
ताप्लेजुङस्थित दुई सय ८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माणकार्य रोक्नुपर्ने माग राख्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शुक्रबार प्रदर्शन गरेका छन् ।
आयोजना निर्माण गर्न सुरु गरिएको ठाउँ याक्थुङ (लिम्बू) समुदायको मुन्धुमस्थल रहेको भन्दै निर्माण रोक्न प्रभावित क्षेत्रका बासिन्दाले विरोध प्रदर्शन गरेका हुन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अपर तमोर हाइड्रोपावर प्रभावित संघर्ष समिति नै गठन गरेर विरोध गर्दै आएका छन् । संघीय सरकारसहित विभिन्न निकायमा ज्ञापनपत्र र ध्यानाकर्षण पत्रमार्फत जलविद्युत् आयोजनाको काम रोक्नुपर्ने माग गर्दै संघर्ष समितिले जनाउँदै आएको छ ।
मुन्धुमस्थलको अस्तित्वमाथि क्षति हुने भएकाले विभिन्न ज्ञापनपत्र, ध्यानाकर्षण पत्रलगायतका माध्यममार्फत आयोजनाको काम रोक्न अनुरोधसहित माग गर्दा पनि काम नरोकिएकाले आन्दोलनमै उत्रन बाध्य भएको संघर्ष समितिका सदस्य श्री लिंखिमले बताए । विरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै लिंखिमले शुक्रबारसमेत पाँचपटकसम्म निर्माणस्थलमै आयोजनाको विरोधमा प्रदर्शन गरिएको बताए ।
अब पनि निर्माणको कामलाई निरन्तरता दिएमा हालसम्म भइरहेको शान्तिपूर्ण आन्दोलनको स्वरूप परिवर्तन हुने चेतावनीसमेत दिए । स्वरूप परिवर्तनपछि हुने आन्दोलनबाट कुनै क्षति हुन पुगेमा सरकार र सम्बन्धित पक्षले व्यहोर्नुपर्ने उनको भनाइ छ । यस्तै संघर्ष समितिका संयोजक वीरबल लिंखिमले पनि आयोजनाको काम नरोकिएसम्म आन्दोलन जारी रहने बताए ।
याक्थुङ समुदायको मुन्धुम क्षेत्र तथा स्थल भएकाले आयोजना निर्माण गर्न नहुने अडानसहित प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित हुँदै आएको संयोजक लिंखिमको भनाइ छ । मुन्धुमस्थलको अतिक्रमण गरी जलविद्युत् आयोजना निर्माण गर्दा मौलिक सभ्यता र संस्कृति मासिने भएकाले मुन्धुमस्थलको संरक्षण गर्न आफूहरू लागिपरेको उनले बताए । जिल्लाको फक्ताङलुङ गाउँपालिका भई बग्ने तमोर नदीबाट तमोर इनर्जी प्रालिले विद्युत् उत्पादन गर्ने गरी निर्माणको काम धमाधम गरिरहेको छ ।