मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३ शनिबार
  • Saturday, 19 July, 2025
२o८२ श्रावण ३ शनिबार १५:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जडीबुटीका बिरुवासँगै तालिम दिँदै वनस्पति अनुसन्धान केन्द्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ३ शनिबार १५:o१:oo

वनस्पति अनुसन्धान केन्द्र, कैलालीअन्तर्गत रहेको देव हरिया वनस्पति उद्यान, धनगढीले किसानलाई जडीबुटीका बिरुवा वितरणसँगै तालिम पनि दिएको छ । 

व्यावसायिक रूपमा जडीबुटी खेती गर्न इच्छुक किसान तथा व्यक्तिगत प्रयोजनको लागि बिरुवा रोप्ने व्यक्तिलाई आर्थिक वर्ष २०८१/८२ मा ८१ हजार २४२ वटा विभिन्न प्रजातिका जडीबुटीका बिरुवा वितरण गरेको वनस्पति अनुसन्धान केन्द्र कार्यालयका प्रमुख गंगादत्त भट्टले जानकारी दिए । जसमा चिउँरी, नीम, तेजपात, शितल चिनी, कुरिलोलगायत बोटबिरुवा रहेका छन् ।

अनुसन्धान केन्द्रले वार्षिक ५० हजार विभिन्न प्रजातिका जडीबुटीका बिरुवा उत्पादन गर्ने लक्ष्य भए पनि लक्ष्यभन्दा बढी बिरुवा वितरण गरिरहेको उनको भनाइ छ । केन्द्रले मापदण्ड बनाएर प्रत्येक आर्थिक वर्षमा जडीबुटीका बिरुवा वितरण गर्दै आएको छ भने प्रदेशमा जडीबुटी खेती विस्तारसम्बन्धी तालिम दिँदै आएको छ । 

गत आर्थिक वर्षमा कैलालीको चुरे गाउँपालिका-३ मा २९ जना र वडा नं ४ को गर्भामा २५ जना गरी जम्मा ५४ जनालाई जडीबुटी खेतीसम्बन्धी तालिम दिइएको कार्यालय प्रमुख भट्टले जानकारी दिए । त्यस्तै कैलाली र कञ्चनपुरका पाँच वटा जडीबुटी समूह सहकारीहरूलाई सम्बन्धी तालिम दिएको छ ।

तालिम दिने क्षेत्रमा पाइने जडीबुटीको अवस्था के छ, खेती गर्न सकिन्छ की सकिँदैन, त्यसको सम्भावना के छ, माटोको उर्वरा शक्ति कस्तो छ , अध्ययन गरी पहिचान गरेर मात्रै तालिमको तय हुने गरेको उनले बताए ।

कार्यालयले अघिल्लो आव २०८०/८१ मा बाजुराको बुढीगंगा र अछामको मेल्लेखमा त्यहाँ उत्पादन हुने जडीबुटीको पहिचान गरी ६० जनालाई जडीबुटी खेती विस्तारसम्बन्धी तालिम दिएको थियो । यी क्षेत्रमा रिठ्ठा उत्पादन हुने गरेको र अछामको रामारोशनमा सतुवा, डालेचुक उत्पादन हुन्छ सोहीलाई आधार बनाएर तालिम दिने गरिएको छ ।

गत आवमा करिब १० हजार चिउरीका बिरुवा उत्पादन गरिएकोमा त्यसमध्ये सात हजार ९०० बिरुवा वितरण गरी चुरे क्षेत्रका सामुदायिक वनमा रोपी सकेको उनले बताए । चिउरीको फूल माहुरीका लागि लाभदायिक हुन्छ भने यसको दानाबाट ध्यू उत्पादन गर्न सकिन्छ । जडीबुटी खेती गर्ने समूह सहकारीलाई अनुसन्धान केन्द्रले अनुदानको व्यवस्था पनि गर्दै आएको कार्यालय प्रमुख भट्टले बताए ।

प्राकृतिक हराभरा भएको वनस्पति अनुसन्धान केन्द्रअन्तर्गत देव हरिया वनस्पति उद्यान १४९.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यसभित्र जखौर, मुरफुट्टा र मुरफुट्टी गरी तीन वटा प्राकृतिक तालहरू रहेको छन् । पर्यटक, पर्यावरणीय हिसाबले यो उद्यानको छुट्टै महत्त्व छ ।