मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
एजेन्सी नयाँदिल्ली
२०७६ असार २ सोमबार १२:२९:००
Read Time : > 1 मिनेट
विश्व

भारत–अमेरिका व्यापार तनाव

भारतद्वारा अमेरिकी सामग्रीमा करवृद्धि

Read Time : > 1 मिनेट
एजेन्सी नयाँदिल्ली
२०७६ असार २ सोमबार १२:२९:००

अमेरिका र भारतबीच व्यापारसम्बन्धी विवाद चुलिएको छ । विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएका राष्ट्र अमेरिका र चीनबीच व्यापार युद्ध चर्किरहेका वेला अमेरिका र भारतबीच व्यापारसम्बन्धी तनाव बढेको छ । भारतले आइतबारदेखि अमेरिकी सामानमा करवृद्धिको घोषणासँगै दुई देशबीचको व्यापार–विवाद बढेको हो । 

२८ प्रकारका  सामग्रीमा कर 
भारतले २८ प्रकारका अमेरिकी सामानमा करवृद्धि गरेको छ । भारतीय केन्द्रीय राजस्व तथा भन्सार बोर्डका अनुसार अमेरिकाबाट भारत आयात हुने बदाम, स्याउ र ओखरलगायत सामानमा ७० प्रतिशतसम्म करवृद्धि गरेको हो । भारत अमेरिकाबाट सबैभन्दा बढी बदाम आयात गर्ने देश हो । भारतले गत वर्ष ५० करोड ४३ लाख डलरबराबरको आलमन्ड किनेको थियो । त्यस्तै, सन् २०१८ मा १५ करोड ६० लाख डलरको स्याउ निर्यात 
गरेको थियो ।

 करवृद्धिमा होड
भारत र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध प्रगाढ रहेको बताइए पनि दुवै देशले एकअर्का मुलुकका सामानमा करवृद्धि गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सामानलाई भारतीय बजारमा सहज पहुँच नभएको र भारतले कृषिलगायत कतिपय क्षेत्रमा ठूलो मात्रामा अनुदान दिएर प्रतिस्पर्धी क्षमता कमजोर पारेको आरोप लगाउँदै आएका छन् । भारतले अमेरिकी सामानमा १२० प्रतिशतसम्म करवृद्धि गरेको छ । 

अमेरिका–भारत व्यापार
अमेरिकी तथ्यांकअनुसार भारतसँग अमेरिकी वस्तु तथा सेवाको व्यापार सन् २०१८ मा करिब एक खर्ब ४२ अर्ब अमेरिकी डलरबराबर छ । यो तथ्यांक सन् २००१ को तुलनामा सात गुणा बढी हो । भारतसँग अमेरिकी व्यापार घाटा करिब २४ अर्ब अमेरिकी डलर छ । तर, अमेरिकाले जिएसपीको सूचीबाट हटाएसँगै भारतबाट अमेरिका निर्यात हुने करोडौँ डलरका सामग्रीमा प्रभाव पर्नेछ ।

एक अर्को देशविरुद्ध बदला
अमेरिकाले भारतलाई दिँदै आएको व्यापार सुविधा कटौती गरेको बदलामा भारतले पछिल्लो कदम चालेको भारतीय अधिकारीले जनाएका छन् । अमेरिकाले गत जुनमा भारतलाई भन्सार छुटको सहुलियत (जिएसपी) पाउने मुलुकको सूचीबाट हटाएको थियो । 

अमेरिकी सामानलाई भारतीय बजारमा सहज पहुँच नदिएको भन्दै अमेरिकाले भारतबाट आयात हुने सामानमा कर लगाएको थियो । अमेरिकाले अगाडि सारेको इन्डो–एसिया प्यासिफिकको एउटा महत्वपूर्ण साझेदार भारतले आफूलाई जिएसपीको सूचीबाट हटाउने अमेरिकी कदम दुर्भाग्यपूर्ण भएको बताउँदै आएको छ ।

वार्ता गर्न अमेरिका तयार
अमेरिकाले भारतसँगको व्यापारसम्बन्धी विवाद अन्त्यका लागि जुनसुकै वेला भारतसँग वार्ता गर्न तयार रहेको बताउँदै आएको छ । दुई देशबीचको व्यापार–विवाद अन्त्य गर्न अमेरिकी विदेशमन्त्री पोम्पेओले यसै साता भारत भ्रमण गर्ने बताइएको छ । 

पोम्पेओको भारत भ्रमणको आधिकारिक मिति तोकिएको छैन, तर जापानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुअघि नै पोम्पेओले भारतको भ्रमण गर्ने अनुमान गरिएको छ । यही जुन २८ र २९ गते जापानमा हुने जी–२० सम्मेलनको साइड–लाइन बैठकमा ट्रम्प र मोदीबीच भेटको कार्यक्रम छ ।