाडौं–तराई फास्ट ट्र्याक
  •  उत्तर–दक्षिण लोकमार्ग
  •  भेरी–बबई डाइभर्सन
  •  रानी–जमरा सिंचाइ आयोजना

हेलो सरकारबाट तत्काल कर्मचारीलाई निर्देशन
सेवाग्राहीले अनियमितता र ढिलासुस्तीको उजुरी दिन सक्ने देशभरिका सबै सरकारी कार्यालयबाट सेवाग्राहीले ढिलासुस्ती र अनियमितता भए सीधै प्रधानमन्त्री कार्यालयमा उजुरी दिन सक्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले हेलो सरकारको कामलाई डिजिटलाइज्ड गर्दै एपमार्फत परिमार्जित गर्ने गृहकार्य अघि बढाएपछि देशभरका जुनसुकै कार्यालयबाट सेवाग्राहीले तत्काल उजुरी दिन सक्नेछन् । 

प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्सन रुमबाटै प्रत्यक्ष संवाद गर्नेछन्, उनले मुख्यमन्त्रीहरूसँग प्रदेश सरकारको समस्या बुझ्ने, समाधानका लागि अन्तरक्रिया गर्ने तथा निर्देशन दिने कामसमेत एक्सन रुमबाटै गर्नेछन्

हेलो सरकारले प्रयोगमा ल्याउन लागेको एपमार्फत सेवाग्राहीले उजुरी फारम भरेलगत्तै केही मिनेटमै सम्बन्धित मन्त्रालयमार्फत कार्यालयहरूमा काम अघि बढाउन निर्देशन जानेछ । ‘कुनै गाउँपालिकाका कार्यकारी प्रमुखले सेवाग्राहीको काममा ढिलाइ गरे या कार्यालय समयमा अनुपस्थित रहेको देखिए सेवाग्राहीले इन्टरनेट सेवा उपलब्ध जुनसुकै स्थानबाट हेलो सरकारको एपमा रहेको फारममार्फत उजुरी गर्न सक्नेछन्,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले भने, ‘त्यो फारम एसेप्ट हुनेबित्तिकै प्रधानमन्त्री कार्यालयको हेलो सरकारले सम्बन्धित मन्त्रालयलाई उजुरी जानकारी गराएर निर्देशन दिनेछ, त्यसपछि कार्यान्वयन भए नभएको तुरुन्तै एपमार्फत नै मन्त्रालयहरूले जानकारी गराउनेछन् ।’  सरकारले अघि सारेको डिजिटल नेपालको योजनालाई साकार पार्ने उद्देश्यले हेलो सरकारलाई अनलाइन सेवामार्फत, तत्काल गुनासो सुनेर कार्यान्वयन गर्ने इकाइका रूपमा परिमार्जन गर्ने गरी गृहकार्य भइरहेको कुँवरले बताए ।