मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
Invalid date format १७:o२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नबुझेको प्रश्न सोध्दा छात्रामाथि यौन दुर्व्यवहार , शिक्षक पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o२:oo

विद्यालयमा पहिलो त्रैमासिक परीक्षा दिने क्रममा नबुझेको प्रश्न सोध्दा छात्रालाई गार्ड बसेका शिक्षक यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

सप्तरीको सुरुंगा नगरपालिका- ५ कुसहास्थित मसिलाल जनता मा.वि. (प्राविधिक धार) मा अनिवार्य विज्ञान विषयको त्रैमासिक परीक्षा दिने क्रममा गार्ड बसेका विषयगत शिक्षक करिब ३५ वर्षीय सन्तोषकुमार पंजियारलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार विद्यालयमा करिब दुई वर्षदेखि कार्यरत मा.शि. तृतीय तहका विज्ञान विषयका शिक्षक पंजियारलाई शुक्रबार बिहान विद्यालयपरिसरबाट नै पक्राउ गरिएको हो । 

पक्राउ गरिएका शिक्षकलाई बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा शुक्रबार सप्तरी जिल्ला अदालतबाट पहिलोपटक पाँच दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नतेले जानकारी दिए । उनका अनुसार पक्राउ गरिएका शिक्षक रायलाई कडरबोना प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ । 

यस्तो थियो घटना

गत २९ असारदेखि विद्यालयमा सञ्चालित पहिलो त्रैमासिक परीक्षा दिन थालेकी कक्षा १० मा अध्ययनरत करिब १५ वर्षीया छात्रामाथि तेस्रो दिन विज्ञान विषयको परीक्षा दिने क्रममा गार्ड बसेका विषयगत शिक्षक पंजियारले दुर्व्यवहार गरेका हुन् । विषयगत शिक्षक नै गार्ड बसेकाले परीक्षामा नबुझेको प्रश्न सोध्दा छेउमा आएर पिठ्युँमा हात राख्दै क्रमशः संवेदनशील अंगहरूमा हात पुर्‍याएको पीडित छात्राकी आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। 

‘परीक्षा हलमा अन्य विद्यार्थीकै अगाडि शिक्षकले त्यस्तो हर्कत गरेपछि मेरो टाउको दुख्न थाल्यो भन्दै छोरी बाहिरिएकी थिइन्,’ जाहेरीमा भनिएको छ, ‘परीक्षा हलबाट बाहिरिएसँगै त्रसित हुँदै घर फर्किएर शिक्षकले आफूमाथि गरेको दुर्व्यवहारको बारेमा सुनाएपछि कानुनी उपचारका लागि जाहेरी दिन आएकी हुँ ।’

विद्यालयले गरेन सुनुवाइ

परीक्षा हलबाट बाहिरिएलगत्तै अन्य शिक्षकहरूलाई घटनाबारे जानकारी गराएको भए पनि कसैले गम्भीर नभको उनको गुनासो छ । घटनाको विषयमा थाहा पाएलगत्तै १ साउनमा पीडित छात्राकी अभिभावक र सहयोगीहरू विद्यालय पुगेर प्रधानाध्यापक सूर्यनारायण चौधरीसहित अन्य शिक्षकहरूलाई जानकारी गराएको भए पनि उल्टै आन्तरिक रूपमा मिलाउन दबाब दिइएको पीडित पक्षले जनाएको छ।

विद्यालयले कुनै सुनुवाइ नगर्ने संकेत पाएपछि पीडित पक्ष जाहेरी दिन त्यही दिन इलाका प्रहरी कार्यालय कडरबोना पुगेको थियो । विद्यालयका प्र.अ. चौधरीले भने पीडित छात्रा र अभिभावकले शिक्षकले गरेको यौन दुर्व्यवहारको घटनाका बारेमा त्यसअघि जानकारी नै नगराएको दाबी गरे । ‘१ साउनमा उहाँहरू विद्यालयमा आएपछि मात्र थाहा पाएको हो,’ उनले भने, ‘दुर्भाग्य, आरोप लगाइएका शिक्षक त्यही दिन बिहानी सत्रको परीक्षा लिएर उपचारका लागि अस्पताल जान्छु भन्दै गए पनि फर्किएनन्,’ उनले भने, ‘त्यो विषय कानुनी प्रक्रियामा गइसकेकाले अब जे हुन्छ, कानुनबाट नै हुन्छ।’