
बर्दियाको ठाकुरबाबा नगरपालिकाले समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरी जरिवाना संकलन गरेको छ। पालिकाले समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरी एक करोड २२ लाख राजस्व जरिवाना संकलन गरेको हो। सार्वजनिक खरिद ऐनअन्तर्गत तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही हुने व्यवस्था छ । समयमा काम सम्पन्न नगर्ने व्यवसायीलाई दैनिक ०.०५ प्रतिशत जरिवाना हुने व्यवस्था छ। समयमा काम नगर्ने निर्माण व्यवसायीलाई जरिवानाबाट जोगाउन कतिपय कार्यालयले पटक–पटक म्याद थप्ने गरेको पाइन्छ।
पालिकाभित्र सञ्चालन भइरहेको विकास निर्माणको काममा तोकिएको समयभन्दा ढिला काम सम्पन्न गर्ने निर्माण व्यवसायीबाट एक करोड २२ लाख जरिवाना संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण ढकालले बताए। उनले भने, ‘पालिकाले समयमा काम नगर्ने १८ वटा निर्माण व्यवसायीबाट एक करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । काम नै नगर्ने तीनवटा निर्माण व्यवसायीसँग सम्झौता तोडिएको छ ।’
पालिका नगरप्रमुख तिलकराम लम्सालले पालिकाले सञ्चालन गरेको सेवा प्रवाहसँग जोडिएको काममा पाददर्शी र सुशासन कार्यम गर्न आफू प्रतिबद्ध रहेको जनाए। उनले भने, ‘पालिकाले सञ्चालन गरेको पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकासका काममा कहीँ कतै कमी–कमजोरी नहोस् भनेर सचेत रहेका छौँ । पालिकाको सम्पूर्ण टिम नै सुशासन तथा पारदर्शी ढंगले काम गर्न प्रतिबद्ध रहेको छ ।’