
झमझम पानी दर्किनुपर्ने असारमै परेको खडेरीले मधेशमा बल्लतल्ल धान रोपेका खेत पनि धाँजा फाटेका छन् । देशका अधिकांश क्षेत्रमा वर्षा नहुँदा रोपाइँ प्रभावित भएको छ । शनिबार रातिदेखि भने तीन दिनसम्म देशका अधिकांश भागमा भारीदेखि निकै भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । तर, धाँजा फाटेको मधेशमा सामान्य मात्रै वर्षा हुने अनुमान छ ।
जलवाष्पयुक्त हावा बोकेको मनसुनी वायु पूर्वी नेपालबाट प्रवेश गरिसकेको र क्रमश: पश्चिमतिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘वर्षा गराउने प्रणाली क्रमश: पश्चिम सरिरहेको छ । आइतबार दिउँसोसम्म कोशीका धेरै ठाउँ र बागमतीमा वर्षा हुने देखिन्छ । त्यसपछि सोमबार दिउँसोसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने देखिएको छ,’ महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘उनका अनुसार सोमबारसम्म क्षेत्रगत रूपमा धेरै ठाउँमा वर्ष हुनेछ भने केही ठाउँमा भारीदेखि निकै भारी वर्षको सम्भावना छ ।’
मधेश प्रदेशमा भने सामान्य मात्रै वर्षा हुने प्रक्षेपण छ । ‘अन्य प्रदेशमा भारीदेखि अति भारी वर्षा हुने देखिए पनि मधेशमा भने ठुलो वर्षाको सम्भावना छैन, हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ,’ मानन्धरले भनिन् ।
शनिबार रातिबाट भित्रिएको मनसुनी प्रणाली सोमबार रातिबाट भने कमजोर हुने आकलन छ । मनसुनको न्यूनचापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर छ भने पूर्वमा सरदर स्थानको आसपासमा छ ।
सतर्कता अपनाउन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले तीन दिन उच्च सतर्कता अपनाउन सम्पूर्ण जलविद्युत् आयोजनालाई आग्रह गरेको छ । मौसम विभागले शनिबारदेखि सोमबारसम्म नदीहरूमा पानीको सतहले सतकर्ता विन्दु पार गर्न सक्ने पूर्वानुमान गरेर जलविद्युत् आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस विज्ञप्तिमार्फत सूचना जारी गरेको हो ।
विभागका अनुसार पूर्वका कोशी, तमोर, अरुण, तामाकोशी, दुधकोशी, कन्काईलगायत नदीहरूमा बाढी आउन सक्ने सम्भावना अत्यधिक छ । कोशी नदी सतर्कता तहनजिक वा पार गर्न सक्ने स्थितिमा पुग्न सक्नेछ । आइतबार बेलुका बागमती नदीमा बाढी आई काठमाडौं उपत्यका र तल्लातटीय क्षेत्र प्रभावित हुने तथा मंगलबार दिउँसोसम्म महाकाली नदी र त्यसको तटीय क्षेत्रमा बाढी आउन सक्ने सम्भावना उच्च रहेको पूर्वानुमान छ ।
त्यस्तै, बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रुपन्देहीलगायत जिल्लामा वर्षाको असर पर्ने, जसले नारायणी जलाधारको मध्यपहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्ने भनिएको छ । पश्चिममा राप्ती र बबई क्षेत्रमा पनि मध्यमस्तरको प्रभाव पर्ने सम्भावना छ भने महाकाली क्षेत्रमा सोमबार र मंगलबार बढी सतर्कता अपनाउनु आवश्यक रहेको जल तथा मौसम विज्ञान विभागलाई उद्धृत गर्दै इप्पानले जानकारी दिएको छ ।