मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
Invalid date format ११:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वडाध्यक्षको हस्ताक्षर दुरुपयोग गरेको भेटिएपछि...

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१५:oo

राजस्व छली गर्ने उद्देश्यले धनकुटाको छथरजोरपाटी गाउँपालिका– ४ को वडा कार्यालयको लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षर दुरुपयोग गरेको पाइएको छ। छथरजोरपाटी गाउँपालिका– ४ को वडा कार्यालयको लेटरप्याड, छाप र वडा अध्यक्षको हस्ताक्षर दुरुपयोग गरी नक्कली सिफारिसपत्र बनाइएको खुल्न आएको छ।

घरबाटो प्रमाणित सिफारिसमा वडाको नक्कली लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षरसमेत नक्कली गरिएको छ । सोही वडाका स्थानीय मेघराज खतिवडाले उक्त वडाको लेटरप्याड, छाप र वडाध्यक्ष टेकबहादुर तामाङको हस्ताक्षरसमेत किर्ते गरी दुरुपयोग गरेको पाइएको वडाध्यक्ष टेकबहादुर तामाङले आरोप लगाएका छन्। नेपाली कांग्रेसको तर्फबाट ०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार तथा स्थानीय नेतासमेत रहेका खतिवडाले राजस्व छली गर्ने उद्देश्यले घरबाटो प्रमाणितमा जग्गामा बाटो नभएको र घर नभएको भनी प्रमाणित गरी नक्कली सिफारिसपत्र बनाएको फेला पारिएको वडाध्यक्ष तामाङले बताए ।

साबिक तेलिया गाउँ विकास समिति वडा नं. १ का शम्भुराम प्रजाप्रतिको नाममा रहेको साबिक तेलिया गाविस– १ स्थित कित्ता नम्बर १० को १७ रोपनी ३ आना र कित्ता नम्बर ४ को ३१ रोपनी ७ आना २ पैसा क्षेत्रफल रहेको जग्गा धनकुटाको बिहीबारे हटिया–कर्मीटार–बन्चरे–लामिछाने–तेलिया–तेह्रथुम शुक्रबारे पक्की सडक भएको र कच्ची घर भएको साथै सडकको सेटब्याकबाहेक ६ (छ) मिटर चौडा कायम रहेको प्रमाणित गरी वडा कार्यालयले २०८२ असार २४ गते सिफारिस दिएको थियो ।

जग्गा पास गर्दा घरबाटो देखाएपछि बढी राजस्व दिर्नुपर्ने भएपछि खतिवडाले घरबाटो नभएको भनी उनले नक्कली सिफारिस तयार पारे । उक्त सिफारिससहित जग्गाधनी प्रजापतिलाई लिएर खतिवडा आफैँ असार ३१ गते मालपोत कार्यालय धनकुटा पुगे । मालपोत कार्यालयमा गरिएको कामको अन्तिम चरणमा पुगेपछि घरबाटो प्रमाणितको सिफारिसमा शंका लागेपछि वडा कार्यालयमा फोन गरी कार्यालयले सिफारिसको प्रतिलिपि झिकाएको थियो । प्रतिलिपिसँग सक्कल सिफारिस नमिलेपछि मात्र घरबाटो प्रमाणितको सिफारिस किर्ते गरी बनाएको खुलेको थियो। उक्त जानकारी पाएलगत्तै मातपोत कार्यालय धनकुटा वडाध्यक्ष पुग्दा खतिवडा त्यहाँबाट काम नगरी हिँडेका थिए ।

वडाध्यक्षको हस्ताक्षरसहित वडाको लेटरप्याड, छापसमेत नक्कली बनाई खतिवडाले सिफारिस गरिएको थाहा पाएपछि वडाध्यक्ष तामाङले दोषीमाथि कानुनबमोजिम कारबाहीको माग गर्दै साउन २ गते जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएका छन् । वडाको लेटरप्याड, छाप र वडाध्यक्षको हस्ताक्षरसमेत किर्ते गरेकोविरुद्ध प्रहरीमा उजुरी आएको पुष्टि गर्दै निज खतिवडालाई खोज्ने क्रम जारी रहे पनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले बताएको छ । घटनाको विषयमा खतिवडासँग बुझ्न खोज्दा उनको फेसबुक म्यासेन्जर तथा मोबाइल स्विच्डअफ रहेको छ ।