१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असार २ सोमबार १५:२१:००
Read Time : > 2 मिनेट
नयाँCity

काठमाडौंका प्रमुख हाइकिङ गन्तव्य

Read Time : > 2 मिनेट
२०७६ असार २ सोमबार १५:२१:००

उपत्यकावरिपरि धेरै हाइकिङ ट्रेल छन् । सहरबाट बिहान निस्केर हाइकिङ गरिसकेर बेलुका घर फर्कन सकिन्छ ।

हाइकिङ जाने सहरियाहरूको जमात आजकल बढ्दो छ । शरीर र मन दुवैलाई रिफ्रेस गराउन हरेक शनिबार प्रायः युवा काठमाडौं उपत्यकावरपरका डाँडातिर लाग्छन् । शारीरिक कसरत र रमाइलोका लागि गरिने एकदिने हाइकिङ स्वास्थ्यका दृष्टिकोणले समेत फाइदाजनक छ । 

उपत्यकावरिपरि धेरै हाइकिङ ट्रेल छन् । सहरबाट बिहान निस्केर हाइकिङ गरिसकेर बेलुका घर फर्कन सकिन्छ । शिवपुरी, नागार्जुन, गोकर्ण, सुन्दरीजल, तारेभिर, झोर, फर्पिङ, चन्द्रागिरि, बुङमती, गोदावरी, फुलचोकी, लाँकुरीभन्ज्याङ, साँगा, चाँगुनारायण र ककनीलगायत रुट हाइकिङका लागि लोकप्रिय छन् । 

वनजंगल, हिमाल, प्रकृति, धार्मिक–सांस्कृतिकस्थल, वनस्पति, वन्यजन्तु र चराचुरुंगी हेर्दै उपत्यकालाई फन्को मार्न सकिने हाइकिङ ट्रेल छन् । यीमध्ये केही चर्चित गन्तव्य निम्न हुन् : 

शिवपुरी

अधिकतम उचाइः २,५६३ मिटर
हाइकिङ दूरीः १६ देखि १८ किमिसम्म

शिवपुरी चर्चित हाइकिङ ट्रेल हो । बिदाको समयमा हाइकिङ जानेहरूको भिड देख्न सकिन्छ । काठमाडौंको उत्तरमा पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको शिवपुरी डाँडामा पुग्ने तीनवटा ट्रेल छन् । बुढानीलकण्ठको पानीमुहानबाट निकुञ्ज प्रवेश गरेपछि दायाँ विष्णुद्वार (विष्णुमतीको मुहान) हुँदै अथवा बायाँतर्फको रुटबाट डाँडामा पुगिन्छ । वागद्वारबाट पनि शिवपुरी पुग्ने दुईवटा रुट छन् । पानीमुहानबाट सुरु गरिने हाइकिङ नागी गुम्बामा पुगिन्छ । नागी गुम्बा विशेष गन्तव्य हो भने भ्यु टावर पनि छ ।

घना वनमा उकालो यात्रा गर्दै शिवपुरी डाँडामा पुगेपछि हिमशृंखलाको दृश्य देख्न सकिन्छ । चराचुरुंगी, पुतली, विभिन्न प्रजातिका वनस्पतिबारे जान्न पनि शिवपुरीको हाइकिङ उपयुक्त मानिन्छ । अध्ययनका लागि विद्यालयले आफ्ना विद्याथीलाई पनि लग्ने गरेको पाइन्छ ।

फुलचोकी

अधिकतम उचाइः २,७६५ मिटर
हाइकिङ दूरीः १८ किमि

उपत्यकाको सबभन्दा अग्लो डाँडो हो, फुलचोकी । फुलचोकी हाइकिङ जो–कोही जान सक्दैनन् । जसले गर्दा यसलाई ‘टफ ट्रेल’ मानिन्छ । एकान्त र गाह्रो हुने भएकाले तुलनात्मक रूपमा यहाँ हाइकिङ जाने कम हुन्छन् । गोदावरीबाट हाइकिङ ट्रेल सुुरु हुन्छ र फर्किंदा पनि सोही रुट प्रयोग गरिन्छ । त्यहाँ विभिन्न प्रजातिका सुनाखरी र गुराँसका वन भेटिन्छ । हिउँदमा हिउँ खेल्न जाने ठाउँको रूपमा पनि चर्चित छ, फुलचोकी । फुलचोकी डाँडाबाट सगरमाथा, गौरीशंकर, गणेश, लाङटाङ, मनासलु तथा अन्नपूर्ण हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ ।

लाँकुरीभन्ज्याङ

अधिकतम उचाइः १,९७७ मिटर
हाइकिङ दूरीः ९ किमि

ललितपुरको लाँकुरीभन्ज्याङबाट उपत्यकाका तीनवटै सहरका दृश्य देख्न सकिन्छ । जहाँ सल्ला, कटुस र लालीगुराँसको वन छ । यहाँबाट प्याराग्लाइडिङ गर्न र सूर्योदय हेर्न पनि उपयुक्त हुन्छ । लुभुबाट लाँकुरीभन्ज्याङ हुँदै सूर्यविनायक निस्कने र ढुंगिनबाट लाँकुरीभन्ज्याङ पुगेर पुनः ढुंगिन फर्कने ट्रेल बढी प्रयोगमा छन् । काभ्रेको रयाले, कुसादेवी, भक्तपुरको दधिकोट वा अनन्तलिंगेश्वर अर्को रुट हो । त्यस्तै, गोदावरीबाट समेत लाँकुरीभन्ज्याङको हाइकिङ गर्न सकिन्छ । सबै ट्रेल १०/१५ किमिका छन् । 

सुन्दरीजल

अधिकतम उचाइः १,२८० मिटर
हाइकिङ दूरीः १४ किमी

सुन्दरीजल वनभोज र घुमघामका लागि चर्चित छ । वनले भरिभराउ यो क्षेत्रमा झरना हेर्न र पानीमा खेल्न पाइन्छ । सुन्दरीजलबाट मुलखर्क हुँदै ओख्रेनी जाने र चाँगुनारायणबाट सुन्दरीजल आउने चल्तीको हाइकिङ रुट छ । सुन्दरीजलबाट शिवपुरी वा नगरकोट पनि हाइकिङ जान सकिन्छ । मुलखर्कबाट सिन्धुपाल्चोकको चिसापानी हुँदै झुले जाने अर्को हाइकिङ ट्रेलसमेत छ ।  त्यसका लागि एक रात चिसापानीमा बस्नुपर्छ ।

चम्पादेवी

अधिकतम उचाइः २,२८५ मिटर
हाइकिङ दूरीः १४ किमि

उपत्यकाको दक्षिण–पश्चिममा रहेको चम्पादेवी डाँडा काठमाडौं र मकवानपुर जिल्लाको सिमाना हो । चोभारको टौदहबाट हाइकिङ सुरु गरेर दक्षिणकाली मन्दिर हुँदै नजिकको पुरानो नेवारबस्ती फर्पिङ हेर्दै सोही ट्रेलबाट फर्कने गरिन्छ । चम्पादेवीबाट गौरीशंकर, लाङटाङ र अन्नपूर्णलगायत हिमशृंखला देख्न सकिन्छ । चम्पादेवी जाने अर्को रुट कीर्तिपुरको मच्छेगाउँबाट पनि छ । 

नागार्जुन

अधिकतम उचाइः २,१२८ मिटर
हाइकिङ दूरीः ९ किमी

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको नागार्जुन हाइकिङ बालाजु बाइपासको फूलबारीबाट सुरु हुन्छ । योग–ध्यानका लागि नागार्जुन चर्चित छ । उपत्यकाको उत्तरपश्चिम क्षेत्रमा पर्ने यो रुटमा घना जंगलभित्र हिँड्नुपर्छ । डाँडामा जामाचो गुम्बा र भ्यु टावर छ । डाँडाबाट लाङटाङ अन्नपूर्णलगायत हिमशृंखला र उपत्यका देख्न सकिन्छ ।

चन्द्रागिरि

अधिकतम उचाइः २,४७५ मिटर
हाइकिङ दूरीः १२ किमी

चन्द्रागिरि चर्चित हाइकिङ ट्रेलमध्येमा पर्छ । कीर्तिपुरको मच्छेगाउँबाट यात्रा सुरु गरेर छापडाँडा हुँदै चन्द्रागिरि पुगिन्छ । चन्द्रागिरिमा उपत्यका आक्रमणको वेला कालु पाँडेले बनाएको बंकर छ, जसलाई आजभोलि कालु पाँडे फोर्टु भन्ने गरिन्छ । चन्द्रागिरिको डाँडा निस्कने अर्को ट्रेल थानकोटको गोदामचौरबाट पनि छ । चन्द्रागिरिबाट सगरमाथा, मकालु, कञ्चनजंघा, मनासलुलगायत हिमाल देखिन्छ । कतिपय गोदामचौरबाट मकवानपुरको चित्लाङ पुगी एकरात बसेर इन्द्रसरोवर घुमेर आउने गरेका छन् ।