मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ४ आइतबार १o:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पुष्पलाल स्मृति दिवस : मोहनविक्रम, उपेन्द्र र अशोकलाई समाजवादी मोर्चाको निम्तो, एमालेलाई नबोलाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ४ आइतबार १o:४९:oo

समाजवादी मोर्चाले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल स्मृति दिवस मनाउने भएको छ । पुष्पलालको स्मृति दिवस पारेर आगामी ७ साउनमा राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरिएको मोर्चाका सचिवालय सदस्यसचिव एवं नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

मोर्चामा माओवादी, एकीकृत समाजवादी, नेसपा र नेकपा छन् । कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपा अध्यक्ष अशोक राईलाई पनि आमन्त्रण गरिएको विश्वकर्माले बताए । एमालेलाई भने बोलाइएको छैन ।

‘पुष्पलालले कम्युनिस्ट विचार र पार्टीलाई स्थापित गर्नुभयो । उहाँको देहावसान भएको दिनलाई सबै कम्युनिस्टले सम्झनुपर्छ । त्यहीकारण ऐतिहासिक दिन पारेर हामीले कार्यक्रम आयोजना गरेका हौँ,’ उनले भने, ‘उहाँले के सोच्नुभएको थियो ? कसरी समर्पित हुनुभएको थियो । उहाँको विचार र उद्देश्यलाई अहिलेको समयमा कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुन्छ ।’ उनका अनुसार पुष्पलाल स्मृति प्रतिष्ठानलाई पनि आयोजक रूपमा राखिएको छ ।

मोर्चाले आवश्यकताअनुसार जिल्ला तहमा पनि पुष्पलाल स्मृतिमा कार्यक्रम गर्न सक्ने मोर्चाका माओवादी महासचिव देव गुरुङले बताए । ‘पुष्पलालको स्मृतिमा केन्द्रमा राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरिएको छ । तल्ला तहमा पनि कार्यक्रम गर्न सक्नुहुन्छ,’ उनले भने ।

मोर्चाका चारै घटकसहित नेकपा मसाल, जसपा नेपाल र जसपासहित १२ दलले गत २७ असारमा प्यालेस्टाइन र इरानमाथि भएको हमलाको विरोधमा संयुक्त प्रदर्शन गरेका थिए । यसअघि मोर्चाले गत १५ चैतमा काठमाडौंमा जनप्रदर्शन गरेको थियो । राजावादीहरू सक्रिय भएपछि व्यवस्थाको रक्षाका लागि भन्दै गरिएको जनप्रदर्शनपछि मोर्चा आन्तरिक बैठकमा मात्रै केन्द्रित भएको थियो ।

मोर्चा बैठक र अन्तरक्रियामै केन्द्रित
४ असार ०८० मा माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल र नेकपा सम्मिलित चारदलीय मोर्चा घोषणा गरिएको थियो । सुरुमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मोर्चाको संयोजक थिए । आलोपालो नेतृत्वको मोडालिटीअनुसार नेपालपछि नेत्रविक्रम चन्द विप्लव हाल संयोजक छन् । मोर्चा गठनताकाका सदस्य रहेका जसपा अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनपछि औचित्य समाप्त भएको भन्दै मोर्चाबाट अलग भएका छन् भने नेसपा अध्यक्ष महिन्द्र राय यादव मोर्चामा भित्रिएका छन् । तर, मोर्चाले बैठक र अन्तरक्रियाबाहेक ठोस कार्यक्रम ल्याउन सकेको छैन । विगतको निर्णय कार्यान्वयनमा समेत समस्या देखिएको छ । नारा देशव्यापी प्रचार–प्रसार गर्ने, भित्तेलेखन, ब्यानर, पर्चालगायतबाट मोर्चाको नीति जनतामाझ पुर्‍याउने नीति कार्यान्वयमा आउन सकेको छैन् ।

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मोर्चाको लक्ष्य छ । विद्यमान राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्दै देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाउने उद्देश्य मोर्चाको छ ।