
गृहजिल्ला सिन्धुपाल्चोकमा आफ्ना आलोचकमाथि खुलेआम धाकधम्की दिने कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले भ्रष्टाचार मुद्दामा निलम्बन भएपछि पनि रवाफ देखाउन छाडेका छैनन् । टेरामक्स प्रकरणमा तीन अर्बभन्दा बढी भ्रष्टाचार अभियोगमा १ जेठमा विशेष अदालतमा मुद्दा चलेपछि निलम्बनमा परेका उनी सरकारी कार्यक्रममै अतिथि बनेर हिँडिरहेका छन् । बिहीबार मात्रै जिल्ला समन्वय समितिले आयोजना र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले समन्वय गरेको ‘तातोपानी नाकासम्बन्धी अन्तरक्रियामा उनी प्रमुख अतिथि नै बनेका छन् ।
बाढीले रसुवा नाका बन्द भएपछि तातोपानीमा पर्न जाने सवारीचाप, कोदारी सडकको अवस्था र यसको व्यवस्थापनबारे बाह्रबिसेस्थित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको हलमा बिहीबार अन्तरक्रिया आयोजना गरिएको थियो । कार्यक्रममा उनी प्रमुख अतिथिको रूपमा उपस्थित भएका हुन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित उनी अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि विशेष अदालतबाट २५ लाख धरौटी बुझाएर रिहा भएका थिए । उक्त कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित सांसद माधव सापकोटा भने उपस्थित थिएनन् । टेरामक्स प्रकरणमा मुद्दा खेपिरहेका बस्नेतलाई प्रमुख अतिथि बनाउने सूचना पाएपछि सापकोटा कार्यक्रममा नगएको बताए । ‘नीति, विधि र राज्यको अनुशासन नै उल्लंघन गर्ने नेता प्रमुख अतिथि हुने कार्यक्रममा नैतिकताको हिसाबले पनि म सहभागी हुन सकिनँ,’ सापकोटाले भने ।
जिसस प्रमुख बालकृष्ण श्रेष्ठले माननीय सापकोटालाई पत्राचार गरेको र उनी नआएपछि पूर्वमन्त्रीको हैसियतमा बस्नेतलाई प्रमुख अतिथि बनाएको दाबी गरे । ‘सांसद सापकोटालाई पत्राचार गरेका थियौँ, उहाँ नआएपछि पूर्वमन्त्रीको हैसियतमा बस्नेतलाई प्रमुख अतिथि बनाएका हौँ,’ उनले भने । तर, प्रदेश माननीय मसिना खड्का र सरल सहयात्री पौडेललाई भने पत्राचार नै गरिएको थिएन ।
अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापा, तीनवटै सुरक्षा निकायका जिल्ला प्रमुख, तातोपानी भन्सारका प्रतिनिधि, सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, भोटेकोशी गाउँपालिका प्रमुख पासाङ नुर्पु शेर्पा, हिमालय सीमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेड, नेपाल चेम्बर अफ कमर्स र नाकासम्बद्ध ट्रान्सपोर्ट कम्पनीहरू सहभागी थिए । सिडिओ थापाले सहायक सिडिओ गणेश नेपालीलाई क्षेत्र नम्बर १ का स्थानीय सरकार, व्यापारिक संघसंस्था, जनप्रतिनिधि र राजनीतिक नेतालाई पत्राचार गर्न निर्देशन दिएका थिए । चीनसँग सिमाना जोडिएको महत्वपूर्ण नाकाको सवालमा छलफल गरिएको थियो ।
भ्रष्टाचारको आरोपमा निलम्बित सांसद बस्नेत सांसदकै हैसियतमा जिल्लामा विभिन्न स्थानको कार्यक्रममा प्रमुख अतिथिको रूपमा जाने गरेका छन् । बाह्रबिसे नगर र भोटेकोशी गाउँपालिकाको बजेटसभामा पनि बस्नेत नै प्रमुख अतिथि थिए ।
पूर्वमन्त्री बस्नेत गृहनगर बाह्रबिसेआसपास कांग्रेसका कार्यकर्ता जम्मा पारेर बैठक र छलफलमा व्यस्त देखिएका छन् । आश्चर्य त भ्रष्टाचारको आरोप खेपिरहेका बस्नेत सांसदकै हैसियतमा जिल्लामा विभिन्न स्थानको कार्यक्रममा प्रमुख अतिथिको रूपमा जाने प्रचारप्रसार गरिएको छ ।
बस्नेतले निलम्बनमा रहेकै वेला यसअघि ५ जेठमा लिसंखुपाखर गाउँपालिका– २ निगालेमा खानेपानी योजनाको उद्घाटन गरेका थिए । लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामाले विज्ञप्ति नै जारी गरेर भ्रष्टाचार मुद्दामा रहेका निलम्बित सांसदले खानेपानी योजना उद्घाटन गर्न नमिल्ने आवाज उठाए पनि अन्तत: बस्नेत नै पुगेर उद्घाटन गरेका थिए । त्यसको भोलिपल्ट सुनकोशी गाउँपालिका–२ ठोकर्पामा स्वास्थ्य चौकी भवन पनि उद्घाटन गरेका थिए । सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिनाले पनि विज्ञप्ति जारी गरेर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ११ को उपदफा २ (झ) मा भएको व्यवस्थाविपरीत कांग्रेस कार्यकर्ताले जबर्जस्ती गरे प्रतिकारमा उत्रने चेतावनी दिएका थिए ।