मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार ३ मंगलबार ०९:३७:००
Read Time : > 1 मिनेट
नयाँCity

आवाजले बदलेको जीवन : मदनदास श्रेष्ठ

स्मृतिमा रेडियो

Read Time : > 1 मिनेट
२०७६ असार ३ मंगलबार ०९:३७:००

२१ सालतिर हो । सांस्कृतिक संस्थान विभागअन्तर्गत राष्ट्रिय नाचघरमा नाटक बन्थ्यो । नाटक खेल्न थालेको धेरै भएको थिएन । एक दिन म नाटक खेलिरहेको थिएँ । त्यो ‘धनबहादुरको मृत्युमा परिवारको आँसु’ नामक नाटक थियो । शकुन्तला गुरुङ (हाल शर्मा) पनि कलाकार हुनुहुन्थ्यो । नाटकको मुख्य पात्रचाहिँ म नै थिएँ । मञ्चन सकिनेबित्तिकै रेडियो नेपालका तत्कालीन नाटक निर्देशक श्यामदास वैष्णव मञ्चमै आउनुभयो । मेरो अभिनयबाट प्रभावित भएर आउनुभएको रहेछ । आवाज पनि मन परेछ । खुलेर तारिफ गर्नुभयो । अनि भन्नुभयो, ‘रेडियोलाई यस्तै आवाज चाहिएको छ, रेडियो नेपाल आउनू ।’

एकछिन् पत्याउनै सकिनँ । खुसीले साह्रै गद्गद् भएँ । खासमा कृष्ण जन्माष्टमीका लागि बनाउन लागेको रेडियो नाटकमा सुहाउँदो स्वरको खोजी भइरहेको रहेछ । उहाँलाई मेरो स्वर ठीक हुन्छ भन्ने लागेछ । त्यो नाटकमा कंसको आवाज ‘बोल्ड’ हुनुपर्ने थियो । त्यसकै लागि मलाई बोलाउनुभएको थियो । यसरी मैले रेडियो नाटकमा खलनायकका लागि स्वर दिन थालेँ । मेरो जीवनको पहिलो रेडियो नाटक ‘धमिरा’ हो । त्यसलाई निर्देशन गर्नुभएको थियो श्यामदास वैष्णवले नै । 

त्यो वेला रेडियो नाटक निरन्तर बन्दैनथ्यो । तर, विशेष चाडबाडमा भने बनाउने चलन थियो । त्यहाँ मैले खलनायककै अभिनयमा स्वर भर्नुपथ्र्यो । तर, सुन्ने मान्छे कम हुन्थे । किनभने, रेडियो सेट नै सीमित घरमा मात्र थिए । त्यतिवेला मेरो आवाज कसले ख्याल गर्ने ? मलाई कसले चिन्ने ? तर, जोश भने थियो ।नाटक तयार पारेर राखिन्थ्यो । चाहिने दिनमा मात्रै ‘अन एयर’ हुन्थ्यो । तर, अधिकांश नाटकमा मेरो आवाज अनिवार्यजस्तै थियो । म छुट्दैनथेँ । मेरो आवाज अरूभन्दा भिन्न र ‘बोल्ड’ भएर पनि त्यसो भएको होला । 

त्यसवेला श्रव्य नाटक खेलेबापत मिनेटको तीन रुपैयाँ पारिश्रमिक पाइन्थ्यो । जति मिनेट खेल्यो त्यही हिसाबले जोडिन्थ्यो । मेरो भागमा तीन मिनेटदेखि पाँच मिनेटसम्म पथ्र्यो । नौ रुपैयाँदेखि १५ रुपैयाँसम्म कमाउँथेँ । तर, नाटक दैनिक हुँदैनथ्यो  ।
 

त्यसवेला श्रव्य नाटक खेलेबापत मिनेटको तीन रुपैयाँ पारिश्रमिक पाइन्थ्यो । जति मिनेट खेल्यो त्यही हिसाबले जोडिन्थ्यो । मेरो भागमा तीन मिनेटदेखि पाँच मिनेटसम्म पथ्र्यो । नौ रुपैयाँदेखि १५ रुपैयाँसम्म कमाउथेँ । तर, नाटक   दैनिक हुँदैनथ्यो ।  रेडियो नेपालको बाहिरै बसेर १४ वर्ष नाटक खेलेँ । ०३५ सालतिर त्यहीँ जागिर पाएँ । कार्यक्रम उत्पादकका रूपमा रेडियो नेपाल प्रवेश गरेको थिएँ । कहिलेकाहीँ नाटक गरेर मात्र बाँच्नै कठिन थियो । जागिर पाएपछि मलाई केही राहत भयो । अनि निरन्तर रेडियो नेपाल आउने–जाने भयो । 
०४३ सालमा भने रेडियो नेपालमा नाटक निर्देशनक भएँ । त्यही समय मैले स्टुडियोको पुराना संरचना बदल्दै लगेँ । ‘धेरै प्रोपर्टी’ जुटाएँ । जस्तै, भ¥याङ, ढोका, बालुवा, साउन्डजस्ता सामग्री थपेँ । 

रेडियो नाटक शनिबार दिउँसो साढे एक बजे बज्थ्यो । नाटक गरेर घर आउथेँ । अनि परिवारका सबै रडियो सुन्न बस्थ्यौँ । यस्तो लाग्थ्यो कि एकछिन हावा पनि रोकिए हुन्थ्यो । नाटक सुनेर मेरो परिवार खुसी हुन्थ्यो ।म जहाँ हुँदा पनि नाटक आउने समयमा रेडियो खोज्थेँ । सुन्न थालिहाल्थेँ । यतिसम्म कि सिंहदरबारको गेटमा बसेर पनि रेडियो सुनेँ । मसँगै रेडियो सुन्नेहरू मेरो चरित्र र आवाजको खुब तारिफ गर्थे । म खुसीले मुग्ध हुन्थेँ । 

जीवन पूरै रेडियो नाटकमा बित्यो । सुरुवाती चरणमा आफ्नो आवाज सुनेर आफूलाई भित्रैभित्र हाँसो उठ्थ्यो । आफूलाई नै भयानक लाग्थ्यो । ‘सेलेक्टेट भ्वाइस’ मात्रै रेडियो नेपाल पुग्न पाउँथ्यो । राम्रो प्रतिभालाई ‘प्रमोट’ पनि गर्थे । अहिले जस्तो हानथाप हुँदैनथ्यो । म अहिले जे छु, त्यो रेडियो नेपालकै देन हो ।