मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३ शनिबार
  • Saturday, 19 July, 2025
रमेश सुवेदी काठमाडाैं
२o८२ श्रावण ३ शनिबार o९:२८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भलिबलमा पहिलोपटक अक्सन

६ फ्रेन्चाइज टोलीले मार्कीसहित विभिन्न क्याटागोरीबाट ७४ मध्ये ४२ नेपाली खेलाडीलाई ३६ लाखमा अनुबन्ध गरे

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ३ शनिबार o९:२८:oo

भलिबल इतिहासमा पहिलोपटक नेपालमा अक्सनबाट खेलाडी बिक्री भएका छन् । दोस्रो एभरेस्ट महिला भलिबल लिगमा सहभागी फ्रेन्चाइज टोलीहरूले अक्सनका माध्यमबाट खेलाडी भित्र्याएका छन् । यसअघि पहिलो संस्करणमा फ्रेन्चाइज टोलीले ड्राफ्टबाट सीधै खेलाडी अनुबन्ध गरेका थियो । गत वर्ष टिम मालिक र प्रशिक्षकको असन्तुष्टिपछि आयोजक इन्फिनिटिभ ड्रिम्सले योपटक अक्सन गरेको हो । 

मार्कीसहित ७४ मध्ये ४२ खेलाडी अक्सनमा बिक्री  भएका छन् । आपोजिटिभ हिटरतर्फ २०, सेटर १६, अपोसाइट स्पाइकर १४, मिडब्लकर १४ र लिबेरो १० जना समेटिएका छन् । सहभागी टोलीले एक मार्की र सात अक्सनबाट खेलाडी चुनिसकेका छन् । अब, सहभागी टोलीहरूले तीन विदेशी र एक ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गर्नेछन् । एक टोलीमा १२ खेलाडी हुनेछन् । 

अक्सनमा एक टोलीलाई न्यूनतम पाँच हजारदेखि एक लाख ३२ हजार दुई सय ५० रुपैयाँसम्म खर्च गर्न पाउने प्रावधान थियो । कोही खेलाडी कम मूल्य ५० हजार रुपैयाँमा पनि बिक्री भएका छन् । अक्सनमा ६ टोलीले कुल ३६ लाख ६८ हजार सात सय ५० खर्च गरेका छन् । उच्च मूल्य पाउने खेलाडी पाँचजना मात्रै रहेका छन् । 

दोस्रो संस्करण पोखरामा २० देखि २८ भदौसम्म हुनेछ । साबिक विजेता कर्णाली यस्विस, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, पोखरा निन्जाज, लुम्बिनी जाभाज र मधेश युनाइटेड सहभागी हुनेछन् । नेपाल राष्ट्रिय टोलीकी कप्तान तथा लुम्बिनीकी मार्की अरुणा शाहीले अक्सनलाई ऐतिहासिक मानेकी छिन् । यसले महिला भलिबल विकासमा ठुलो टेवा पुग्ने उनले बताइन् । ‘ऐतिहासिक अक्सन रमाइलो भयो । खेलाडी छनोट गर्न निकै गाह्रो हुँदो रहेछ । पछिल्लोपटक फुटबल, क्रिकेट र कबड्डीमा अक्सन भइरहेको थियो,’ शाहीले भनिन्, ‘भलिबलमा थिएन, तर यसपटक अक्सन भयो ।’ उनले अक्सनमा सोचेजस्ता खेलाडी परेको बताइन् । 

अक्सनमा समग्रमा खेलाडी भित्र्याउन ३६ लाखभन्दा बढी खर्च भयो । हरेक टोलीले धेरैमा आठ लाखसम्म खर्च गर्न पाउने निर्धारण गरिएको थियो । सबैभन्दा बढी खर्च पोखराले गरेको छ । पोखराले खेलाडी भित्र्याउन ६ लाख २९ हजार सात सय ५० खर्च गरेको हो । यद्यपि, पोखरासँगै ललितपुर, लुम्बिनी र काठमाडौंले पनि ६ लाख नै खर्च गरेका छन् । कम खर्च गर्नेमा मधेश बनेको छ ।

उच्च मूल्य पाउने पाँच खेलाडी
प्रतियोगिताका लागि उच्चतम मूल्य पाउने पाँच खेलाडी बनेका छन् । राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीमाथि पाँच टोलीले सर्वाधिक मूल्य लगाएका हुन् । कर्णालीले सफिया पुन, ललितपुरले संगम महतो, पोखराले पुनम चन्द, लुम्बिनीले कामना विष्ट र काठमाडौंले कविता भट्टलाई समान एक लाख ३२ हजार दुई सय ५० रुपैयाँ खर्च गरे । सबैभन्दा सुरुमा बिक्री हुने खेलाडीमा लुम्बिनीकी कामना बनिन् । उनलाई अनुबन्ध गर्न तीन क्लबले बिड गरेका थिए । लुम्बिनीले ललितपुर र कर्णालीलाई गोलाप्रथामा पछि पार्‍यो ।