मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सन्तोष थापा
२०७५ पौष १६ सोमबार ११:३८:००
Read Time : > 1 मिनेट
प्रदेश

पर्वतमा पुनर्निर्माण सुस्त, पीडित पाँच हजार, घर निर्माण सक्ने सोह्र

Read Time : > 1 मिनेट
सन्तोष थापा
२०७५ पौष १६ सोमबार ११:३८:००

विनाशकारी भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि भूकम्पले पर्वतमा भत्काएका घर अझै उठ्न सकेका छैनन् । भत्केका चार हजार आठ सय ४६ मध्ये जम्मा १६ घर मात्रै बनेका छन् । घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता पाउनेको संख्या ० दशमलव ०३ प्रतिशत मात्रै रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । 

भूकम्पबाट कम प्रभावित १८ जिल्लाको सूचीमा पर्वत पनि परेको थियो । सोहीअनुसार आवास निर्माण अभियान सुरु भएलगत्तै चार हजार आठ सय ४६ जनाले सम्झौता गरी पहिलो किस्ताबापतको रकम बुझेका थिए । तर, सम्झौता गर्न हौसिने र आवास पुनर्निर्माणमा वास्ता नगर्दा पुनर्निर्माणले गति लिन सकेको छैन ।

- पाँचजनाले रकम फिर्ता गरे

भूकम्पबाट क्षतिग्रस्त घर भत्काएर भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गर्ने गरी सम्झौता गरेर पहिलो किस्ताको रकम बुझेका पर्वतका पाँचजनाले घर बनाउन नसकेपछि रकम फिर्ता गरेका छन् ।

जिल्ला आयोजना कार्यान्वयन इकाइले निश्चित समयावधि तोकेर रकम फिर्ता गर्न सूचना जारी गरेपछि फिर्ता गरेको शर्माले बताए । ‘घर निर्माण गर्न नसकेर फिर्ता गर्नेको संख्या बढ्ने देखिन्छ,’ उनले भने, ‘पहिलो किस्ता लगेर पनि काम सुरु नगर्नेहरू धेरै छन्, तिनीहरूलाई ताकेता गरिरहेका छौँ ।’ 

- फलेबासमा सबैभन्दा बढी क्षति

पर्वतका ७ स्थानीय तहमध्ये भूकम्पले सबैभन्दा बढी क्षति फलेबास नगरपालिकामा पु¥याएको थियो । यहाँका एक हजार चार सय ५५ प्रभावितले आवास निर्माण सुरु गरे पनि जम्मा चार सय ४४ जनाले दोस्रो किस्ता निकासा गरेका छन् भने एकजनाले पनि घर निर्माण सम्पन्न गरेका छैनन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ पर्वतका प्रमुख जगदीश शर्माका अनुसार एक सय १३ जनासँग प्रवलीकरण अनुदान सम्झौता गरेको र सबै प्रवलीकरण लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेको जनाए । 

- पीडितका गुनासा कसैले सुन्दैनन् 

भूकम्पबाट क्षति व्यहोरेर पनि विविध कारणवश पीडितको सूचीमा समावेश नभएका व्यक्तिहरूका गुनासोप्रति भने कुनै पनि निकायले वास्ता नगरेको आरोप छ । पर्वतमा तथ्यांक संकलनका क्रममा पाँच हजार दुई सय ६९ परिवार पीडितको सूचीमा रहे पनि त्यसबाहेक दुई हजार आठ सय ७४ भूकम्पपीडितले गुनासो फाराम भरेका छन् । 

यसरी गुनासो फाराम भर्नेमा सबैभन्दा धेरै बिहादी गाउँपालिकाका छन् । बिहादीका सात सय ६५ जनाले गुनासो फाराम भरेका छन् । त्यसपछि फलेबास नगरपालिकाका ५ सय ६७ रहेको छ भने कुस्मा नगरपालिकाका ६ सय २५, मोदी गाउँपालिकाका दुई सय ८, जलजला गाउँपालिका ७३, पैँयु गाउँपालिकाका चार सय १७, महाशीला गाउँपालिका एक सय १९ जनाले गुनासो फाराम भरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला शाखा पर्वतले जनाएको छ ।

गुनासो संकलन गरी केन्द्रमा पठाएको तर केन्द्रबाट ठोस सुनुवाइ हुन नसक्दा समस्या भएको आयोजना प्रमुख शर्माले बताए । लगत संकलन दुरुस्त हुन नसक्नु, गुनासो फछ्र्यौट हुन नसक्नु र भूकम्पपीडितमा भूकम्प प्रतिरोधात्मक घर निर्माणसम्बन्धी चेतना अभाव हुुनु नै मुख्य समस्या रहेको उनले बताए । 

पर्वतमा जोखिमयुक्त बस्ती स्थानान्तरणअन्तर्गत १५ जना लाभग्राहीलाई ३४ रोपनी जग्गा खरिद गरिएको छ । स्थानीय पूर्वाधारतर्फ दुई सडक निर्माणका 
क्रममा छन् ।