१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार २ सोमबार ०९:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

विवाह गर्ने प्रलोभनमा २० भन्दा धेरै युवती ठगिए

Read Time : > 1 मिनेट
२०७६ असार २ सोमबार ०९:३८:००

ज्ञानेश्वरकी किरण शाह (नाम परिवर्तन) त्यतिवेला छाँगाबाट खसेझै भइन्, जतिवेला एक अपरिचित युवतीले हुनेवाला दुलाहको असली धन्दा पर्दाफास गरिन् । त्यस वेलासम्म ढिला भइसकेको थियो । नगुम्नुपर्ने गुमिसकेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौं टेकुस्थित कार्यालयमा आइतबार भेटिएकी उनी प्रहरीसँग भन्दै थिइन्, ‘त्यसले मेरो सबै सक्यो । त्यसविरुद्ध कानुनी कारबाही गरिपाऊँ ।’ 

प्रहरीका अनुसार उनलाई प्रेमको चंगुलमा पारी फसाउने नवलपरासी डन्डाका २८ वर्षीय रोनाल्डराज आचार्य थिए । केही सातापछि मात्रै दुईबीच इन्गेजमेन्ट हुँदै थियो । यसका लागि राजधानीको पाँचतारे होटेल बुक गरिएको थियो । उपहार दिन डेढ करोड रुपैयाँको ल्यान्डरोभर कारसमेत तयार थियो । तर, जब हुनेवाला दुलाहाको असली धन्दा सतहमा आयो, बल्ल सबै योजना तासको घरझै भताभुंग हुन पुगे । आचार्य अहिले प्रहरी हिरासतमा छन् । शाह न्याय खोजीमा भौँतारिँदै छिन् । 

प्रहरीका अनुसार आचार्यले शाह जस्तै २० भन्दा धेरै युवतीलाई यसैगरी फसाइसकेका छन् । ‘उसको खास धन्दा विभिन्न प्रलोभनमा युवती फसाउने र धनमाल लिने रहेको देखिन्छ । उसले २० भन्दा धेरै युवतीलाई ठगी गरेको पाइएको छ । पीडित युवती खानदानी घरानाका भएकाले उनीहरू खुलेर आउन सकिरहेका छैनन्,’ काठमाडौं परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने ।

यसरी खुल्यो ठगीधन्दा 
प्रहरीका अनुसार शाह र आचार्यबीच अस्पतालमा भएको दोस्ती प्रेममा बद्लियो । आचार्यले उनलाई आसध्यै माया गर्थे । ख्याल पनि उत्तिकै गर्थे । परिवारसँग उनी अतिनिकट थिए । इन्जिनियर भनेर परिचित उनीप्रति शाह परिवार उत्तिकै प्रभावित थियो । दुईले विवाह गर्ने मनस्थिति बनाए । शाहले आचार्यसँग विवाहको प्रस्ताव राखिन् । उनले स्विकार गरे । विवाहको प्रसंग परिवारसम्म पुग्यो । परिवार पनि सहमत भएपछि इंगेजमेन्टको मिति तय भयो । इंगेजमेन्टका लागि स्थान तोकियो काठमाडौंको एक पाँचतारे होटेल । गरगहना खरिद भए । ज्वाइँलाई उपहार दिन डेढ करोड मूल्यबराबरको ल्यान्डरोभर कार बुक भयो । 

यही क्रममा शाहलाई एक अपरिचित युवतीले फोन गरिन् । फोनमा आचार्यको बारेमा ‘केही भन्नु छ’ भनिन् । दुईबीच भेट्ने सहमति भयो । शाहले युवतीबीच भएको कुराकानीको प्रसंग आचार्यलाई पनि भनिन् । उनले अपरिचित ती युवतीलाई भेट्ने योजनामा आफू रहेको सुनाइन् । जब युवतीलाई भेट्न दुवैसँगै जाने योजना बन्यो, त्यसपछि आचार्य एकाएक बेपत्ता भए । कतै पत्ता नलागेपछि उनले ती युवतीलाई भेटिन् । त्यसपछि पो थाहा पाइन, आचार्यले यसअघि ती युवतीलाई त्यसैगरी फसाइसकेका रहेछन् ।