प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई एकमुष्ट बजेट नछुट्टाइएको बताएका छन । घुमाउरो पाराले पनि सांसदलाई बजेट नदिएको उनले दावी गरे ।
आर्थिक वर्ष २०७६-७७ को बजेटका सम्बन्धमा सोमबार गरेको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी समालेका मुख्यमन्त्री पोखरेलले सांसदहरुले सिफारिस गरेका मध्ये सरकारले आवश्यक ठानेका योजनामा बजेट विनियोजन गरिएको बताए । घुमाउरो पाराले बजेट दिएको भन्ने पत्रकारको प्रश्नमा पोखरेलले योजनामा पर्ने गरी आएका प्रस्तावहरुमा मात्र बजेट छुट्टाइएको बताए ।
‘सांसदहरुले सिफारिस गरेका योजनाहरु मध्ये सरकारले आवश्यक ठानेकालाई आवाधिक योजना भित्र पारेर पालिकाहरुमा पठाउछौं,’ उनले भने । मुलुकको अर्थतन्त्र अझै काठमाडौं केन्द्रीत रहेको उल्लेख गर्दै काठमाडौंबाट क्रमशः बाहिर ल्याउनुपर्ने आवश्यकता औल्याए ।
प्रदेश ५ को अर्थतन्त्र जनसंख्याका हिसाबले कमजोर भएको औल्याउँदै कूल गार्हस्थ उत्पादनका हिसाबले भने प्रदेश ५ अन्य प्रदेशभन्दा अगाडि रहेको स्पष्ट पारे । आउँदो आव कूल गार्हस्थ उत्पादन ८ प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरिएको भन्दै उनले त्यसभन्दा पनि अगाडि बढ्नु पर्ने मान्यतामा रहेको बताए । प्रदेश ५ सरकारले आइतबार आगामी आव ०७६-०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको थियो ।
बजेट वितरणमुखी : कांग्रेस
सरकारले प्रस्तुत गरेको बजेट वितरणमुखी रहेको आरोप कांग्रेसले लगाएको छ । बजेटबारे प्रतिक्रिया दिदै प्रदेश सभामा कांग्रेस संसदीय दलका उपनेता विरेन्द्र कनौडियाले बजेट सन्तुलित नरहेको बताए । ‘यो वितरणमुखी बजेट हो,’ उनले भने, ‘व्यापक दुरुप्रयोग हुन्छ ।’