मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दिवाकर पन्त काठमाडाैं
२०७६ असार ४ बुधबार ०९:०१:००
Read Time : > 4 मिनेट
अर्थ

नेपाल वायुसेवा निगमको घाटा यो वर्ष सवा चार अर्ब

निगम डुबाएर जहाज निजी कम्पनीलाई भाडामा दिने योजना

Read Time : > 4 मिनेट
दिवाकर पन्त काठमाडाैं
२०७६ असार ४ बुधबार ०९:०१:००

वाइडबडी थपेपछि उडान झन् घटाएको निगमले गत चैतमै पनि सञ्चय कोष र नागरिक लगानी कोषको २४ अर्ब ऋणको किस्ता तिर्न नसकेपछि सरकारले तिरिदियो, असारमा फेरि १ अर्ब ६० करोड तिर्नुपर्ने

नेपाल वायुसेवा निगमका बाह्य र आन्तरिक उडानका सबै जहाज घाटामा छन् । नयाँ पत्रिकालाई प्राप्त तथ्यांकअनुसार गत साउनदेखि पुससम्मको ६ महिनामा निगमले दुई अर्ब ११ करोड रुपैयाँ घाटा व्यहोरेको छ । त्यसयता निगमका जहाजको उडान अवधि घटेका कारण असार मसान्तसम्म यो घाटा दोब्बरभन्दा बढी हुने देखिन्छ । 

असार मसान्तमा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई २४ अर्ब ऋणको त्रैमासिक किस्ताबापत एक अर्ब ६० करोड बुझाउनुपर्नेछ । यो किस्ता बुझाउन सक्ने अवस्थामा निगम छैन । किस्ता तिरिदिने विषयमा सरकारसँग छलफल चलिरहेको निगमका प्रवक्ता नवराज कोइरालले बताए । यसअघि गत चैतको किस्ता पनि तिर्न नसकेपछि सरकारले तिरिदिएको थियो ।

एयरबसका चारवटै जहाज घाटामा 
निगमले गत वर्ष मात्रै भित्र्याएका एयरबसका वाइडबडी मात्रै होइन, न्यारोबडी जहाज पनि घाटामा छन् । न्यारोबडीमा निगमले हरेक महिना एक करोड ९४ लाख रुपैयाँ घाटा व्यहोरेको छ । नयाँ पत्रिकालाई प्राप्त विवरणअनुसार गत साउनदेखि पुससम्मको ६ महिनामा न्यारोबडी जहाजको घाटा ११ करोड ६७ लाख रुपैयाँ छ । यस हिसाबले यस आर्थिक वर्ष सम्पन्न हुँदा घाटा २३ करोड ३४ लाख रुपैयाँ पुग्नेछ । 

निगमका न्यारोबडी जहाजले दुबई, नयाँदिल्ली, मुम्बई, बैंकक, क्वालालम्पुर, हङकङ, दोहा र बैंगलुरु उडान गरिरहेका छन् । यी रुटमा अत्यधिक यात्रुको चाप हुने गरेको छ । तर, हाल न्यारोबडी जहाज औसत दैनिक नौ घन्टा १५ मिनेट मात्रै उडिरहेको निगम स्रोतले जानकारी दिएको छ । जब कि यसको अधिकतम क्षमता १६ सम्म हो । 

निगम स्रोतले भन्यो, ‘न्यारोबडी जहाज पनि क्षमताभन्दा कम अवधि उडाइएको छ, रुट र यात्रुका हिसाबले समस्या नरहेका सेक्टरमा पनि किन पूर्ण क्षमतामा उडाइँदैन, यो गम्भीर विषय हो ।’ जहाज ल्याउनुअघि तयार पारिएको व्यावसायिक योजना कार्यान्वयन गर्न निगम उच्च व्यवस्थापनले काम नगरेकाले घाटामाथि घाटा भएको स्रोतको दाबी छ । 

लामो दूरीको रुटमा उडान गर्ने भनी सन् २०१८ जुन र जुलाईमा दुई वाइडबडी एयरबस ३३० जहाज निगमले खरिद गरेको थियो । दैनिक अधिकतम १८ घन्टासम्म उडान गर्न सक्ने यी जहाज अहिले जम्मा नौ घन्टा मात्रै उडिरहेका छन् । यसरी आधा क्षमतामा जहाज उडाउनुपर्दा निगमलाई वाइडबडी जहाजबाट प्रतिमहिना २७ करोड ७१ लाख नोक्सानी भइरहेको निगमकै तथ्यांकमा उल्लेख छ । साउन ०७५ देखि पुससम्म दुई वाइडबडी जहाजको घाटा एक अर्ब ६६ करोड ३१ लाख रुपैयाँ भएको थियो । त्यस अवधिमा औसत १० घन्टा उडिरहेको जहाज अहिले नौ घन्टा मात्रै उडिरहेको छ । त्यसो हुँदा यो असार मसान्तसम्म घाटा बढेर तीन अर्ब ३२ करोड रुपैयाँभन्दा बढी हुने देखिन्छ । 

लामो दूरीमा उडान गर्ने भनी ल्याइएका दुईवटा वाइडबडी जहाजबाट उडान गर्ने गरी निगम व्यवस्थापनले कुनै पनि नयाँ रुट खोल्न सकेको छैन । न्यारोबडी जहाजबाट उडान भइरहेका केही रुटमा वाइडबडी जहाजलाई निगमले उडाएको छ । जहाज उडाउनका लागि नभई नहुने खर्च नियमित रूपमा गर्नुपर्ने, तर यी जहाजको क्षमताअनुसारको रुट नहुँदा घाटाको अवस्था निरन्तर रहेको निगम स्रोतले जनाएको छ ।

आन्तरिकतर्फका सबै उडान घाटामा
चीनबाट ल्याइएका ५८ सिटे दुई एम–६० जहाजले निगमलाई साउनदेखि पुससम्मको ६ महिनामा १० करोड ३७ लाख रुपैयाँ घाटा पुर्‍याएका छन् । यसरी हेर्दा यही जहाजले प्रतिमहिना एक करोड ७२ लाख रुपैयाँ घाटा पुर्‍याइरहेका छन् । पुसयता पनि यो सिरिजको एउटा मात्रै जहाज उडेकाले निश्चित रूपमा वर्षभरिको घाटा दोब्बर हुनेछ ।

वाई–१२ जहाजले ०७५ साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा नौ करोड ३४ लाख रुपैयाँ घाटा पुर्‍याएको निगमकै विवरणमा उल्लेख छ । त्यसअवधिमा छिटफुट रूपमा यी जहाज उड्ने गरेपछि पुसयता भने यो सिरिजका चारवटै जहाज उडानविहीन छन् । यस्तो अवस्थामा यी जहाजले निगमले त्यसभन्दा धेरै क्षति पु¥याइरहेका छन् । चर्काे बिमाशुल्क, पार्किङ चार्ज र अन्य अनिवार्य खर्च एकातिर भइरहने र अर्कातिर उडान हुन नसक्ने अवस्थाले यी जहाजले निगमलाई घाटैघाटा पु¥याएका छन् । निगम व्यवस्थापन चिनियाँ जहाजलाई प्रभावकारी उडान गर्न गम्भीर प्रयासमा जुट्न सकेको छैन । 

यही वेला कर्मचारीले माग्दै छन् १५ दिनको तलबबराबरको भत्ता, नपाए वार्षिकोत्सवमा सहभागी नहुने चेतावनी
निगममा कार्यरत ट्रेड युनियनहरूले निगमको वार्षिकोत्सवमा सबै कर्मचारीलाई १५ दिनको तलबबराबर भत्ता दिन माग गरेका छन् । विगतमा निगमको वार्षिकोत्सवको अवसर पारेर १५ दिनको भत्ता दिने गरिएको थियो । यसपटक व्यवस्थापनले त्यस्तो भत्ता नदिने निर्णय गरेपछि आधिकारिक ट्रेड युनियनले पत्र नै लेखी भत्ता दिनुपर्ने माग गरेको निगम स्रोतले जानकारी दियो । ‘वार्षिकोत्सवको बजेटमै कर्मचारीलाई दिने रकमसमेत राखेर भत्ता वितरण हुँदै आएको थियो, पहिले दुई हजार–२५ सय दिने गरिन्थ्यो, दुई वर्षदेखि १५ दिनको तलबबराबर रकम दिने गरिएको थियो । त्यो नदिने भएपछि कर्मचारीले विरोध गरेका छन्,’ स्रोतले बतायो । 

तर निगम व्यवस्थापन स्रोतले भने गत वर्ष दिएको १५ दिनको उत्प्रेरणा भत्तालाई पनि अर्थमन्त्रालयले बेरुजूमा राख्न भनेकाले बोनस दिन नमिल्ने जनाएको छ । अर्थमन्त्रालयले नदिनु भन्दा भन्दै कर्मचारीलाई बोनस दिने निर्णय निगम व्यवस्थापनले गर्न सक्दैन उनले भने वार्षिकोत्सव कार्यक्रम नै वहिष्कार गर्छु भन्नु कर्मचारी युनियनको हठ हो । 

महालेखाको सुझाब
महालेखापरीक्षकको ५६औँ प्रतिवेदनले पनि अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका जहाजको उडान लक्ष्यअनुरूप नभएको औँल्याइसकेको छ । प्रतिवेदनले अन्तर्राष्ट्रियतर्फ आव ०७५/७६ मा तीन हजार सात सय २३ उडान संख्या हुनुपर्नेमा २० प्रतिशत अर्थात् सात सय ६१ उडान रद्द गरिएको उल्लेख गरेको छ । त्यसैगरी आन्तरिकतर्फ आव ०७५/७६ मा ६ हजार ६ सय ६८ उडान हुनुपर्नेमा २९ प्रतिशत उडान अर्थात् १९ सय ६० उडान रद्द भएको प्रतिवेदनले उल्लेख गरेको छ । यसरी निगमका उडान नियमित तालिकामा उड्ने नगरेको महालेखाको ठहर छ । निर्धारित समयमा उडान नहुने भनी बदनामी कमाएको निगमले नयाँ जहाज थपेपछि सुधार आउने अपेक्षा गरिए पनि व्यवस्थापनले कुनै सुधार ल्याउन सकेको छैन । 

बेच्न लागिएको जहाज मर्मतमा सवा दुई करोड खर्च, तर पनि उडाइएन
निगमले बोइङ ७५७ सिरिजका दुई जहाजमध्ये एउटा जहाज बेचिसकेको छ । अर्को पनि उडानमा छैन । यो जहाजले निगमलाई प्रतिमहिना औसत एक करोड २७ लाख रुपैयाँ घाटा पुर्‍याइरहेको छ । गत साउनदेखि पुससम्म बोइङ जहाजले मात्रै निगमलाई सात करोड ६२ लाख रुपैयाँ घाटा गराएको छ । असार मसान्तसम्मको एक वर्षको अवधिमा यो जहाजबाट १५ करोड २४ लाख रुपैयाँभन्दा बढी घाटा हुनेछ ।

अन्तर्राष्ट्रिय उडानमा रहेको बोइङ ७५७ बिक्री गर्न निगमले यसअघि अक्सन गरिसकेको छ । तर, बेच्न ठिक्क पारेको सो जहाज मर्मत गर्न हालै सवा दुई करोड खर्च गरिएको छ । ‘उडानबाट हटाइसकिएको जहाज मर्मत गर्न भनेर गत कात्तिकमा मलेसिया लगियो,’ निगम स्रोतले भन्यो, ‘दुई लाख डलर खर्च गरेर मर्मत गरी काठमाडौं ल्याइयो, तर उडान भने गरिएको छैन । उडान नै नगर्ने जहाज मर्मतमा करोडौँ खर्चिनु भ्रष्टाचारबाहेक केही होइन ।’ बेच्न लागेको बोइङ उडाउन भनेर पाँच क्याप्टेनलाई तलब खुवाइरहनु पनि आश्चर्यजनक भएको स्रोतको भनाइ छ ।

 तर, कार्यकारी अध्यक्ष खरेल भन्छन्– ‘म आएपछि आम्दानी बढ्यो’

कार्यकारी अध्यक्ष मदन खरेल भने आफू आएपछि निगमको आम्दानी तथा यात्रु संख्यामा वृद्धि भएको दाबी गर्छन् । ‘म अध्यक्ष हुनुअघि निगमको सिट फ्याक्टर (क्षमता उपयोग) ७८ प्रतिशत रहेकोमा असोजदेखि वैशाखसम्मको अवधिमा बढेर ८२ प्रतिशत पुगेको छ,’ खरेलले भने, ‘त्यस्तै, गत वर्षको असोजदेखि वैशाखमा अन्तर्राष्ट्रिय उडान संख्या दुई हजार २० रहेकोमा यो आर्थिक वर्षको सोही अवधिमा दुई हजार सात सय ४४ पुगेको छ ।’ उनी ०७५ भदौमा कार्यकारी अध्यक्ष नियुक्त भएका थिए । ०७४ साउनदेखि चैतसम्म निगमको आम्दानी तीन अर्ब ८४ करोड ७१ लाख रहेकोमा ०७५ साउनदेखि चैतसम्मको अवधिमा बढेर सात अर्ब ५४ करोड १० लाख ३८ हजार पुगेको उनले बताए ।

निगमले आगामी २४ साउन (अगस्त ९) देखि जापान उडान भर्ने तयारी गरेको खरेलले बताए । उनका अनुसार एयरबस ३३० (वाइडबडी) जहाजले सातामा तीनपटक काठमाडौंदेखि जापानको ओसाका उडान गर्नेछ । ‘सातामा बिहीबार, शनिबार र आइतबार काठमाडौं–ओसाका सीधा उडान सञ्चालन हुनेछ, जसबाट वाइडबडी जहाजको उडान घन्टामा उल्लेखनीय रूपमा सुधार आउनेछ,’ खरेलले भने । यसअघि १९ असारदेखि जापान उडान गर्ने तयारी गरेको निगमले अन्तिम समयमा योजना स्थगित गरेको थियो । त्यस्तै, साउदी अरेबियाको रियाद, चीनको ग्वान्जाउ तथा बेइजिङ र जापानको टोकियो पनि चाँडै उडान गर्ने योजना रहेको खरेलले बताए ।

आफू कार्यकारी अध्यक्ष भएपछि विदेश भ्रमणको खर्च घटाएको, दुईवटै एमए ६० जहाज ग्राउन्डेड रहेकोमा एउटा बनाएर उडाएको, राष्ट्रपति तथा प्रधानमन्त्रीको विदेश भ्रमणमा नेपाल एयरलाइन्सकै विमान प्रयोग गरिएको, काम नलाग्ने ग्राउन्ड इक्विपमेन्ट लिलाम गरी आम्दानी बढाएको, आर्थिक नियमावली परिमार्जन गर्नेलगायत सुधारका कामहरू गरेको खरेलले बताए ।