
राप्रपाले सबै ठुला भ्रष्टाचार र नेताहरूको सम्पत्ति छानबिनको माग गर्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा प्रदर्शनसहित दुवै निकायमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।
सुडान घोटाला, ललितानिवास प्रकरण, वाइडबडी जहाज खरिद, ओम्नी काण्ड, एनसेल लाभकर प्रकरण, क्यान्टोनमेन्ट घोटालाजस्ता चर्चित काण्डहरूमा राजनीतिक नेतृत्वमाथि अनुसन्धान नहुनु अख्तियारकै प्रभावकारितामाथि प्रश्न उठाउने विषय भएको ज्ञापनपत्रमा उल्लेख छ । ‘राजनीतिक नेतृत्वको संरक्षणविना यस्ता ठुला भ्रष्टाचार सम्भव छैन,’ ज्ञापनपत्रमा भनिएको छ, ‘मुख्य जरो राजनीतिमा भएकाले छानबिनको दायरामा उनीहरूलाई ल्याउनुपर्ने हाम्रो स्पष्ट माग छ ।’
राप्रपाले भुटानी शरणार्थी प्रकरण, सहकारी घोटाला, रड–सिमेन्ट मूल्यवृद्धि, पोखरा र गौतमबुद्ध विमानस्थल निर्माण, मणिपाल मेडिकल कलेज, कृषि अनुदान दुरुपयोग, चाइनिज विमान खरिदजस्ता काण्डहरूको ढिलासुस्तीपूर्ण अनुसन्धान र मौनताप्रति पनि असन्तुष्टि जनाएको छ । राप्रपाले सम्पूर्ण भ्रष्टाचार प्रकरणमा पुन: छानबिन र राजनीतिक नेतृत्व तहलाई उन्मुक्ति नदिन माग गरेको छ ।
०४६ पछिका उच्चपदस्थ राजनीतिक, प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पनि बेग्लै ज्ञापनपत्र दिएको छ ।