मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शान्ति तामाङ काठमाडौं
२०७६ असार २ सोमबार ०७:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

धरहरा निर्माणमा फेरि विवाद : प्राधिकरण बाटो बन्द गर्ने, स्थानीय व्यापारी बारिएका जस्ता निकालेर फाल्ने

Read Time : > 1 मिनेट
शान्ति तामाङ काठमाडौं
२०७६ असार २ सोमबार ०७:३६:००

धरहरा निर्माणमा फेरि विवाद देखिएको छ । धरहरापछाडिका व्यवसायीले पसल जस्ताले छेकिँदा व्यापार घटेको र आवातजावतमा समस्या भएको भन्दै विवाद झिकेका हुन् । व्यवसायीले बारेको जस्ता हटाएर धरहरा निर्माणस्थलबाटै हिँड्‍न थालेपछि काम गर्न असहज भएको धरहरा पुनर्निर्माण विज्ञ समितिका सदस्य राजुमान मानन्धरले बताए । ‘उनीहरूले कामै रोकेको त होइन । तर, काम गर्न बाधा भयो । निर्माणस्थलमा काम गर्न ठूला  मेसिन चलाउनुपर्छ । सामान ल्याउनका लागि ट्रकको आवतजावत पनि उत्तिकै हुन्छ ।

मानिस हिँड्दा काम गर्न अप्ठ्यारो हुन्छ । दुर्घटना पनि निम्तन सक्छ भन्ने चेतावनी ठेकेदारले दिएका छन् ।’ मानन्धरले भने, ‘वैकल्पिक बाटोको लागि पनि हुलाकले मानेको छैन ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुसमा धरहरा पुनर्निर्माणको शिलान्यास गरेपछि वरपर जस्ताले बेरिएको थियो । निर्माणस्थलमा सम्बन्धित व्यक्ति र उपकरणबाहेकलाई प्रवेश गर्न दिइएको थिएन । तर, स्थानीय व्यापारीले बारिएका केही जस्ता निकालेर फ्याँकिदिएपछि सर्वसाधारण हिँड्न थालेका छन् । मानन्धरका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बाटो बन्द गर्ने र स्थानीय व्यवसायीले खोल्ने काम गरिरहेका छन् । 

गत २० जेठमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा निर्माणस्थलमा गएर समस्या समाधान गर्ने भनिए पनि कार्यव्यस्थता देखाउँदै गएका छैनन् । धरहरामा देखिएको समस्याले आगामी २ असारबाट हुने भनिएको ढलानको काममा समेत बाधा हुने देखिएको मानन्धरले बताए । चार अर्ब रुपैयाँ लागतमा गत १२ पुसमा धरहरा शिलान्यास भएको थियो । जिआइइटिसी रमन जेभीले धरहरा निर्माण गरिरहेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

१२ वैशाख ०७२ मा भूकम्पले क्षति पु-याएको धरहरा पुनर्निर्माणका लागि भूकम्प गएकै वर्ष ४ फागुनमा प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेका थिए । त्यसपछि धरहरा निर्माणको जिम्मा काठमाडौं महानगरले लिएको थियो । पुरातात्विक मापदण्डभन्दा चविभागले निर्माणको काम रोकेको थियो । महानगर र विभागको रस्साकस्सीपछि निर्माणको काम प्राधिकरणको जिम्मामा गएको थियो ।

सुरक्षाका कारण बाटो दिन सकिएन
 निर्मला थापा,सूचना अधिकारी गोश्वारा हुलाक कार्यालय

पहिला मानिसहरू धरहराअगाडिबाट सीधा हिँड्थे । पुनर्निर्माण हुने भएपछि बाटो बन्द भयो । प्राधिकरणले हाम्रो कार्यालय नै यता र उता छुट्टिने गरी बीचबाट बाटो खोल्न माग गरेको थियो । सुरक्षादेखि धेरै कुरा जोडिएकाले हामीले छलफल ग-यौँ । एउटा कार्यालयअगाडिको मुख्य गेट हुँदै भित्ताभित्तै जाने विकल्प दिएका थियौं । काठमाडौं मल जोडिएको प्यासेजबीचबाट जाँदा पनि हुन्छ भनेका थियौँ । तर, स्थानीयले मानेनन् । बीचबाटै बाटो खोल्नुपर्छ भनेपछि हाम्रो तालुक निकाय हुलाक सेवा विभागलाई बाटो दिने÷नदिनेबारे पत्र लेखेर पठायौँ । विभागले फेरि मन्त्रालयलाई सोध्यो । मन्त्रालयले भनेबमोजिम नै प्राधिकरणलाई लेखेर पठाएका हौँ ।